Light Nepal

विश्वमा कुन देशमा कसरी मनाइन्छ बुद्ध जयन्ती ?

राजेन मानन्धर

आज २५६५ औं बुद्ध जयन्ती। विश्वभरिका बौद्धजनका लागि उनले दिएका शिक्षा प्रति कृतज्ञता व्यक्त गर्ने दिन। उनले दिएको शिक्षाबाट आफूलाई पुनर्ताजगी गर्ने दिन। नेपालमा पनि आज वैशाख शुक्ल पूर्णिमाका दिन अर्थात् जेठ २ गते (१६ मे २०२२) का दिन मनाइँदैछ।

जन्मबुद्धत्व र महापरिनिर्वाण
भगवान बुद्धको जन्म कपिलवस्तु राज्यको राजपरिवारमा राजा शुद्धोधन महाराज र राजमाता मायादेवीको कोखबाट भएको थियो। उनको जन्म भने कपिलवस्तुबाट मावली देवदह जाने क्रममा लुम्बिनी उद्यानमा भएको भनेर विभिन्न प्राचीन ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ। अहिलेको विश्वमानचित्रमा कपिलवस्तुको राजप्रासाद तथा लुम्बिनी उद्यान दुबै नेपालभित्र पर्दछन्।

जुन दिनलाई बुद्धजयन्ती भनेर मनाइन्छ त्यो बुद्धको जीवनको तीन प्रमुख घटनासँग सम्बन्धित छ। कसैको जीवनमा एकै दिन परेर यस्ता घटना घटेको बिरलै देख्न वा सुन्न पाइन्छ तर बुद्धको जीवनीले यही भन्छ। वैशाख पूर्णिमाका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको थियो।

त्यसबेलाको परम्परा अनुसार यी घटनाक्रमहरू चन्द्रमासको समयतालिकाको नियम अनुसार अभिलेखीकरण गरिए र अहिले पनि यी महत्वपूर्ण दिनहरू यसै अनुसार नै मनाइने गरिन्छन्। यसलाई स्थानीय नेवार बौद्धहरूले पहिला यो फूल फुल्ने याम भएकोले होला स्वांया पुन्हि भनेर मनाउन थाले भने पछि राष्ट्रिय वा सरकारी स्तरबाट मनाउन थालिएदेखि बुद्धजयन्ती भन्ने शब्द प्रचलनमा आयो। यद्यपि केही बौद्धहरू यसलाई जयन्ती नभनी पूर्णिमा नै भन्नुपर्छ भन्ने मत राख्छन्।

बुद्धको जन्म कुन सालमा भयो भन्ने विषयमा इतिहासकारहरूमा मतभिन्नता पाइन्छ। त्यस्तै बुद्धजयन्ती भनेर बुद्धको जन्म भएको साललाई स्मरण गर्ने कि परिनिर्वाण भएको साललाई भन्नेबारेपनि मतभिन्नताहरू सुनिन्छन्। देशअनुसार बुद्धको जन्म भएको दिन बारे अलगअलग परम्परागत धारणाहरू रहेको पाइन्छ।

यी भिन्नताहरूलाई एकातिर पन्छाएर सन् २००० बाट संयुक्त राष्ट्र संघले नै वैशाख पूर्णिमाको दिनलाई यसको प्रधान कार्यालय लगायत सबै देशमा रहेका कार्यालयहरूमा मनाउने निर्णय गरे पश्चात् यस दिनले अन्तर्राष्ट्रिय अनि गैर बौद्ध जगतमासमेत महत्व पाएको देखिन्छ। यसैकारण पनि यो दिन वा उत्सवलाई विभिन्न देशमा कसरी मनाइन्छ भन्ने चर्चा गर्नु उपयुक्त ठानेर यो सामग्री प्रस्तुत गरिएको हो।

बुद्ध नेपालमा जन्मेको भए पनि उनी नेपाल वा नेपालीको मात्र हुन भन्नु अन्यथा हुन्छ। जुन जुन देशमा बुद्धधर्म मानिन्छन् वा जसजसले बुद्धशिक्षा लिएर लाभान्वित भए, उनीहरू सबैमा बुद्धको अंश जान्छ, अथवा उनीहरूमा बुद्धको हक लाग्छ। यसै अर्थमा पनि उनीहरूले बुद्धको यस जयन्तीलाई मान्न पाउँछन्। यसै कारण त नेपाल लगायत जहाँ जहाँ बुद्धधर्मको प्रकाश छरिएको छ त्यहाँ त्यहाँ स्थानीय जनभावना, संस्कृति र परम्परामा सम्बन्धित भएर बुद्ध जयन्ती मनाइँदै आएको छ।

भारत
भारतमा बुद्धले बुद्धत्व प्राप्त गरेको र जीवननै बिताएको भने पनि यहाँ पनि बुद्धधर्म समयकालसँगै विलुप्त भएर गएकाले बुद्ध जयन्ती मनाउने चलन बुद्धधर्मको पुनर्जागरणपछि मात्र भएको देखिन्छ। यसलाई यहाँ बुद्ध जयन्ती, बुद्ध पूर्णिमा तथा वैशाख पूर्णिमा भनिन्छ।

