Light Nepal

स्वाद र स्वास्थ्यको सार : बेसार

डा. रामदेव पण्डित

शरीरमा जमेर रहेको अतिरिक्त बोसोलाई प्राकृतिक रूपमा काट्ने अद्भूत क्षमता पनि बेसारमा रहेको पाइएको छ। मोटोपन भएका व्यक्तिहरूले खानामा बेसारको नियमित सेवन गर्दा शरीरको अनावश्यक बोसो घटाएर शरीर सुडौल र सुन्दर बनाउँछ। यसले कोलेस्ट्रोल लेभल पनि नियन्त्रण गर्न सहयोग गर्दछ।

मसलाको रूपमा बेसार प्रायः सबैले खाएको हुनुपर्छ। बेसार अदुवाको ढाँचाको बोट हुने र जमिनमनि त्यस्तै छाँटले फल्ने कोट्याउँदा पहेंलो देखिने एक कन्द हो। यसको बोट नदेख्नेले पनि दाल तरकारीमा हाल्न राखिएको बेसारको धुलो त सबैले देखेकै हुन्छन्। सबैलाई यो कस्तो हुन्छ भन्ने थाहा छ तर यसको अदभूत औषधीय गुणको सत्यतथ्ययुक्त प्रमाणिक विवरण धेरैलाई थाहा नहुन सक्छ आज त्यही बेसार– प्रसङ्ग प्रस्तुत गरिएको छ। बेसारका बारेमा निरन्तर गरिएका अनुसन्धानहरूले यसलाई एउटा अति महत्वपूर्ण जडिबुटीको रूपमा विश्वसामु स्थापित गरेको छ।
कृषि उत्पादन, व्यापारिक एवं व्यावसायिक दृष्टिले पनि नेपाल र भारतमा बेसार महत्वपूर्ण वस्तु मानिन्छ। सबैले प्रयोग गर्ने दैनिक उपभोग्य वस्तु भएकाले पनि यसको माग दिनप्रतिदिन बढ्दो छ। कोरोना महामारीका वेला त यसको गुणगान नगर्ने कोही नै थिएनन्, फलतः अनेक तवरले यसको उपयोग गरे। माग अनुसारको आपूर्तिका लागि नेपालमा भारत, म्यान्मार र इथियोपियाजस्ता देशहरूबाट बेसार आयात गर्ने गरिन्छ। विश्वको कुल उत्पादनको ८० प्रतिशत बेसार भारतमा उत्पादन हुन्छ।
युरोप अमेरिकाभन्दा भन्दा नेपाली र भारतीय समाजमा बेसारको प्रयोग हरेक भान्सामा गर्ने गरिन्छ। यो दक्षिण एशियाको एक रैथाने वनस्पति हो। जिन्जीबरेसी कुलको यो वनस्पतिको जराको डाठ (काण्ड) खानामा वा औषधीका रूपमा प्रयोग हुन्छ। ‘कुर्कुमा लोंगा’ वानस्पतिक नाम भएको यो वनस्पतिलाई काँचै पिसेर वा सुकाएर त्यसको चुर्ण (धुलो) बनाएर प्रयोग गरेको पाइन्छ।

भान्सामा पाक्ने प्रायः खानामा बेसारको प्रयोग गर्ने गरिन्छ। बेसारले पहेंलो रंग प्रदान गरी हाम्रो खानाको आकर्षण बढाउने भएकाले पनि मसलाको रूपमा बेसारको प्रयोग गरिँदै आएको छ। परापूर्वकालदेखि नै यसको प्रयोग हुँदै आएकाले खानामा बेसारको प्रयोगलाई परम्परागत वा सांस्कृतिक अभ्यास भन्न पनि सकिन्छ। किनभने बेसार विना पनि खाना पकाउने र खाने समाज संसारमा नभएका होइनन्।
बेसारका बारेमा गरेका विभिन्न अध्ययन अनुसन्धानहरूले बेसारमा धेरै खाले औषधीय गुणहरू भएको तथ्य सार्वजानिक गरेको छ। जैव–रसायनहरूले बेसार बहुगुण सम्पन्न हर्बल औषधी वा सप्लिमेन्टको रूपमा स्थापित हुँदैछ। यसमा प्रमुख रूपमा कक्र्यमिन नामक रसायिक पदार्थ पाइन्छ।
धुलो बेसारमा ६९ प्रतिशत कार्बोहाईड्रेट, ६ प्रतिशत प्रोटिन, ५ प्रतिशत तेल र ३.५ प्रतिशत खनिज एवं धातुहरू पाइन्छन्। हालसम्म बेसारमा पाइने २३५ वटा फरक फरक जैविक रसायनहरू पहिचान भएका छन्। बेसारमा भिटामिन ए, क्याल्सियम, फस्फोरस्, आइरन आदि तत्व प्रचुर मात्रामा पाइन्छन्।
बेसारमा इम्युनिटी–बर्धक तत्व र गुणहरू अधिक हुने भएकाले कोरोनाकालमा पनि आयुर्वेद एवं वैकल्पिक चिकित्सा पद्धतिमार्फत कोरोनाभाइरसको रोकथामका उपाय र व्यवस्थापनसम्बन्धी सरकारी निर्देशिकामा दैनिक रूपमा खाइने खानामा निश्चित मात्राको बेसार अनिवार्य प्रयोग गर्न सुझाइएको थियो।
खानामा आकर्षण ल्याउने मसलाको रूपमा मात्र बेसार परम्परागत रूपमा प्रयोग गरिए पनि यसमा अन्य धेरै खाले औषधीय गुणहरू हुने गरेको प्रमाणित हुँदै आएपछि अहिले यसको महत्व र उपयोग चुलिँदो छ।
बेसारलाई स्वतन्त्र रूपमा वा अन्य खाद्य एवं पेय पदार्थहरूका साथ मिसाएर पनि सेवन गर्न सकिन्छ। मात्रा (डोज) मिलाएर उपयोग गर्न जाने यसलाई जसरी सेवन गरे पनि त्यसले अपेक्षित लाभ दिन्छ। उच्चतम लाभ प्राप्त गर्न यसलाई प्रयोग गर्ने समय र अवस्था पनि उत्तिकै मननीय पक्ष मानिन्छ।

