Light Nepal

काठमाडौमा जताततै फोहोरको डङ्गुर, मस्त निन्द्रामा महानगर

| महानगरको नेतृत्वमा पुग्ने जनप्रतिनिधि भने जनतालाई फोहोरको तमासा देखाएर यसैमा राजनीति गर्दै आएका छन्। अहिलेको काठमाडौको फोहारको समस्या त्यसैको नतिजा हो। यो अवस्थामा एउटा स्वाभाविक प्रश्न उठ्छः यो फोहोरको राजनीति के अहिलेको चुनावपछि चुनिने नेतृत्वले अन्त्य गर्ला त ?

यशोदा भण्डारी

हुन त काठमाडौं उपत्यकाका लागि फोहोर व्यवस्थापन नौलो समस्या हैन। यो हरेक दिन बल्झि रहन्छ र उपत्यकाका नागरिकले पाइलै पिच्छे फोहोरको डङ्गुर छिचोलेर अघि बढ्नुपर्छ तर यसपटक फोहोरको तमासा अचाक्ली दोहोरीएको छ। हप्तौंदेखि सडक पेटी तथा सार्वजनिक स्थानमा अलपत्र फोहोर नउठ्दा सर्वसाधारणलाई समस्या परेको छ।
काठमाडौको मध्येबानेश्वरस्थित थापागाउँको ओरालोमा वर्षौंदेखि व्यवसाय गर्दै आएका मातृका गौतम स्कूल तथा व्यवसायिक व्याग सिलाउने तथा रेनकोट लगायतका मौसमी सामान उत्पादन गर्ने गर्दछन्। गौतमको अनुभवमा यो क्षेत्रमा यति लामो समयसम्म फोहोरको समस्या कहिल्यै देखिएको थिएन। स्थानीय तहको चुनावको चर्चा चलेपछि यो क्षेत्रमा फोहोर नै नउठेको गौतम बताउँछन्। यसको असर पैदल यात्रुलाई परेको छ भने फोहोरको दुर्गन्धका कारण व्यापार व्यवसाय चलाउनै समस्या परेको छ।
धन्वन्तरि आर्युविज्ञान अध्ययन संस्थान तथा अस्पतालको मूल ढोकामा कुहिने अथवा नकुहिने फोहोर थुप्रिएको हप्तौं वितेको छ तर महानगरपालिकाले अस्पतालको मूल ढोका मै जम्मा भएको फोहोरको डङ्गुर नहटाउँदा उपचार तथा परामर्शका लागि आउने बिरामीलाई समेत असर परेको छ।
अस्पतालमा आयुर्वेद शिक्षा कविराज सम्बन्धी कोर्स बुझ्न आएका अनिल कटुवाल फोहोरको थुप्रो छल्दै आयुर्वेद अस्पताल पस्दै थिए। लगातारको झरी अनि दिउँसो ह्वात्तै बढ्ने उखरमाउलो गर्मीका कारण फोहोर गह्नााएर बाटो हिँड्नै नसकिने भइसकेको छ। भर्खरै सकिएको स्थानीय चुनावमा विभिन्न दलका प्रत्याशीले यो फोहोर व्यवस्थापनमा पहल नगरेको कटुवालको गुनासो छ। महानरगर हो कि फोहोरको पर्याय ? नाक मुख पुरै ढाकेर अस्पताल पसेका उनको अनुहारमा आक्रोश मात्रै थियो। यस्तै असक्षम नेता र दललाई जनताले यसपटक झापड हानेको र बालेन साहजस्ता युवाहरू महानगरको नेतृत्वमा आउन लागेको भन्दै कटवाल एकाएक खुसी भए।
आयुर्वेद अस्पतालका चिकित्सक, अविनास ताम्राकार, अस्पताल अगाडिको फोहोरले यो क्षेत्रको वातावरण नै प्रदूषित बनाएको र बिरामीको उपचारमा मानसिक असर परिरहेको बताउँछन्। गर्मी मौसम छ, भर्खरै कोभिडको महामारीबाट बाहिर निस्केको समाजमा फोहोरले अर्को सरुवा रोगको समस्या निम्त्याउन सक्ने चिकित्सक ताम्राकार बताउँछन्।