पहिले पहिले भारतमा बुद्ध जयन्ती कसरी मनाइन्थ्यो भन्ने अहिले पनि अनुसन्धानकै विषय भइरहेको छ। बुद्धजयन्तीको शुरुवात वर्तमानकालमा यहाँ डा. भीमराव अम्बेडकरले बुद्धधर्मको नयाँ लहर ल्याएपछि मात्र शुरु भएको प्रतीत हुन्छ। डा. अम्बेडकरले सन् १९५६ को अक्टोबर १४ का दिन ६ लाख अपहेलित हिन्दुहरूलाई बुद्ध, धर्म र संघको शरणमा दीक्षा दिएपछि त्यहाँ लुप्त भएको बुद्धधर्मले पुनरउत्थान हुने पाएको थियो।

अहिले बुद्धधर्मले पुनरुत्थान हुने मौका पाएका स्थानहरूमा बोधगया, सारनाथ एवं कुशीनगरमा अनि हाल बौद्धहरूको ठूलो जनसमुदाय भएको महाराष्ट्रका विभिन्न शहर तथा गाउँहरूमा बुद्ध जयन्ती मनाइने गरिएको छ।

राजधानी दिल्लीमा मुख्यतः अन्तर्राष्ट्रिय बौद्ध महासभा तथा भारतीय संस्कृति मन्त्रालयको आयोजनामा एक समारोहको आयोजना गरिन्छ। यस समारोहमा सरकार प्रमुख एवं भिक्षुहरू तथा अन्य सरकारी कर्मचारीहरूको उपस्थिति हुने गर्छ। अनि दिल्लीको तिबेत हाउसमा पनि कार्यक्रम आयोजना गरिन्छ। त्यसबाहेक दिल्लीमै एउटा बुद्ध जयन्ती पार्क छ, जहाँ यस दिन केही औपचारिक कार्यक्रम हुने गर्छन्। त्यस्तै दिल्लीकै राष्ट्रिय संग्रहालयस्थित अस्थिधातु पनि सार्वजनिक प्रदर्शनका लागि राखिन्छ। त्यस्तै मुम्बइस्थित सुवर्ण प्यागोडामा पनि एकदिने विशाल विपस्यना ध्यान शिविर सञ्चालन गरिन्छ।

ती सबै जसो ठाउँमा यसदिन बौद्ध भिक्षु एवं अनागारिकाहरू तथा उपासक उपासिकाहरू भेला भएर बुद्धपूजा गर्ने, जल, फूल वा फलफुल इत्यादि चढाउने, सूत्र पाठ एवं प्रवचनहरू दिने तथा दानप्रदानका कार्यक्रमहरू सञ्चालन गरिन्छन्। धेरै जसो ठाउँमा बिहान बुद्धप्रतिमा सहित र्‍यालीहरू पनि आयोजना गरिन्छ। सन् २०१६ देखि भारतमा बुद्ध जयन्तीको दिन सार्वजनिक बिदा दिन थालिएको पाइन्छ।

यसबाहेक भारतमा बुद्ध जयन्ती विशेष गरी भारतका उत्तरी भेगमा, जहाँ हिमाली बुद्धधर्मको लामो समयदेखि प्रभाव रहिआएको छ, त्यहाँ मनाइन्छ। यसमा सिक्किम, कालिम्पोङ, दार्जिलिङ, खर्साङ, तथा लद्दाख, अरुणाञ्चल प्रदेश आदिमा ठूलो लस्करसहित मनाइन्छ (यद्यपि यस क्षेत्रमा एक महिनाभरी नै सागादावा भनेर अन्य किसिमबाट बुद्धको जन्म, बोधिज्ञानलाभ तथा परिनिर्वाणलाई मनाइन्छ)।

भुटान
नेपालको छिमेकी देश भुटान एक हिमाली बौद्ध देश हो। यहाँ बुद्ध धर्म राज्यद्वारा नै संरक्षित छ।

यहाँ हिमाली परम्परा अनुसार एक महिना लामो सागादावालाई नै प्राथमिकता दिएर मनाइन्छ। यसलाई यहाँ दुइजाङ अर्थात् पवित्र समय भनिन्छ। यो समयावधिभित्र देशभरी नै कुनै अपवित्र काम हुन वा गर्न नदिन निर्देशन दिइएको हुन्छ र जनताहरू पनि गुम्बामा जाने, मर्मत सम्भार गर्ने तथा लामा गुरुहरूलाई दान प्रदान गर्ने, व्रत बस्ने र अन्य सामाजिक पुण्यकार्यमा आफूलाई संलग्न गराउँछन्। कोही त यस समयमा गरिएको पुण्यले अन्य समयमा गरिएको भन्दा १ लाख गुणा बढी फल दिन्छ भन्ने मत पनि राख्छन्।

यसबाहेक भुटानमा बुद्ध जयन्तीका दिन सार्वजनिक बिदा दिएर राज्य स्तरबाट मनाइने गरिन्छ। यस दिन पनि बौद्धहरू गुम्बामा धार्मिक कार्यक्रम गरेर तथा धर्मगुरुहरूबाट आशिर्वाद लिएर पुण्यसञ्चय गर्दछन्।

श्रीलंका
श्रीलंका दक्षिण एसियामै बढी बौद्ध जनसंख्या भएको देश हो जहाँ कुल जनसंख्याको ७० प्रतिशतभन्दा बढी जनताले बौद्ध धर्म मान्दछन्। यस हिसाबले पनि यहाँ बुद्धजयन्ती मनाउनेहरूको संख्या धेरै हुने भयो।