गोल्डेन मिल्क
बेसारलाई भिटामिन र खनिजहरूको मुख्य स्रोत मानिन्छ। दुधमा बेसार मिसाएर बनाइएको मिश्रणलाई हिजोआज गोल्डेन मिल्क भनिन्छ। रोगप्रतिरोधात्मक क्षमता वृद्धिका लागि कोरोनाकालमा गोल्डेन मिल्कको प्रयोग र प्रचार व्यापक रूपमा गरिएको थियो। अनुसन्धानले यसलाई निकै प्रभावकारी पेय (ड्रिंक) बताएको छ।
बेसारको शुद्धता जाँच
आफ्नै खेतबारीमा उमारेको बेसारको कन्द सङ्कलन गरी बनाइएको धुलो सबैभन्दा शुद्ध मानिन्छ। बजारमा बेच्न राखिएको बेसारमा विभिन्न प्रकारले मिसावट गरिएको हामी धेरैले सुनेदेखेका छौं। बजारमा पाइने मिसावटयुक्त बेसार प्रयोग गर्दा शरीरलाई अपेक्षित लाभभन्दा हानि बढी हुनसक्ने जोखिम रहन्छ। नेपाली बजारमा पाइने बेसारमा सामान्यत लिड क्रोमेट, स्टार्च, चक (खरी) आदिको मिश्रण गरेर बेच्ने गरेको पाइएको छ। बेसार स्वाद र स्वास्थका लागि हितकारी हुने भए पनि त्यसमा मिश्रण गरिएका विजातीय पदार्थहरू स्वास्थका लागि सर्वथा हानिकारक हुन्छन्। अतः बजारको बेसार उपयोग गर्दा बडो सचेत हुनु आवश्यक छ। यस विषयप्रति नेपाली समाज त्यति विधि सचेत भएको देखिँदैन। अझ ग्रामीण भेगका हाट बजारमा बेचिने खुला बेसार खरिद गरी प्रयोग गर्ने अभ्यास धेरै छ।
खान योग्य गुणस्तरीय बेसारमा कक्र्यमिन नामक रसायिक पदार्थ एक वा एक प्रतिशतभन्दा माथि हुनुपर्छ। पानी मिसाइएको गिलासमा बेसार हालेर केही समय छोडिदिँदा, चक मिसिएको रहेछ भने बेसार तल थिग्रिन्छ। मैदालगायतका वस्तु मिसाइएकोछ रहेभने डल्लो पर्छ। यसरी बेसारको गुणस्तर परीक्षण घरेलु विधिबाट पनि गर्न सकिन्छ।
जलन र दुखाइ निवारक
बेसारको सही मात्रा सम्यक् रूपमा नियमित सेवन गर्दा शरीरमा जलन कम गराउँछ। बुढेसकालमा हात पाखुरा दुख्ने समस्या हुन नदिन पनि बेसारको भूमिका महत्त्वपूर्ण हुन्छ। शरीरमा ताप उत्पन्न गराउने भएकाले पित्त प्रकृतिका व्यक्तिहरूले यसको अधिक प्रयोग गर्नु अहितकर हुन्छ। ताप उत्पन्न गराउने भएकाले यसले रगत पातलो बनाउँछ र केही खास रोगीहरूमा रक्तस्राव गराउने जोखिम पनि रहन्छ।
इम्युनिटी वृद्धिका लागि
बेसारमा एन्टिभाइरल औषधीय गुण पनि हुने तथ्य वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन्। यसर्थ बेसारको प्रयोग (काढा बनाएर) भाइरल ज्वरो, कोभिड, रुघाखोकी आदिमा दैनिक सेवन गर्न सल्लाह दिइन्छ। महसँग खाइएको बेसारले शरीरको संक्रमण मार्दछ साथै शरीरको इम्युनिटी (रोगप्रतिरोधात्मक क्षमता) बढाउँछ।
मुखको संक्रमण हटाउन
तातोपानीमा बेसार राखेर नियमित कुल्ला गर्दा मुख र घाँटी भित्र हुने विभिन्न खालका संक्रमणबाट छुटकारा प्राप्त हुन्छ। बेसारमा तीव्र एन्टिव्याक्टेरियल, एन्टिभाइरल र इम्युनिटिबर्धक शक्ति हुन्छ जसका कारण रुघा मर्की लाग्दा पिइने काँढामा बेसार राख्ने चलन छ।
शरीर भित्रको ‘टक्सिन’ फाल्न