दशकौंदेखि बल्झिरहेको फोहोरको समस्या समाधानका लागि स्थानीय सरकार, प्रदेश सरकार अथवा केन्द्र सरकारले चरण चरणमा वार्ता तथा सहमति गरेको भए पनि चुनावको प्रचारप्रसार सुरुभएपछि काठमाडौका मेयर विद्यासुन्दर शाक्य हात बाँधेर बसेका छन्। मतदानको अघिल्लो दिनबाट ओखरपौवा क्षेत्रमा फोहोर व्यवस्थापनमा पुनः समस्या आएपछि महानगरले अबरोध खोल्न पहल नै गरेको छैन।
शाक्यको कार्यकालमा लामो समय महानगरपालिकाको प्रवक्ताको भूमिका निर्वाह गरेका ईश्वरमान डंगोल, फोहोर लिएर गएका गाडी जताततै रोकिन थालेपछि महानगरपालिकाले समस्या समाधानका लागि कोसँग छलफल गर्ने भन्ने नै अलमल रहेकाले अहिले काठमाडौको फोहोर उठ्न नसकेको बताउँछन्। सबैतिर नयाँ जनप्रतिनिधि आएका छन्, काठमाडौको मत परिणाम प्रष्ट भइसकेपछि नियमित फोहोर उठ्न सक्छ डंगोलले भने। उनका अनुसार अहिलेको महानगरपालिकाको संरचनाले फोहोर उठाउनै सकेको छैन र कर्मचारीहरू कुन पार्टीले जित्छ भन्दै जोखाना हेरेर बसेका छन्। नयाँ जनप्रतिनिधि नचुनिदासम्म मेयर कै भूमिकामा रहेका विद्यासुन्दर शाक्यको अत्तोपत्तो छैन।