बुद्ध जयन्तीलाई विश्वव्यापी बनाउने काम नै श्रीलंकाबाट भएको मान्न सकिन्छ। सन् १९५०मा श्रीलंकामा भएको वल्र्ड फेलोशिप अफ बुद्धिष्ट्सको पहिलो अधिवेशनले वैशाख पूर्णिमा वा वेशाकलाई बुद्धको जन्मजयन्तीको रूपमा मनाउने निर्णय गरेको थियो। यसले नेपालले गरेको निर्णयलाई अनुसरण गर्दै विश्वका सरकारहरूलाई यस दिनलाई बिदा दिएर मानवाताका अग्रनायकका रूपमा रहेका बुद्धलाई श्रद्धा चढाउनको लागि मनाउन अनुरोध गरेको थियो।

श्रीलंकालीहरू बुद्ध संवत् लाई निकै श्रद्धाका साथ अंगीकार गर्छन्। सबैजसो ठाउँमा बुद्ध जयन्ती चन्द्रमासको आधारमा वैशाख पूर्णिमाको दिन मनाइन्छ र यसलाई यहाँ बेशाक वा वैशाख भनिन्छ। तथापि यो उत्सवमा हप्ताभरि नै विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ। एक हप्तासम्म यहाँ मासु तथा मद्यपदार्थको बिक्री वितरणमा रोक लगाइएको हुन्छ। यसबेला अन्य धर्मावलम्बीहरू पनि खुशीसाथ यस्ता कार्यक्रमहरूमा सरिक हुन्छन्।

यहाँ नेपाल र भारतमा तिहारको बेलामा घर तथा बजारलाई सजाएजस्तै उनीहरू यसदिन आफ्नो ठाउँ फूल तथा बत्तीले सजाउँछन्। बाटोबाटोमा झिलिमिली बत्ती भएका कलात्मक ढोकाहरू बनाइन्छन् जसलाई पन्डाल वा थोरण भनिन्छ। यस्ता पन्डालहरूमा बुद्धजीवनी एवं जातककथासँग सम्बन्धित चित्रहरू पनि सजाइएका हुन्छन्। त्यस्तै कागज काटेर विभिन्न आकारका बत्ती (कुडू) बनाएर पनि लहर बनाइ झुण्ड्याउँछन्। अझ साँझको समयमा स्थानीय पोखरी तथा नदीहरूमा बल्दै गरेको बत्ती बगाउने चलन पनि त्यहाँ छ। यस्तो दृष्य एकदम सुन्दर र उल्लासमय हुने गर्दछ।

यस दिन उनीहरू आफ्नो टोल वा शहरको बौद्ध मन्दिर वा विहारमा भेला भएर सामूहिक, शील ग्रहण गरेर, बुद्ध पूजा गरेर, धुप बत्ती बालेर, भिक्षुहरूबाट प्रवचन सुनेर दानप्रदान गरेर मनाउँछन्। बेलुका दीपयात्रा गर्नु पनि त्यहाँको बुद्धजयन्तीको एक अभिन्न कार्यक्रम हो। उपासक उपासिकाहरूले सार्वजनिक ठाउँमा दानशाला बनाएर भिक्षुहरू मात्र होइन, सर्वसाधारणलाई पनि खाद्य एवं पेय पदार्थ र अन्य विभिन्न वस्तुहरू दान दिने गरिन्छ। त्यस्तै यहाँको ज्ञानमाला भजन भनेजस्तै आफ्नै भाषामा भक्ति गीत गाएर पनि हर्षउल्लास प्रकट गर्छन्। यसप्रकार श्रीलंकाभरि नै एक हप्ता उल्लासमय वातावरण देख्न सकिन्छ।

बंगलादेश
बंगलादेश मुश्लिमहरूको बाहुल्य भएको देश हो जहाँ सानो समुदायले अहिले पनि बुद्धधर्म नै अबलम्वन गर्दै आएको छ।

यसलाई यहाँ बुद्धो पूर्णिमा तथा बुद्धो जोयोन्ती भनिन्छ र यो यहाँका अल्पसंख्यक (०.६ प्रतिशत) बौद्धहरूका लागि यो एक महत्वपूर्ण चाड हो। विशेष गरेर बौद्धहरूको समुदाय रहेको ढाका तथा चटगाँवमा उनीहरूले पूर्णिमाको अघिल्लो दिन आफ्ना टोलमा रहेका बौद्ध मन्दिर वा विहारहरूलाई सिंगार्छन्। यस दिन यहाँ पनि सार्वजनिक बिदा दिइएको छ।

बिहान राज्यस्तरमा बुद्धपूर्णिमाको धार्मिक कार्यक्रम शुरु हुन्छ जहाँ सरकारका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिहरू उपस्थित हुन्छन्। हाल मुस्लिमहरूको वर्चस्व भएको देशमा धार्मिक समन्वय गर्नु पनि बंगलादेशमा चुनौति भएको छ।

त्यहाँ दिनभरी मन्दिर क्षेत्र वरिपरी मेला जस्तै लाग्छ। उपासक उपासिकाहरू मन्दिर भ्रमण गर्छन् र दान प्रदान गर्दछन्। त्यहाँ भिक्षुहरूले गृहस्थहरूलाई शीलको महत्व तथा बौद्ध दर्शनका बारेमा धर्मदेशना दिन्छन्। सडक तथा खुल्ला ठाउँमा हुने यस्ता मेलामा विशेष गरी बंगाली खाना, लुगाफाटा तथा बच्चाहरूको लागि खेलौनाको बेचबिखन दिनभरी नै हुन्छ। त्यस्तै बुद्धको जीवन झल्काउने कलात्मक प्रस्तुतिहरू पनि हुन्छन्।

