Light Nepal

स्थानीय तह निर्वाचन : चार पालिकाको नतिजा आउन बाँकी

काठमाडौं । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार पाँच महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । जसमध्ये बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना शुरू भएको छैन । सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ ।

यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा छ भने एक महानगर, एक उपमहानगरसहित २० पालिका जितेको नेकपा एकीकृत समाजवादी पाँचौ स्थानमा छ । लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिकामा प्रमुख पद जितेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान ४-४ पालिकामा प्रमुख पद जितेका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले २ पालिकामा प्रमुख पद जित्दा नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले ११ पालिकामा प्रमुख पद जितेका छन् ।

यस्तै स्वतन्त्रबाट उठेका १२ जनाले पालिकामा प्रमुख पद हात पारेका छन् । अब आउन बाँकी रहेको पालिकामा प्रदेश-१ बाट उदयपुरको त्रियुगा नगरपालिका छ । जहाँ नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । यस्तै बागमती प्रदेशको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् ।

लुम्बिनीबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । जहाँ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ । यहाँ विवादका कारण अझै मतगणना शुरू हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्