Light Nepal

समृद्ध कोहलपुर, राम्रो कोहलपुर बनाउन मेरो उम्मेदवारी : खिलप्रसाद भुषाल

खिलप्रसाद भुसाल 

नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार, कोहलपुर नगरपालिका

तपाईंको उम्मेदवारी किन ?

कोहलपुर नगरपालिकामा सुशासन कायम गर्न, भ्रष्टाचारमुक्त नगर स्थापित गर्न, स्थानीय तह समृद्धिका लागि मेरो उम्मेदवार हो । मैले चुनावमा आफ्ना प्रतिबद्धता सार्वजनिक गरिसकेको छुँ ।

समृद्ध कोहलपुर, राम्रो कोहलपुर बनाउन मेरो समेत मैले उम्मेदवारी भएको हुँ । मतदाताले मत दिएर विजयी गराउनुभएमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केन्द्रका रुपमा रहेको कोहलपुरमा सुशासन, नैतिकता र अनुशासन, पारदर्शिताको सन्देश प्रवाह गर्ने गरि समृद्ध कोहलपुर बनाउन आम जनताको साथ लिएर अगाडी बढ्छु ।

तपाईंका योजना के–के हुन् ?

चुनावमा मैले कोहलपुरमा गर्ने कामहरुका योजना अगाडि सारेको छुँ । निर्वाचन भएर गइसकेपछि अन्य योजनासमेत आवश्यतानुसार थप हुन्छन् । विकास निर्माणमा गुणस्तरीय काम गर्ने मेरो योजना छ ।

म निर्वाचन भएपछि कोहलपुरमा विकास निर्माणका काम गर्दा दुई-चार महिना मात्र टिक्ने विकास हुन दिन्न । कोहलपुरलाई शैक्षिक हब बनाउन कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रका लागि विनियोजन गर्नेछुँ । माध्यमिक तहसम्म अनिवार्य निःशुल्क शिक्षा लागू, ‘छोरी पढाउ, छोरी अघि बढाउ’ छात्रवृत्तिसहितको पठनपाठन, सामुदायिक शैक्षिक संस्थाको स्तरोन्नति तथा भौतिक संरचनामा जोड दिइनेछ । यहाँ रहेका अव्यवस्थित बसोबास तथा भूमिहीनलाई लालपुर्जा वितरण गर्न सरकारसँग पहल गर्नेछुँ ।

वैकल्पिक हाइवेको डीपीआर निर्माण, चक्रपथ निर्माणको कामलाई पूर्णता, युवाहरुका लागि स्वरोजगार कार्यक्रमसमेत अगाडि बढाइनेछ । यहाँका सबै क्षेत्रलाई समेटेर कोहलपुरलाई समृद्ध बनाउने गरी योजना अगाडि बढाउँछु ।

जनप्रतिनिधिले कार्यकर्तामात्रै योजना निर्माण गर्छन भन्ने आरोप छ । तपाईं निर्वाचित भएपछि यसलाई कसरी व्यवस्थित गर्नुहुन्छ ?
योजना छनोटका स्पष्ट आधार हुन्छन् । योजना छनोट गर्दा आवश्यकताका आधारमा, योजनासित सम्बन्धित विज्ञको परामर्श र स्थानीय जनताको छलफलका आधारमा छनोट गर्दछौं ।

जनताको आवश्यकतामा आधारित हुने म प्रण गर्न चाहान्छुँ । स्थानीय तहका पहिला जनप्रतिनिधिहरुले यस्तो छबी बनाएका छन् । जनप्रतिनिधि भइसकेपछि हामी साझा व्यक्ति हुन्छौं । सबैको सेवा गर्ने हाम्रो कर्तव्य हुन्छ । योजना निर्माण र कार्यान्वयनमा कसैलाई विभेद गरिने छैन । कसैलाई पाखा लगाउँदैनौं ।

तपाईंले जित्ने आधार के–के हुन् ?