म्यानमार
भारतसँगै जोडिएको म्यानमार दक्षिणपूर्वी एसियाको एक प्रमुख बौद्ध देश हो। यहाँका करिब ९० प्रतिशत जनताले बुद्धधर्म मान्दछन्।

यहाँ वैशाख पूर्णिमालाई नै बुद्ध जयन्तीका रूपमा मान्दछन् र यसलाई कासोन पूर्णिमा भनिन्छ। यस दिनमा यहाँ सार्वजनिक बिदा दिइएको छ। यो म्यानमारको परम्परागत क्यालेन्डर अनुसार दोश्रो महिना हो।

यस दिन यहाँ बिहानैदेखि मानिसहरू विहारहरूमा गएर सफा सुग्घर गरी, बुद्धपूजा गरी, शील लिएर, ध्यान बसेर मनाउँछन्। अनि भिक्षुहरूलाई दान दिने विशेष कार्यक्रम हुन्छ। त्यस्तै यस दिनमा माछा तथा चरा एवं जनावरहरूलाई खाना खुवाउनुलाई पनि पुण्यकार्यको रूपमा लिइन्छ।

म्यानमारमा बुद्ध जयन्ती मनाउने विशेषता भनेको बोधिवृक्षमा पानी हाल्नु हो। यस दिनलाई नै न्याउङ्ग्ये थुन वा बोधिवृक्षमा पानी हाल्ने चाडको रूपमा सम्बोधन गरिन्छ। यस दिन उपासक उपासिकाहरू माटोको भाँडोमा बास्ना आउने पानी लिएर विहारहरूमा जान्छन् र त्यहाँ भएका बोधिवृक्षहरूमा पानी चढाउँछन्। भगवान बुद्धले बोधिवृक्ष मुनि बसेर नै बोधिज्ञान लाभ गर्नुभएकोले बौद्धहरू बोधिवृक्षलाई विशेष श्रद्धा गर्छन्। वैशाख पूर्णिमासम्म प्रायः मनसुनी वर्षा शुरु भएको हुँदैन र यस सुख्खा याममा रुखहरूलाई पानीको धेरै आवश्यकता हुन्छ। यही रीतका कारण पनि बोधिवृक्षहरू सुख्खा याममा मर्नबाट जोगिन्छन्।

यसबाहेक यस दिनमा विभिन्न विहार वा मन्दिर प्रांगणमा नृत्य र संगीतको समेत कार्यक्रम आयोजना गरिन्छ जहाँ बौद्धहरूको विशाल समुदायले भाग लिन गर्दछन्।

थाइल्याण्ड
दक्षिणपूर्वी एसियामा अवस्थित अर्को बौद्ध देश थाइल्याण्डमा पनि बुद्ध जयन्तीलाई धुमधामका साथ मनाइन्छ। यहाँका ९५ प्रतिशत जनता बौद्ध छन्।

यसदिनलाई यहाँ विशाखा पूजा भनिन्छ। यस दिन यहाँ पनि सार्वजनिक बिदा दिइन्छ। बुद्ध जयन्ती समारोहमा यहाँका राजा नै सरिक भएर नेतृत्व प्रदान गर्दछन्। यस दिन बौद्ध उपासक उपासिकाहरू स्थानीय बुद्धको मन्दिर वा विहारमा भेला हुन्छन् र दिनभरी हुने विभिन्न धार्मिक एवं साँस्कृतिक कार्यक्रममा सरिक हुन्छन्। उनीहरू बिहानै आफूलाई पायक पर्ने विहारमा जान्छन्, त्यहाँ बुद्धपूजा गरेर, सूत्र पाठ गरेर, बौद्धगुरूहरूको प्रवचन सुनेर तथा भिक्षुहरूलाई यथाशक्य दानदक्षिणा दिएर पुण्यलाभ गर्छन्।

त्यहाँका विहारहरूले पनि आजका दिन ठुल्ठुला धार्मिक सभाहरू आयोजना गर्छन् र राज्यका प्रतिनिधिहरूलाई अतिथिका रूपमा निमन्त्रणा गर्छन्। यस्ता सभाहरूमा उपासक उपासिकाहरूको ठूलो भीड लाग्ने गर्दछ।

लाओस
थाइल्याण्डसँगै जोडिएको लाओस दक्षिण पूर्वी एसियामा रहेको अर्को बौद्ध देश हो। यहाँ बुद्ध जयन्तीलाई विछाखा बौछा भनिन्छ र यहाँको बुद्ध जयन्ती मान्ने तरिका धेरै किसिमले थाइल्याण्डको परम्परासँग मिल्छ।

उनीहरूले यसदिनलाई भगवान बुद्धको जन्म भएको, बोधिज्ञान लाभ गर्नुभएको तथा परिनिर्वाण भएको दिनको रूपमा मनाउँछन्।

यस दिन उनीहरू बौद्ध मन्दिर एवं विहारहरूमा गएर सफा सुग्घर गर्ने, पूजाआजा गर्ने, सूत्र पाठ गर्ने, भिक्षुहरू एव गरिब गुरुवाहरूलाई दानप्रदान गरेर मनाउँछन्। यस दिन यहाँ मन्दिरहरूले ध्यान शिविरहरू आयोजना गर्ने गर्दछन्। यसबाहेक सामान्य जन समुदाय पनि यस दिननृत्य, परेड, रयाली, नाटक एवं पुतली नृत्यआदि जस्ता मजोरञ्जक कार्यक्रमहरू गरेर दिन बिताउँछन्।

