Light Nepal

बुद्धलाई गलत बुझ्दा

| नेपाली काव्य जगतमा बुद्धका सन्दर्भमा बारम्बार र अधिकांश मात्रामा प्रयोग हुने वाक्य बुद्धलाई ‘फेरि आउ’ भनेर गरिने आह्वान हो । याे प्रवृत्ति भर्खर भर्खर काव्य क्षेत्रमा प्रवेश गरेकादेखि मूर्धन्य लेखकहरूमा समेत पाइन्छ । यो कुराले मात्र पनि यी सर्जकहरूको बुद्धप्रतिको बुझाइको स्तर थाहा हुन्छ ।

========

बसन्त महर्जन

एउटा टेलिभिजनले सञ्चालन गर्ने नेपाली साहित्य सिर्जनासम्बन्धी कार्यक्रममा मलाई बौद्ध धर्मदर्शनका बारेमा सोध्न स्टुडियोमा निम्त्याएको थियो। अन्तर्वार्ताको अन्त्यतिर नेपाली साहित्यमा केही सर्जकले बौद्ध धर्मदर्शनको ‘फ्लेबर’ दिन खोज्ने तर चिप्लिने गरेको कुरा औंल्याएको थिएँ। यसो भन्नुको तात्पर्य साहित्यकारहरूले बौद्ध अध्ययनमा पनि केही ध्यान दिएको भए हुन्थ्यो भन्ने नै हो। विद्यालय स्तरको पाठ्यपुस्तकमा पनि बौद्ध धर्मदर्शनको सन्दर्भमा उधुमै गल्ती पाइन्छन् र ती गल्तीलाई मात्रै औंल्याउने गरी ‘शिक्षक’ मासिकमा ‘पाठ्य–अपाठ्य’ स्तम्भ लेख्दै आइरहेको छु। यस लेखमा केही नेपाली गीतको चर्चा गर्ने जमर्को गरेको छु जसमा बुद्ध र बौद्ध धर्मदर्शनसम्बन्धी गलत बुझाइबारे चर्चा गर्ने छु।
नेपाली काव्य फाँटमा स्वयम्भू स्तूपको हर्मिकामा रहेको दुई आँखालाई प्रतीकका रूपमा प्रयोग गर्ने गरेको पाइन्छ। स्तूपमा यसरी आँखाको चित्रण गर्ने परम्परा नेपालमण्डलको बौद्ध धर्ममा मात्रै देख्न पाइन्छ। यो परम्परा प्राचीन कालमा अन्यत्र भएको थाहा छैन। कुनै समयमा आँखालाई यसरी प्रयोग गरिएको होला तर किन प्रयोग गरियो यसबारे केही प्रमाण पाइएको छैन। यस्ता स्तूपहरु संसार भरि बनाइन्छन् त पछिल्लो समय बनाइने केही स्तूपमा राखिएका आँखा श्यम्भूको सिको गरेर राखिएका हुन्। अर्थात् नेपालमण्डलको सिको गरिएको हो। यसले के अर्थ दिन्छ र किन राखिएको भन्ने कुरा नै अज्ञात छ। यसै सन्दर्भमा सोच्दा पनि अलमल्ल पर्नुपर्ने अवस्था छ तर साहित्य क्षेत्रका सर्जकहरूले भने बडो आरामका साथ यसलाई अर्थ गरिदिए पनि त्यसमा एकरूपता भने छैन। एउटा गीतमा ‘स्वयम्भूका दुईटा आँखाले न्याय अन्याय छुट्याई हेर्छन्’ भनेर न्याय र अन्याय छुट्याउने अर्थमा प्रयुक्त गरेका छन् तर बौद्धधर्मदर्शनको विषयवस्तु न्याय र अन्याय त हुँदै होइन।
यसरी नै कसै कसैले दया र माया, कसैले मैत्री र करुणा, कसैले सुख र दुःख हेर्ने आँखा भनेर अर्थ्याएकाे पाइन्छ तर ती तथ्यमा भन्दा भावनामा आधारित देखिन्छन्। यी अर्थहरूको साहित्यिक महत्व होला तर ऐतिहासिक तथा दार्शनिक रूपमा भने अर्थहीन नै छन्।
नेपाली काव्य जगतमा बुद्धका सन्दर्भमा बारम्बार र अधिकांश मात्रामा प्रयोग हुने वाक्य बुद्धलाई ‘फेरि आउ’ भनेर गरिने आह्वान हो। यf] प्रवृत्ति भर्खर भर्खर काव्य क्षेत्रमा प्रवेश गरेकादेखि मूर्धन्य लेखकहरूमा समेत पाइन्छ। यो कुराले मात्र पनि यी सर्जकहरूको बुद्धप्रतिको बुझाइको स्तर थाहा हुन्छ।
वास्तवमा यसले बुद्ध बुझाइमा व्यापक भ्रम रहेको र बुझ्नुभन्दा अन्य चस्मा लगाएर बुद्धका बारेमा बुझाउन हतार गरेको देखिन्छ। बुद्धलाई फेरि जन्म लिन आउनु भनेर आह्वान गर्ने कवि तथा गीतकारहरूको पृष्ठभूमि हेर्दा अधिकांश हिन्दू समाज रहेको बुझिन्छ वा आफूलाई धर्मभन्दा पृथक समाजको भनेर चिनाउने गरे पनि त्यही मत/वादबाट प्रेरित देखिन्छन्। त्यसअनुसार विष्णु नामका एक पात्रलाई उच्च स्थान दिने क्रममा विभिन्न अवतारहरूको कल्पना गरेको पाइन्छ। यो समुदायको आधारको रूपमा रहेको ऋग्वेदमा विष्णुको अवतार वा यस्ता कुनै कुराको उल्लेख पाइँदैन तर बीचमा विष्णुलाई प्राधान्यता दिने सम्प्रदायको उदयसँगै अवतारवादको अवधारणा पनि विकास भयो। यसअनुसार उनी अजरअमर हुन्, पृथ्वीको पालन उनैको हातमा छ। अवतारसम्बन्धी अवधारणालाई मूर्त रूप दिने क्रममा विभिन्न घटना वा प्रवृत्तिमा उद्धारका लागि विष्णुले पृथ्वीमा अवतार लिन आउने भनिएको छ। यसअनुसार पृथ्वीमा आउँदाको प्रत्येक पटक अलग अलग अवतार हुने गर्दछ। उनै विष्णुलाई यहाँ अन्याय अत्याचार भयो, तसर्थ फेरि जन्म लिन आउ भनेर आह्वान गरेको भए स्वाभाविक हुनसक्थ्यो तर बुद्धलाई फेरि जन्म लिन आउ भनेर आह्वान गरिएको युक्तिसङ्गत देखिँदैन/छैन।