शरीरमा सञ्चित विषहरूलाई (टक्सिन्स) निर्विष बनाउने क्षमता पनि बेसारमा हुन्छ। जसको कारण लिभरमा सञ्चय हुने विषहरूलाई बेसारको सेवनले डिटक्स (निर्विस) गराउँछ। अतः शरीरको टक्सिनलाई बाहिर फाल्न र कलेजोको स्वास्थ्यका लागि बेसार अत्यन्तै महत्वपूर्ण घरेलु औषधी मानिन्छ।
सौन्दर्य वृद्धि
एन्टी–अक्सिडेन्ट र एन्टी–एलर्जिक गुणका कारण प्रायः सौन्दर्य प्रसाधनका सामग्रीहरूमा बेसारको व्यापक प्रयोग गरिएको हुन्छ। मुहारको सौन्दर्यका लागि प्रयोग गर्न बनाइने हरेक घरेलु ‘फेस प्याक’ देखि बजारमा पाइने सौन्दर्य प्रसाधन सामग्रीहरूमा बेसार अनिवार्य रूपमा प्रयोग भएको पाइन्छ। त्यस अतिरिक्त ‘टुथ पेस्ट’, नुहाउने साबुन, ‘फेसवास’ आदिमा पनि बेसारको प्रयोग गरिएको पाइन्छ। यसमा पाइने एन्टी–अक्सिडेन्ट गुणका कारण छालालाई चाउरी पर्न दिँदैन।
एलर्जी हटाउँछ
बेसारको नियमित सेवनले वा स्थानिक रूपमा लेप लगाउँदा छाला माथि हुने एलर्जी हटाउँछ। छालाका छिद्रहरूको टक्सिन र एलर्जी कारक बाह्य तत्वहरूको सफाइ गर्दछ।
मोटोपन घटाउन
शरीरमा जमेर रहेको अतिरिक्त बोसोलाई प्राकृतिक रूपमा काट्ने अद्भूत क्षमता पनि बेसारमा रहेको पाइएको छ। मोटोपन भएका व्यक्तिहरूले खानामा बेसारको नियमित सेवन गर्दा शरीरको अनावश्यक बोसो घटाएर शरीर सुडौल र सुन्दर बनाउँछ। यसले कोलेस्ट्रोल लेभल पनि नियन्त्रण गर्न सहयोग गर्दछ।
सावधानी
जथाभावी र अत्यधिक बेसार सेवनले मृगौलामा समस्या भएकाहरूलाई खतरामा पार्ने तथा एलर्जीदेखि क्यान्सरसम्मको जोखिम वृद्धि हुनसक्छ। साथै कलेजोमा पनि यसले समस्या उत्पन्न गराउन सक्छ।
धेरै मान्छेले बेसारको वास्तविक महत्व नबुझेर नियमित रूपमा प्रयोग नगर्ने गरेको वा कतिले अनधिकृत रूपमा प्रयोग गरेको पनि पाइन्छ। यसरी बेसारको अभाव र प्रभावले लिभर अस्वस्थ हुने, पेटमा ग्यास बन्ने, आदि विभिन्न सम्स्याहरू देखिन सक्छन्।
बेसारलाई तेलमा भुटेर वा आगोमा डढाएर प्रयोग गर्नु सर्वथा हानिकारक हुन्छ। यसको सबैखाले औषधीय गुण नष्ट हुने मात्र होइन शरीरमा क्यान्सर सिर्जना गर्नेसम्मका तत्वहरू उत्पादन हुन्छन्। बेसारलाई प्राकृतिक स्वरूपमा नै प्रयोग गर्नु सर्वथा प्रभावकारी हुन्छ, मानिन्छ।
दैनिक उपयोग गर्ने मात्रा
स्वस्थ मानिसले आफ्नो तौलअनुसार प्रतिदिन ४ देखि ६ ग्रामसम्म बेसार सेवन गर्नु उचित हुन्छ।
मसलाको रूपमा मात्र खानामा बेसारको प्रयोग गर्ने परम्परा एवं सांस्कृतिक अभ्यास भए पनि विभिन्न खोज अनुसन्धानहरूले यसको खाद्य र औषधीय महत्वको वर्णन अतुलनीय तवरले प्रस्तुत गरेका छन्। बेसारको प्रयोग गर्दा मात्राको ख्याल गरौं। आगोमा जलाएर र तेलमा डढाएर बेसार प्रयोग नगरौं। सहज र सुलभ रूपमा उपलब्ध शुद्ध बेसारको नियमित प्रयोग गर्ने बानी बसालौं, स्वस्थ रहौं।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया दिनुहोस्