पहिलो आधार भनेको हाम्रो पार्टी एमाले जसले तीन वर्ष देशको नेतृत्व गर्दा स्वाधीनता, स्वाभिमान, आत्मनिर्भरतालाई नेपाली जनतामा स्थापित ग¥यो । दोस्रो कुरा हाम्रो पार्टी संगठन बलियो छ कोहलपुरमा ।

म आफैँ जनताको सेवक हुँ, सुखदुःखमा साथ दिएको छुँ । निर्वाचित भएपश्चात् जनताको सेवक भएर जनताको माग र आवश्यकतानुसार काम गर्नेछुँ । त्यसैले मलाई कोहलपुरका मतदाताले मत दिएर निर्वाचित गराउनु हुन्छ भन्ने कुरामा म ढुक्क छुँ ।

कोहलपुरमा बढ्दो सहरीकरण छ । शुद्ध खानेपानीदेखि, साँघुरा सडक, पार्किङ अभाव, नालीविहीन सडक छन् । यसलाई कसरी व्यवस्थित गरेर लिनुहुन्छ ?

नगरका सम्पूर्ण क्षेत्रलाई जोड्ने तथा समेट्ने गरी बाहिरी र भित्रि चक्रपथको निर्माण गरिनेछ । यसले केही भए पनि सहरभित्रका सडक व्यवस्थित तथा पार्किङको समस्या हल हुन्छ । प्रदेश र संघीय सरकारसँग समन्वय गरेर साँघुरा सडकको स्तरोन्नति गर्नेछौं ।

पछिल्लो समय समस्याको रुपमा देखिएको सवारी पार्किङलाई सरकारी जग्गा खोजेर त्यसमा पार्किङस्थल बनाइनेछ । कोहलपुरमा निर्माण भएका पक्की सडकमा व्यवस्थित नाका नभएकोले प्राविधिकको सहयोगमा व्यवस्थितरुपले सहज पानी निकास हुनेगरी नाला निर्माण गर्ने योजना अगाडि सार्नेछुँ ।

सिंहदरबार जनताको दैलोमै पुग्यो भनिन्छ तर, घर नजिकै आएको भनिएको सिंहदरबाट नागरिकलाई सामान्य सिफारिस लिनसमेत दुई÷दिन लाग्छ । अन्य काममा त्यस्तै झन्झट छ । यसलाई कसरी सहज र सरल बनाउने योजना बनाउनु भएको छ ?

मैले कोहलपुर नगर प्रमुखको जिम्मेवारी पाएमा प्रत्येक कार्यालय र वडा कार्यालयमा मेरो निगरानी हुनेछ । सेवाग्राहीलाई सहज र सरल तरिकाले सेवा दिने वातावरण बनाउनेछुँ ।

नगरभित्रका सबै कार्यालयमा जनताको गुनासो सुन्न जनगुनासो कक्षसमेत राखिनेछ । यो काम म आफैँले संकलन गर्ने, अध्ययन गर्ने र समाधानका लागि काम गर्नेछुँ । सेवाग्राहीले नगरका कार्यालयमा सेवा लिन आउँदा कुनै दुःख हुन दिने छैन ।

अर्काे कुरा अहिले ज्येष्ठ नागरिकलाई भत्ता प्राप्त गर्न अप्ठ्यारो छ । म ज्येष्ठ नागरिकलाई घरदैलामा नै भत्ता पु¥याउने व्यवस्था गर्नेछुँ ।

सुरक्षाको हिसाबले कोहलपुर अति सम्वेदनशील छ । जनताका घर सुरक्षित छैनन् । जनतामा एकखालको त्रास छ । अब भन्नूस् जनतालाई म सुरक्षित छु भन्ने सहर कसरी बनाउनु हुन्छ ?

नगरका प्रत्येक चोकमा प्रहरी बिट र सीसीटिभी राख्नेछौं । सबै वडामा सकेसम्म प्रहरी कार्यालय स्थापना गर्न पहल गर्नेछौं ।

ईलाका प्रहरी कार्यालय कोहलपुरमा जनशक्ति, आवश्यक पूर्वाधार तथा सवारीसाधनको लागि माथिल्लो निकायमा पहल गर्नेछौं । ट्राफिक व्यवस्थापनको लागि सुर्खेतरोडका केही स्थानमा ट्राफिक प्रहरीसँगको समन्वयमा ट्राफिक लाइट जडान गरिनेछ ।

कोहलपुर औद्योगिक क्षेत्रका रुपमा समेत विकास हुँदैछ । यहाँका उद्योगका क्षमता वृद्धि तथा निरन्तरता र बाह्य लगानी भिœयाउन के गर्नुहुन्छ ?