एउटा गीतमा ‘स्वयम्भूका दुईटा आँखाले न्याय अन्याय छुट्याई हेर्छन्’ भनेर न्याय र अन्याय छुट्याउने अर्थमा प्रयुक्त गरेका छन् तर बौद्धधर्मदर्शनको विषयवस्तु न्याय र अन्याय त हुँदै होइन । यसरी नै कसै कसैले दया र माया, कसैले मैत्री र करुणा, कसैले सुख र दुःख हेर्ने आँखा भनेर अर्थ्याएकाे पाइन्छ तर ती तथ्यमा भन्दा भावनामा आधारित देखिन्छन् । यी अर्थहरूको साहित्यिक महत्व होला तर ऐतिहासिक तथा दार्शनिक रूपमा भने अर्थहीन नै छन् ।


विष्णुको तात्पर्य अजरअमर हो तर बुद्धमतअनुसार संसारमा अजरअमर भन्ने केही कुरा हुँदैन। कुनै पनि कुरा स्थिर नभएर परिवर्तनशील हुन्छ। यसलाई अनित्य वा क्षणिकवाद पनि भनिन्छ। प्राणीको अनेक जन्म र मृत्युहरू पनि यही क्षणिकवादअनुसारका परिघटनाहरूको शृङ्खला हो। यो शृङ्खला नै दुःख हो र दुःखको अन्त्य गर्न सकिन्छ। बौद्ध दर्शनको सार दुःखको अन्त्य हो। जन्म र मृत्युको त्यही शृङ्खलालाई तोडिसकेका, अब उप्रान्त जन्मनु नपर्ने भन्नु नै बुद्ध हुनु हो। यसलाई निर्वाण वा मुक्त पनि भनिन्छ। फेरि जन्मिन आउ भनेर आह्वान गर्नुको सोझो अर्थ– तिमीले बुद्धत्व प्राप्त गरिसकेका छैनौ भनेर अविश्वास प्रकट गर्नु हो। आफैंले बुद्ध भनेर सम्बोधन गर्ने अनि आफैले पुनः जन्म लिन आह्वान गर्नु वास्तवमा आफैंले आफैंलाई लोप्पा खुवाउनु हो। यस्तो लोप्पा खुवाउने खालको सिर्जना नेपाली साहित्यमा भरमार मात्रामा हुने गरेको पाइन्छ। विष्णु मतवादी हिन्दूहरू बुद्धलाई विष्णुको नवौं अवतारका रूपमा लिन्छन्। बुद्धलाई नवौं अवतारको रूपमा लिनु भनेको विष्णुकै एउटा अर्को रूप मान्नु हो तर बुद्धमतसँग ती अवतारवादीहरूलाई कुनै सरोकार छैन। उनीहरूका अनुसार बुद्ध भनेको कुनै व्यक्ति विशेषको नाम हो तर बुद्ध व्यक्ति विशेषको नाम नभएर जसले बुद्धत्व प्राप्त गर्ने हो उसलाई सम्बोधन गर्ने पदवी वा विशेषण हो। बौद्ध मतअनुसार गौतम बुद्धभन्दा अघि पनि थुप्रैले बुद्धत्व प्राप्त गरी बुद्ध बनिसकेका छन् (अतीतका बुद्धहरू) भने आउँदा दिनमा पनि बुद्ध बन्नेहरू हुन्छन् (भविष्यका बुद्धहरू)। दिपङ्कर नामका बुद्धभन्दा अघिका तीन र त्यसपछिको गणना गर्ने हो भने गौतम बुद्धको नाम २८ औं मा पर्दछ। गौतम बुद्धकै अनुसार अतीतमा बुद्धहरूको संख्या यो भन्दा बढी