थाइल्याण्ड तथा लाओसका बीचमा मेखोङ नदी बग्दछ। देश फरक भए पनि यी दुइ देशको संस्कृतिमा केही समानताहरू पाइन्छन्। वैशाख पूर्णिमा मनसूनमा आधारित वर्षा हुने देशहरूका लागि सुख्खा मौसम मानिन्छ। यसैले होला यी नदी किनारमा बस्ने समुदायले यस समयमा घरमा बनाइएको रकेटहरू आकाशमा छोड्छन्। त्यसैले उनीहरू बुद्धपूर्णिमालाई बोन बाङ फे अर्थात् रकेट फेस्टिभल पनि भन्दछन्। उनीहरू यस्तो गरेमा चाँडै वर्षा हुन्छ भन्ने विश्वास गर्छन्।

परम्परागत रूपमा त भिक्षुहरूले नै बाँसमा बारुद भरेर रकेट बनाउने गर्दथे। अब यस्ता रकेटहरूको प्रतिस्पर्धा नै हुने गर्दछ मेखोङ नदीको दुबै किनारामा। यो पनि थाइल्याण्ड तथा लाओसको बुद्ध जयन्तीको एक महत्वपूर्ण अङ्ग भएको छ।

क्याम्बोडिया
क्याम्बोडियामा पनि बौद्धहरूको उल्लेख्य जनसंख्या छ। यहाँका ९७ प्रतिशत जनताले बुद्धधर्म अँगाल्छन्। यहाँ पनि बुद्धको जन्म जयन्तीलाई धुमधामसँग मनाइन्छ। त्यहाँ यस दिनलाई यहाँको खमेर भाषामा विसाक बोच्या भनिन्छ र दिनभरि विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ। यहाँ पनि यस दिनमा सार्वजनिक बिदा दिइएको छ।

यस दिन यहाँ बौद्ध र्‍याली निकालिन्छ जसमा भिक्षुहरू र उपासक उपासिकाहरू बौद्ध झण्डा, कमलको फूल, धूप तथा मैनबत्ती लिएर नगर परिक्रमा गर्दछन्। यस्ता र्‍यालीहरूको आयोजना स्थानीय विहारहरूले गरेका हुन्छन्। उपासक उपासिकाहरू यसदिन विहारमा जम्मा भएर त्यहाँ आयोजना गरिएका धार्मिक समारोहहरूमा सरिक हुन्छन् र भिक्षु एवं अन्यलाई दान प्रदान गरेर पुण्यसञ्चय गर्छन्।

भियतनाम
भियतनाम दक्षिणपूर्वी एसियामा अवस्थित एक बौद्ध देश हो जहाँ महायानी बुद्धधर्मको बाहुल्यता छ। अहिले यहाँका धेरै मानिसहरूले धर्म मान्न छाडे पनि सबैभन्दा धेरै जनसंख्या बौद्ध धर्मावलम्बीहरूकै छ।

यहाँ महायनी तथा थेरवादीहरू भएको कारणले यहाँको बुद्ध जयन्ती मनाउने तरिकामा केही विविधता पाइन्छ। तर विभिन्न तरिकाले देश भरी नै यो महत्वपूर्ण चाडलाई त्यहाँका सबै बौद्धहरूले श्रद्धा र उल्लासका साथ मनाउँछन्। यसदिन यहाँ पनि विभिन्न बौद्ध मन्दिरहरूले उपासक उपासिकाहरूका निमित्त विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गरेर आकर्षण गर्दछन्। त्यस्तै त्यहाँका प्यागोडाहरूलाई पनि विभिन्न सजावटका सामग्री प्रयोग गरेर सिँगारिन्छन्।

भियतनाममा राजनीतिक उथलपुथल हुनु अगाडि, सन् १९७५ सम्म दक्षिण भियतनाममा मात्र यहाँको चन्द्रमासको क्यालेण्डर अनुसार चौथो महिनाको आठौं दिन ले फत दान भनेर बुद्धको जन्म जयन्ती मनाइन्थ्यो। यसबेला यसदिन सार्वजनिक बिदा हुन्थ्यो, बाटो भरी धार्मिक परिक्रमाहरू गरिन्थ्यो र पानीमा बत्ती बगाउने तथा झल्लर बनाएर बत्ती झुण्ड्याउने चलन थियो। त्यसबेला मानिसहरू बुद्धको गुणलाई सम्झेर लाल्टिन बत्ती बोकेर पदयात्रा गर्दथे।

सन् १९७५ मा त्यहाँ राजनीति परिवर्तन भयो। त्यसपछि नयाँ राजनीतिक व्यवस्थाले यस दिनको सार्वजनिक बिदा काटिदियो र विस्तारै धार्मिक कार्यक्रमहरूको महत्व पनि घट्यो।

सन् २००० पछि भने यहाँको कम्युनिष्ट व्यवस्थालाई यहाँ रहेका क्रिश्चियन अल्पमतको समुदायले धर्मिक अत्याचार गरे भन्ने लान्छना लगाउलान् भनेर यस दिनलाई देशैभरि मनाउने व्यवस्था गरियो। अहिले यहाँको भियतनामी बौद्ध संघले भव्य रूपमै मनाउने गर्दछ र विभिन्न देशबाट अन्तर्राष्ट्रिय अतिथिहरूलाई समेत निमन्त्रणा गर्ने गरिन्छ। यस्ता कार्यक्रमहरू यहाँ सन् २००८, २०१४ र २०१९ मा आयोजना गरिएको स्मरणीय छ।

