Light Nepal

आज २५६६औं बुद्ध जयन्ती तथा उभौली पर्व मनाइँदै

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६६ औं बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ । आज भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनु भएको योगदानको स्मरणस्वरुप मनाइँदैछ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६६ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।

छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाएका थिए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्दै बौद्ध दर्शनको खोज–अनुसन्धान थालेका थिए ।

आज लुम्बिनीमा बिहान ९ बजे प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलको उदघाटन लगायत विभिन्न कार्यक्रम रहेको छ ।

यसैगरी आजै किराँत राई समुदायले मनाउने उभौली पर्व देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाउँदै छन् । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ ।

सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्