बिस्तारै कोहलपुर औद्योगिक क्षेत्रका रुपमा विकास भइरहेको अवस्था साँचो हो । नेपालगन्ज, जानकी हुँदै कोहलपुर क्षेत्रमा समेत उद्योगहरु स्थापना हुने क्रमम केही वर्षयता बढिरहेको अवस्था छ । अहिले पनि कोहलपुरभित्रै पनि केही उद्योग छन् । ठूला उद्योगहरु अझै कोहलपुरमा खुल्न सकेका छैनन् । कसैले उद्योग खोल्न चाहेमा नगरपालिकाले समन्वय गरिदिने काम गर्छ ।

सडक निर्माणका काम, नगरपालिकाले लिने करमा छुटलगायतका व्यवस्था गर्ने योजना मैले अगाडि सारेको छुँ । ठूला उद्योग धन्दाका लागि बाह्य लगानीसमेत कोहलपुरमा भिœयाउनुपर्ने आवश्यकता देखिन्छ ।

यसका लागि हामी समन्वय गर्ने मात्र होइन, कोहलपुरमा हामी उद्योग स्थापना गर्ने वातावरण निर्माण गरिदिन्छौं । कोहलपुरमा कसरी बढीभन्दा बढी उद्योग स्थापना गर्न सकिन्छ भनेर यहाँ उद्योग व्यवसायीसँग समेत छलफल गर्नेछौं ।

कोहलपुरमा अर्काे समस्या भनेको, अव्यवस्थित बसोबास हो । धेरै परिवार अझै पनि व्यवस्थित हुन सकेका छैन । अव्यवस्थित बस्तीलाई कसरी व्यवस्थित बनाउनु हुन्छ ?

कोहलपुरमा धेरै अव्यवस्थित बसोबास छ । वर्षौंदेखि यो कुरालाई भोट माग्ने वातावरण बनाएर माथिल्लो तहमा धेरैजना पुग्नुभयो । अव्यवस्थित बसोबासीको अवस्था अहिले पनि उस्तै छ ।

यसलाई मैले नजिकबाट हेरिरहेको छुँ । मैले कोहलपुरको मेयरमा जितेमा सुरुमा नै सरकारसँग स्थायी पुर्जाको लागि पहल थाल्ने योजना बनाएको छुँ । अर्कोपटक अव्यवस्थित बसोबासीलाई पुर्जाको आश्वासन बाँडेर भोट माग्ने वातावरण आउन दिन्न ।

कोहलपुरसँग राष्ट्रिय निकुञ्जसमेत जोडिएको छ । योसँगै कोहलपुरमा कसरी पर्यटकीय गतिविधि बढाउन सकिन्छ ?

कोहलपुर नगरपालिका केही वडाहरु बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । अहिले त्यहाँका नागरिकहरुले निकुञ्जबाट सुविधा पाउनुको साटो दुःख भोगिरहेको अवस्था छ । निकुञ्ज क्षेत्रका जनताहरु खास्सै खुसी हुन सकिरहेको अवस्था छैन ।

अब निकुञ्जबाट प्रभावित क्षेत्रका बासिन्दालाई केही न केही फाइदा पुग्नेगरी योजना बनाउनुपर्छ । बाँके निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकहरुको राम्रो सम्भावना बोकेको छ । निकुञ्जका जनावर र मानवबीचको द्वन्द्व अन्त्य गरेर पर्यापर्यटनसँग जोड्नुपर्छ । बाँके र बर्दिया निकुञ्जको बीचमा कोहलपुर रहेकोले आवश्यक पूर्वाधारहरु निर्माण गरेर पर्यटकीय गतिविधि बढाउन सकिन्छ ।

यसको लागि प्रदेश र संघीय सरकारसँग पनि म निर्वाचित भएपछि कुरा गर्छुं । तीन तहका सरकारको समन्वयमा कोहलपुरमा पर्यटकीय गतिविधि बढाउँछौं ।

किसानहरुको एउटै गुनासो छ, ‘हामी उत्पादन गर्छौ, तर वस्तुले बजार पाउँदैन ।’ किसानले उत्पादन गरेको वस्तुलाई कसरी बजारसम्म पु¥याउने त ?