हुन्छ। यसअनुसार विष्णुको नवौं अवतारको धारणाले स्वतः पल्टा खान्छ। बुद्ध हुनुभन्दा अघिको अवस्था बोधिसत्वको पुनर्जन्महरू हुँदै गर्छन् तर त्यसलाई अवतार भनिंदैन, पुनर्जन्म मात्रै भन्ने चलन छ। समग्रमा, बुद्ध र बौद्ध धर्मदर्शनअनुसार बुद्धलाई विष्णुको नवौं अवतार मान्नु दार्शनिक रूपमा दिवालिया हुनु हो। बुद्धलाई फेरि जन्मन आउनु भन्ने नेपाली साहित्यका लेखकहरू झट्ट हेर्दा वैष्णवमतको अवतारवादबाट प्रभावित देखिए पनि उनीहरूले विष्णुको फरक फरक अवतार हुन्छन् भन्ने कुरामा ध्यान नदिएको देखिन्छ। यसअनुसार नेपाली साहित्यको सिर्जनामा बुद्धको चर्चा गर्दा कतै मिलेको देखिँदैन र यस्ता साहित्यको पठन एक दृष्टिकोणले अक्षर र समयको बर्बादी मात्रै हो।
एउटा गीत छ– ‘देशमा फेरि एउटा बुद्ध पठाइदेउ’ बोलको। गीतकारको बुझाइमा बुद्धभन्दा माथि कोही अरु पनि छन्। हिन्दू, इसाइ, इस्लामलगायत कतिपय धर्मसम्प्रदायले एउटा परमसत्ताको अस्तित्वलाई मान्छ र सबै कुरा उसैको हातमा हुन्छ। गीतकारका अनुसार बुद्धलाई पठाउने वा नपठाउने निर्धारण वा सञ्चालन उनै सत्ताले गर्ने हुन् र त्यही भएर ‘देशमा फेरि एउटा बुद्ध पठाइदेउ’ भनेर अनुरोध गर्नपुग्छन्। सोही गीतका अन्य पंक्तिहरूलाई विचार गर्दा गीतकारमा त्यस्तो जीवनदर्शनमा चिन्तनमनन गर्ने ध्याउन्न देखिँदैन।
नेपाली साहित्यमा बुद्धलाई अत्यधिक मात्रामा प्रयोग गरिने शब्द ‘शान्तिको दूत’ हो। बुद्धलाई शान्तिको दूत भन्नु बुद्धका लागि खर्चने शब्दहरूमा सर्वाधिक दुरूपयोग पनि हो। बुद्धलाई शान्तिको दूत भन्नुको तात्पर्य ‘शान्तिको सन्देश लिएर आउने सन्देशवाहक’ भन्नु हो। शान्तिको सन्देश पनि कसैले व्यक्त गरेको हुनुपर्‍यो। त्यो सन्देश व्यक्त गर्ने को हुन् ? स्पष्ट छैन। कुनै परमसत्तासँग शान्तिको सन्देश भएको र त्यो सन्देशको वाहक बुद्धलाई भन्न खोजिएको हो भने यहाँ आपत्ति जनाउनु पर्ने स्थिति आउँछ। बौद्ध दर्शनअनुसार यहाँ परमसत्ता भन्ने कुनै कुरा नै छैन। बुद्ध त्यो हो जसले एउटा सत्य देखेको छ र त्यही सत्य अरुलाई देखाउन खोज्दछ।


बौद्ध धर्म–दर्शनको प्राज्ञिक अध्ययनका लागि स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘पीस स्टडिज’ भनेर पढाइने यस्तै कुराहरू वास्तवमा बौद्ध विषयवस्तु नै होइनन् ।