काठमाडौ कै रत्नराज्य माध्यमिक विद्यालयको मूल ढोका मै फोहोर छरपष्ट छ। चारैतिर फोहोरले ढाकिएको यो विद्यालय यसअघि वडा नम्वर १० को मतदान केन्द्र तोकिएको थियो। यही विद्यालयमा फोहोरको डङ्गुर छल्दै आएर स्थानीयले मतदान गरे। ‘हाम्रो मत यस्तो सामान्य फोहोरसम्म उठाउन नसक्ने असक्षमहरूलाई पक्कै गएन होला’ रत्नराज्य स्कुल सँगैका पुराना प्रशासक एवं साझा यातायातका पूर्वमहाप्रवन्धक मुकुन्द सत्यालले भने– अब नयाँ पुस्ताले हस्तक्षेप गर्नैपर्छ। स्व. गणेशमान सिंह लगायतका नेताको राजनीतिक प्रशिक्षणमा हुर्किएका सत्यालमा पनि निरन्तर बल्झिरहेको फोहोरको समस्याले चरम वितृष्णा जन्माएको छ। ‘हामीले धेरैलाई मौका दिएका हौं तर जो नेतृत्वमा पुगे पनि हाम्रो दैनिकी र दैलोको समस्या सँधै उस्तै रहे, अब परिवर्तन जरुरी छ।’ सत्यालको आक्रोश काठमाडौका मेयर शाक्यतर्फ बढी लक्षित थियो। अनि बालेन साहहरूको पुस्ता हस्तक्षेपकारी ढंगले उदाइरहेकोमा सत्याल पनि दंग छन्।
काठमाडौ उपत्यकामा समस्याको चाङ नै छन्। कदम कदममा फोहोर, जताततै खाल्डाखुल्डी, हिलो, धुलो, प्रदूषण, पानीको समस्या तथा सार्वजनिक यातायातको समस्याले वाक्क बनेका काठमाडौवासीले यसै कारण पनि यस पटक प्रमुख दलका उमेदवारलाई नपत्याएको हुनसक्छ। जुन अहिले भइरहेको मतगणनामा प्रतिबिम्बित भइरहेको छ।
काठमाडौ सेतोपुलसँगै मासु पसल चलाएर बसेका सबिन कसाईको आक्रोश पनि कम छैन। कसाइको मासु पसल अगाडिको लिंक सडक पूरै फोहोरले ढाकिएको छ। दङदङ गन्हाइरहेको धोवी खोला अनि धोवीखोला करिडोर सडकमा थुप्रिएको फोहोरको डङ्गुर यसको प्रत्यक्ष असर कसाईको कारोबारमा परेको छ।
‘महिनामा मुस्किलले दुई दिन फोहोर उठ्छ, फोहोर उठेको भोलिपल्टै उत्रै फोहोरको डङ्गुर लागिसकेको हुन्छ’, कसाईले भने– ‘यस्तो गर्मी छ। त्यै फोहोरको झिंगा र भुसुनाले मासुको कारोबार ठप्प बनाएको छ। निरन्तर झरी परिरहेको छ, कुहिएको फोहोर माथिबाट गाढी गुड्छन्, आधा बाटो ढाकिएको छ, पसलमा बस्नै सकिन्न, व्यापार त परको कुरा’– कसाईले दुःख विसाए।
हरेक स्थानीय चुनावको समयमा काठमाडौंको फोहोर राम्रै बिक्ने नारा हो तर पछिल्लो एक दशक यता यो समस्या २० को १९ बन्न सकेको छैन। अहिले चालु अवस्थामा रहेको सिसडोल ल्याण्डफिल्ड साइड आसपासका सर्वसाधारणले बञ्चरेडाँडा ल्याङडफिल साईट सञ्चालनमा आउन लागेपछि, ओखरपौवा ल्याण्डफिल्ड सञ्चालनका बेला भएको विगतको सम्झौता कार्यान्वयनको मागसहित गत फागुन २३ यता चरणबद्ध आन्दोलन गरिरहेका छन्। स्थानीय प्रभावितको आन्दोलन चर्केपछि सरकारले गत फागुन २७ गते नुवाकोटको सिसडोल र धादिङसँग सीमा जोडिएको बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्दा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गर्‍यो। त्यसपछि सरकार चुनावको तयारीमा लाग्यो तर समिति अझै गठन भएको छैन।
स्थानीयको विरोधका कारण काठमाडौंबाट फोहर बोकेर गएका गाडी बिचबाटो मै रोकिएका छन्। स्थानीयले, प्रभावित क्षेत्रको गुठीको जग्गा कानुनी प्रक्रिया अनुसार रैकर गर्नुपर्ने, डम्पिङ साइडका कारण प्रभावित बनेको बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने, फोहर विसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहर विसर्जन वैज्ञानिक रूपमा गर्नुपर्ने माग राखेका छन्। स्थानीयको अवरोधले काठमाडौको सडक नै अस्तव्यस्त बन्न थालेपछि सरकारले नार्गाजुन हुँदै ओखरपौवा जोडिने सडक तत्काल कालो पत्रे गर्न ताकेता पनि गरेको हो। ठेकदारले भने स्थानीय चुनाव, जनशक्तिको अभाव तथा विभिन्न कारणले भारतबाट पिच गर्न चाहिने कच्चा पदार्थ ल्याउन समस्या परेको बहाना देखाएर पुनः काम रोकेको छ।
स्थानीयको माग सम्बोधनका नाममा सरकारले उधारो सहमति गरेर अलमल्याउन खोजेको भन्दै नुवाकोट र धादिङमा पर्ने विभिन्न गाउँका नागरिकलाई सडकमा उतारेर अवरोध गरिरहेका छन्।
फोहोरको वैज्ञानिक विभाजन र व्यवस्थापन गर्दा यसबाट प्रशस्तै आम्दानी गर्न सकिने, रोजगारी सिर्जना हुने र जैविक मल तथा ऊर्जा समेत निकाल्न सकिने संभाव्यता पटक पटक अध्ययन भएको पनि छ। महानगरको नेतृत्वमा पुग्ने जनप्रतिनिधि भने जनतालाई फोहोरको तमासा देखाएर यसैमा राजनीति गर्दै आएका छन्। अहिलेको काठमाडौको फोहारको समस्या त्यसैको नतिजा हो। यो अवस्थामा एउटा स्वाभाविक प्रश्न उठ्छः यो फोहोरको राजनीति के अहिलेको चुनावपछि चुनिने नेतृत्वले अन्त्य गर्ला त ? यो नागरिकको अपेक्षा पनि हो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया दिनुहोस्