यहाँ बुद्धको जन्म जयन्ती मनाउने दिनको चयन भने फरक ढंगबाट गरिन्छ। यहाँको क्यालेण्डरको आधारमा यहाँको बुद्ध जयन्ती कहिले थेरवादीहरूको जस्तो बुद्ध पूर्णिमाको नजिक पर्छ भने कहिले एक महिनासम्म पछि पर्न सक्छ।

यस दिन हानोइ, होचिमिन लगायतका शहरहरूमा सिँगारपटार गरिन्छ। यसदिन साँझ खोला तथा पोखरीमा कमलको फूल आकारको बत्ती बगाउने चलन पनि छ। मन्दिरहरू र प्यागोडाहरूमा भिक्षुहरूले प्रवचन दिन्छन् र सबैको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्छन्। बौद्धहरू कमलको फूल अथवा यस्तो आकारको बत्तीले घर सजाउँछन्। उनीहरू मन्दिरमा धुप र बत्ती बाल्छन् र फलफूल तथा खानेकुरा पनि चढाउँछन्।

मलेशिया
मलेशिया दक्षिणपूर्वी एसियामा अवस्थित एक बहुधार्मिक देश हो। यहाँ बौद्धहरू लगभग २० प्रतिशत मात्र भए पनि बुद्ध जयन्तीलाई राष्ट्रिय सार्वजनिक बिदा दिएर सम्मानका साथ मनाइन्छ। यसलाई यहाँ वेसाक भनिन्छ।

यस दिन यहाँका बौद्धहरूले बौद्ध मन्दिर अथवा विहारमा गएर बुद्धपूजा गरी मनाउँछन्। यसदिन उनीहरू बिहानै विहारमा जान्छन् र भिक्षुहरूको निर्देशनमा अष्टशील लिएर भगवान बुद्धको जन्म, बोधिज्ञान लाभ तथा परिनिर्वाण भएको दिन स्मरण गर्छन्। साथै भगवानबुद्धको प्रतिमामा फूल, खाद्य पदार्थ तथा धुप तथा बत्ती पनि अर्पण गर्दछन्। उनीहरू भिक्षुहरूका साथसाथमा सूत्रहरू पाठ गर्छन् र प्रार्थना सभामा भाग लिन्छन्। यस बाहेक यसदिन विहारहरूमा ध्यान शिविरहरू पनि सञ्चालन हुन्छन्।
साँझको बेलामा धेरै विहारहरूमा मैनवत्ती सहित नगर परिक्रममा गर्ने कार्यक्रमहरू पनि राखिएका हुन्छन्। यसबाहेक यस दिन बौद्धहरू भिक्षुहरूलाई, गरिबहरूलाई दान दिएर तथा पिंजडामा रहेका जनावरहरूलाई मुक्ति दिएर पनि पुण्य कार्य गर्छन्।

ताइवान
दक्षिणपूर्वी एसियामा रहेको टापू टाइवान सानो भएपनि यहाँ बौद्धहरूको संख्या धेरै (३५ प्रतिशत) छ र यहाँ सँधै जस्तो अन्तर्राष्ट्रिय बौद्ध कार्यक्रमहरू भइरहन्छन्।

यहाँ बुद्धको जन्म जयन्तीलाई राष्ट्रिय बिदाको रूपमा मानिएको छ। यसदिन दिनभरि नै यहाँका साना ठूला बौद्ध मन्दिरहरूमा विभिन्न किसिमका धार्मिक कार्यक्रमहरू सञ्चालन गरिन्छन्। यहाँका बौद्ध उपासकहरूको यस दिन बिहान सिद्धार्थ प्रतिमामाथि बास्नासहितको पानी खन्याएर बुद्धको गुण स्मरण गर्दछन् र नयाँ दिनको शुरुवात गर्दछन्।

सिंगापुर
दक्षिणपूर्व एसियाको सानो तर सम्पन्न देश सिंगापुर एउटा बहुधार्मिक देश हो। यहाँका बौद्ध समुदायहरू स्वतन्त्र भएर बुद्धको जन्म जयन्ती मनाउने वातावरण यहाँ छ।

यहाँ पनि बुद्धको जन्म जयन्तीलाई वेसाक वा वेसाक दिवसको रूपमा मनाइन्छ। यस दिन यहाँ सार्वजनिक बिदा दिइएको हुन्छ। यस दिन यहाँका बौद्ध मन्दिरहरूले विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गर्ने गर्छन् र मन्दिरहरूलाई बौद्ध झण्डा लगायत विभिन्न बौद्ध प्रतिकात्मक वस्तुहरू राखेर शृङ्गार गरिएको हुन्छ।

ठूलो संख्यामा उपासक उपासिकाहरू ती मन्दिरहरूको कार्यक्रममा सरिक हुन्छन्। उनीहरू यहाँ बुद्ध प्रतिमा अगाडि बसेर पूजा, पाठ र प्रार्थना गर्नुका साथै यहाँका बौद्ध भिक्षुहरूलाई दान प्रदान समेत गरेर पुण्य संचय गर्छन् र बुद्धशिक्षाप्रति श्रद्धा प्रकट गर्छन्।

इण्डोनेशिया

दक्षिणपूर्वको देश इण्डोनेशिया त्यहाँका बौद्ध सम्पदाहरूको कारणले विश्व प्रशिद्ध छ तर अहिले त्यहाँ पनि बौद्धहरू अल्पसंख्यामा मात्र छन्। मुस्लिमहरूको बाहुल्यता भएको यो देशमा बुद्धधर्म लुप्त भएर गएको भए तापनि त्यहाँ अहिले बौद्धहरू संगठित छन् र बौद्ध संगठनहरूले उल्लेखनीय प्रयास गरिरहेका छन्।