कोहलपुर धेरैजसो मानिसहरु कृषिमा समेत आबद्ध हुनुहुन्छ । बजार नजिकै भएकोले यहाँ व्यावसायिक तरकारी खेती र पशुपालनको समेत राम्रो सम्भावना छ । व्यावसायिक तरकारी र पशुपालन गर्ने क्रम बढे पनि उत्पादन वस्तुले बजार पाउन नसकेको साँचो कुरा हो ।

किसानले उत्पादन गरेका वस्तुको सहज बजारिकरणको लागि वडाका टोलटोलमा आधुनिक संकलन केन्द्र नगरपालिकाले स्थापना गर्नेछ । किसानले उत्पादन गरेको वस्तुको बिक्रीका लागि स्थानीय सरकारले व्यवस्था मिलाउने छ । नगरभित्र रहेका बाँझो जग्गालाई दुरुस्साहित गर्नको लागि बाँझो जग्गा राख्नेलाई अतिरिक्त कर लगाइने छ ।

नागरिकको महŒवपूर्ण सम्पत्ति भनेको उसको स्वास्थ्य हो । स्वास्थ्यसँग जोडिएका तपाईंका प्रतिबद्धता के–के छन् ?

अहिले निर्माणाधीन १५ बेडको नगर अस्पताल आवश्यक सेवा सुविधासहित सञ्चालनमा ल्याइनेछ । कोहलपुर क्षेत्रमा अहिले पोष्टमार्टम सेवा उपलब्ध नभएकोले नगर अस्पतालबाट नै पोष्टमार्टम गर्ने व्यवस्था मिलाउनेछौं । सबै नागरिकलाई स्वास्थ्य बीमाको व्यवस्था गर्नेछौं भने गरिबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशत बीमा रकम नगरपालिकाले भुक्तानी गर्नेछ ।

घातक स्वास्थ्य समस्याका रुपमा रहेका उच्च रक्तचाप, मुटुरोग, मधुमेह, दम, क्यान्सर, सिकल सेल एनिमिया आदिलगायतका रोगहरुको औषधि, रक्त परीक्षण र स्वास्थ्य जाँच निःशुल्क गराउनेछौं । ज्येष्ठ नागरिक, विपन्न परिवार र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा गराउने मेरो योजना छ । उपचारका लागि नगरभित्र आउने बिरामी कुरुवाको लागि सुलभ सेवा आश्रम सञ्चालन ल्याउनेछौं ।

कोहलपुर पछिल्लो समय विकसित हुँदै गएको सहर हो । यसलाई अझ व्यवस्थित गराउने पूर्वाधारका योजना कस्ता–कस्ता छन् ?
तपाईंले राम्रो प्रश्न गर्नुभयो । पक्कै पनि कोहलपुर विकसित हुँदै गएको सहर हो । विकसित हुँदै गइरहेको कोहलपुरलाई अझ व्यवस्थित गराउनुपर्ने अब आउने जनप्रतिनिधिको दायित्वसमेत रहन्छ ।

कोहलपुर अझै सुन्दर र व्यवस्थित सहरको रुपमा अगाडि बढाउनको लागि विभिन्न योजना अगाडि सारेको छुँ । तीन प्रदेशको केन्द्रमा रहेको सहर भएकोले पनि तीनै प्रदेशको अपनत्व रहने गरी पूर्वाधार निर्माण गर्नुपर्छ । निर्वाचित भएमा सबैको सल्लाह र सुझावका आधारमा कोहलपुरलाई कसरी उत्कृष्ट सहरको रुपमा व्यवस्थित र सुन्दर बनाउन सकिन्छ भनेर काम गर्नेछुँ ।

अन्तमा केही भन्नु छ ?

अन्तमा कोहलपुरवासी मतदातालाई वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन प्रक्रियामा सहभागी हुन हार्दिक अपील गर्दछुँ । तपाईंहरुले अमूल्य मत दिई विजयी बनाउनुभएमा कोहलपुरवासीको सेवकको रुपमा पाँच वर्ष काम गर्ने प्रतिबद्धता जाहेर गर्दछुँ । एकपटक मलाई विश्वास गरी आफ्नो अमूल्य मत सूर्य चिन्हमा दिई अत्यधिक मतले विजयी गराईदिनु हुन कोहलपुरका मतदातालाई हार्दिक अपील गर्दछुँ । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्