बुद्धले आफूले लाभ गरेको ज्ञान अरुलाई पनि बाँडेका छन्। उक्त ज्ञान लाभ गरिनसकेका तर अरुलाई सुनाउँदै हिडेकालाई सन्देशवाहक वा दूत भन्न सकिन्छ।
बुद्धलाई शान्तिको दूत भनेपछि शान्ति भनेकै के हो भन्ने प्रश्न उठाउनु नितान्त जरुरी हुन्छ। शान्ति शब्दको बुझाइ व्यक्तिअनुसार फरक हुने गरेको पाइन्छ। बलियाले निर्धालाई दमन गरेको आवस्थामा पनि एक खालको शान्तिपूर्ण वातावरण बन्छ। ती निर्धाले आफ्नो हकहितको रक्षा वा स्वाभिमानका खातिर प्रतिकार गर्दा शान्तिमा खलल पुगेको भाष्य बलियाबाट हुने गर्दछ। यही भाष्य अत्याचारी शासकबाट बराबर प्रस्तुत हुने गरेको पाइन्छ। दुई वा दुईभन्दा बढी व्यक्ति, समाज वा राज्यबीचको द्वन्द्वका बेला शान्ति स्थापनार्थ अनेक उपाय अपनाउने गरेको पाइन्छ। शान्तिकै लागि भनेर प्रथम विश्वयुद्धमा जर्मनविरुद्ध शक्तिशाली राष्ट्रहरूले अनेक सन्धिसम्झौता गराएको थिए तर तिनै शान्तिसम्झौता दोस्रो विश्वयुद्धको कारक बन्यो। बौद्ध धर्म–दर्शनको प्राज्ञिक अध्ययनका लागि स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘पीस स्टडिज’ भनेर पढाइने यस्तै कुराहरू वास्तवमा बौद्ध विषयवस्तु नै होइनन्।
बुद्धका उपदेशहरूलाई हामी बुद्ध शिक्षा पनि भन्छौं। बौद्ध धर्मावलम्बीहरू त्यही शिक्षाको अभ्यास जीवनमा गर्ने हुन्। बौद्ध अध्ययन भनेर त्यही शिक्षाको अध्ययन गर्ने हो तर बौद्ध वाङमयमा शान्तिको तात्पर्य आजभोलि प्रयोगमा आएजस्तो कदापि होइन, छैन। बौद्ध धर्मदर्शनको उद्देश्य त्यस्तो शान्ति होइन पनि। बुद्धलाई ‘शान्तिको दूत’ भन्न मन पराउनेहरूको शान्तिसम्बन्धी बुझाइ बुद्ध वा बौद्धहरूका लागि शान्ति नै होइन। बुद्धको शिक्षाअनुसार जीवनलाई एउटा निर्दिष्ट लक्ष्यमा लाने क्रममा कतिपय साधना गर्नुपर्ने हुन्छ। हत्याहिंसा, लोभलालच, रागद्वेष, तृष्णाजस्ता कुराहरू साधनाका लागि बाधक हुन्। साधकले ती कुरा छाड्नु पर्दछ। यी कुराहरू छाड्दै जाने क्रममा मैत्री, करुणा, मुदिता र उपेक्षाको भावना विकास हुन्छ। यो साधनाका क्रममा कसैलाई केही हानी हुँदैन। बरु यसले व्यक्ति–व्यक्ति र समाज–समाजबीच मैत्रीपूर्ण सम्बन्ध बढ्ने र समस्याहरूको निराकरण हुने हुन्छ। बरु यसलाई शान्ति भन्न सकिन्छ तर बौद्ध धर्मदर्शनको उद्देश्य यो होइन। यस्तो शान्ति बौद्ध साधनामा स्वतः उत्पादन हुने कुरा हो। यस अवस्थामा बुद्धलाई ‘शान्तिको दूत’ भन्नु कुन मात्राको गल्ती हो भन्ने कुरा स्पष्ट हुन्छ।
साहित्य लेखन गम्भीर कर्म हो। सम्वेदनशील पनि छ। अत्यन्तै भावुक बन्नु, कपोलकल्पनामा रम्नु र त्यसलाई शब्दमा उतार्नु साहित्य सिर्जना होइन। यसले सही सूचना, तथ्य, तर्क र विचारको पनि माग गर्दछ। यस अवस्थामा बुद्ध वा बौद्ध धर्म–दर्शनको ‘फ्लेबर’ दिने हो भने यसका बारेमा अध्ययन गर्नु पनि उत्तिकै जरुरी हुन्छ। समग्रमा भन्नुपर्दा नेपाली साहित्यले बौद्ध सन्दर्भमा आत्मसमीक्षा गर्नुपर्ने स्थिति छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया दिनुहोस्