इण्डोनेशियामा पनि वैसाक अर्थात् बुद्धको जन्म जयन्तीका दिन सार्वजनिक बिदा दिइन्छ। विशेष गरी यहाँको विश्वकै सबैभन्दा ठूलो भनिएको चैत्य बोदोबुदुरमा विशाल बौद्ध कार्यक्रमको आयोजना गरिन्छ र बौद्धहरूले भगवान बुद्धको गुणस्मरण यहाँका भिक्षुहरूको निर्देशनमा विभिन्न धार्मिक कार्य गरेर गर्ने गर्छन्। यस दिन राती आकाशमा बत्ती उडाउने चलन यहाँ पनि छ।

चीन
चीन मध्य एसियाको एक विशाल देश हो। विश्वकै सबैभन्दा धेरै बौद्धहरूको जनसंख्या (२४४ मिलियन) भएको यो देशमा राजनीतिक परिवर्तनहरूले गर्दा धर्मलाई कम महत्व दिइन्छ तर पनि यहाँका बौद्धहरूले अहिलेको वातावरणमा निर्धक्कसँग बुद्धको जन्म जयन्ती मनाउन सक्छन्। विशाल देश र विभिन्न संस्कृति एवं बुद्धधर्मका विभिन्न निकायलाई अवलम्बन गर्ने विविधतायुक्त भएको देश भएकोले यहाँ बुद्धजयन्ती मनाउने प्रक्रिया र परमपरामा पनि विविधता पाइन्छ।

चीनका मुख्य शहरहरूमा बौद्ध उपासक उपासिकाहरू बौद्ध मन्दिर गएर त्यसको सजावट गर्छन्। भिक्षुहरूको निर्देशनमा रही शरणगमन, शीलग्रहण तथा बौद्ध सूत्रहरूको पाठ गर्छन्। यस दिन उनीहरू बुद्धप्रतिमा अगाडि धुप बाल्छन् र भिक्षुहरूलाई दानप्रदान गरेर पुण्य सञ्चय गर्छन्।

हङकङमा बुद्ध जयन्तीलाई सार्वजनिक बिदा घोषणा गरिएको छ। यहाँ बुद्ध जयन्तीलाई फोदान भनिन्छ। यहाँका बौद्धहरू सिद्धार्थको प्रतिमालाई पानीले नुहाएर भगवानबुद्धलाई यहाँ जन्म लिनुभएकोमा कृतज्ञता व्यक्त गर्छन्, जसलाई युफोजी भनेर भनिन्छ। साथै उनीहरू लालटिन बत्ती सहित परिक्रमा पनि गर्छन्। उनीहरूले लालटिन बत्तीलाई भगवानबुद्धको बोधिज्ञानको प्रतीकको रूपमा व्याख्या गर्ने गर्दछन्। यसरी नै चीन अन्तर्गतको अर्को टापु मकाउमा पनि यस दिनलाई सार्वजनिक बिदा दिइएको छ।

तिब्बतमा हिमाली बुद्ध धर्मको बाहुल्यता भएकोले यहाँ सागादावाको चलन अनुसार एक महिनासम्म विभिन्न धार्मिक कार्यक्रम गरी भगवान बुद्धको जन्म, बोधिज्ञान लाभ तथा परिनिर्वाणलाई स्मरण गर्ने गरिन्छ।

मंगोलिया

मध्यएसियामा रहेको भूपरिवेष्ठित देश मंगोलिया प्राचीन कालदेखि नै बौद्ध देश हो। यहाँ भगवान बुद्धको जन्म जयन्तीलाई इख डुइचेन भनेर भनिन्छ र यो मंगोलियको चन्द्रमासको क्यालेण्डरका अनुसार निर्धारित गरिन्छ। त्यसकारण यो पूर्वी एसियाली देशहरू जस्तो नभएर दक्षिण तथा दक्षिण एसियाली देशहरूले मनाउने दिनमा मनाइन्छ। यसबाहेक यहाँ भुटानी क्यालेन्डर अनुसार चौथो महिनाको १५औं दिनलाई परिनिर्वाण दिवस अर्थात् डुचेन ङाजोम भनेर मनाइन्छ।

बौद्धहरूले परम्परागत रूपमा धुमधामले मनाउने यस धार्मिक दिवसलाई सन् २०१९ देखि सार्वजनिक बिदा दिने घोषणा गरिएको छ। यसदिन यहाँका करिब २०० बौद्ध मन्दिरहरू तथा लगभग ५०० जति भिक्षु भिक्षुणी सहितको संघले बौद्धहरूका लागि विभिन्न कार्यक्रमहरू गर्दछन्। बुद्धधर्मको लामो इतिहास भएको मंगोलियामा अहिले ५३ प्रतिशत बौद्ध छन्।

उत्तर कोरिया
राजनीतिक व्यवस्थाका कारणले बाहिरी विश्वसँग कम मात्र खुलेको देश उत्तर कोरियामा पनि बुद्ध जयन्तीलाई मनाइने गरिन्छ। त्यहाँको संविधानले जनतालाई धार्मिक स्वतन्त्रता दिइएको बताइएको छ।

बुद्धको जन्म जयन्तीलाई यहाँ छोफाइल भनिन्छ र यो कुन दिन मनाउने भन्ने कुरा यहाँको क्याबिनेटले यसको केही दिन अगाडि निर्णय गर्नुपर्छ। कोरियाली संस्कृतिमा बुद्ध जयन्ती एक राष्ट्रिय चाड हो। त्यसैले राजनीतिक तवरले उत्तर कोरिया र दक्षिण कोरिया भनेर विभाजित हुनु अगाडि देखि नै यहाँ बुद्धको जन्म जयन्ती मनाउने चलन थियो र सोही अनुरूप यहाँको बौद्ध समुदायले अहिले पनि श्रद्धासहित विभिन्न कार्यक्रमहरू आयोजन गरेर बुद्ध जयन्ती मनाउने गर्दछन् भन्ने जानकारी उत्तर कोरिया सम्बद्ध संस्थाहरूले दिएको पाइन्छ।

अर्कोतर्फ दक्षिण कोरिया लगायतका सञ्चार माध्यमले भने उत्तर कोरियामा धार्मिक स्वतन्त्रता नभएको तथा त्यहाँको सरकारले कुनै पनि किसिमको धार्मिक गतिविधिमा रोक लगाएको जानकारी दिने गरेको छ।

दक्षिण कोरिया
दक्षिण कोरियामा आफ्नै कोरियन चन्द्रमासको क्यालेण्डरको आधारमा बुद्धको जन्म जयन्ती मनाइन्छ। यहाँ यस दिनलाई बुछनिम ओसिन नाल भनिन्छ र यो राष्ट्रिय बिदाको दिन हो।

यसदिन बौद्ध मन्दिरहरूमा धार्मिक सभाहरू आयोजना गरिन्छन् र बौद्ध भिक्षु तथा भिक्षुणीहरू दिनभरी नै विभिन्न धार्मिक कार्यमा व्यस्त रहन्छन्। बौद्ध उपासक उपासिकाहरू बौद्ध मन्दिरमा गएर प्रार्थना सभामा सामेल हुन्छन् र भिक्षु भिक्षुणीहरूको निर्देशन अनुसार शील ग्रहण गर्ने र धार्मिक प्रवचन सुन्ने काम गर्दछन्। यस दिन मन्दिरहरूका उपासक उपासिकाहरूका लागि अथवा उनीहरूले निशुल्क खानाको व्यवस्था गरिएको हुन्छ।

कमलको फूल आकारको लालटिन बत्ती बालेर मन्दिरमा तथा आफ्नो घरमा समेत झुण्ड्याउने कोरियाली बौद्धहरूको पुरानो परम्परा हो।

अहिले यहाँको बुद्ध जयन्तीलाई यहाँका बौद्ध तथा अन्यले पनि हर्षउल्लासका साथ मनाउने गरिआएको पाइन्छ। यो अहिले कोरियाका सबैभन्दा ठूला साँस्कृतिक पर्वहरू मध्ये एक भएको छ।

जापान
पूर्वी एसियाको एक आधुनिक सम्पन्न देश जापानमा बुद्धधर्म धेरै अगाडि पुगेको थियो र यो धर्म देशकै परिचय बन्यो हजारौं वर्षदेखि। यहाँका जनता मध्ये ६७ प्रतिशत जनताले अहिले पनि बुद्धधर्मका विभिन्न निकायहरूको अवलम्बन गर्छन्।

यहाँ जापानमा आफ्नै किसिमले भगवान बुद्धको जन्म जयन्ती मनाइन्छ। यहाँ यस पवित्र दिनलाई कानबुचुए वा हानामात्सुरी भनिन्छ जसको अर्थ फूलको पर्व भन्ने लाग्छ (संयोग नै भन्नुपर्छ नेपालको नेवार समुदायले पनि यसलाई फूलको पुर्णिमा भनेर मान्छन्)। यस दिनलाई गोतानए, बुस्शोए, योकुबुत्सुए, रयुगेए र हानाएशिकि पनि भनिन्छ।

अहिले सामान्यतयाः जापानमा बौद्ध क्यालेण्डर अनुसार बुद्ध जयन्ती अप्रिल ८ का दिन पारेर मनाइन्छ। ओकिनावा जस्ता कुनै कुनै ठाउँमा मात्र चन्द्रमासको चौथो महिनाको आठौं दिनमा बुद्ध जयन्ती मनाइन्छ।

यस दिन आमाचा अर्थात् हिद्राङगिया सेराता भनिने फुलबाट तयार पारिएको चियाले बुद्धको टाउको नुहाइदिएर बुद्धप्रति श्रद्धा चढाइन्छ। यसरी बुद्धको प्रतिमालाई नुहाइदिने प्रथा चीनबाट आएको र सन् ६०६ देखि चलिआएको भन्ने गरिन्छ। उनीहरू बुद्धको जन्म हुँदा नौवटा ड्रागनले उहाँको टाउकोमा अमृत खन्याइदिएका थिए भन्ने गर्छन् र यसकै प्रतिकस्वरूप यो चलन चलेको थियो।

यसदिन बुद्ध मन्दिर तथा विहारहरूमा धार्मिक कार्यक्रमहरू सञ्चालन गरिन्छन्। ती कार्यक्रमहरू भिक्षु तथा भिक्षुणीहरूद्वारा निर्देशित हुन्छन् भने ठुलो संख्यामा उपासक उपासिकाहरूको जमघट हुन्छ। तर यो यहाँ राष्ट्रिय बिदा भने होइन।

यो आलेख हामीले राजेनको अनुमतिले उहाँको ब्लगिङ साइटबाट लिएका हौ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया दिनुहोस्