Light Nepal

अनुभूतिः छोरीले बाबु नचिन्दा !

कृष्ण संसार

आज पनि आँखामा फिटिक्कै निन्द्रा छैन । मलाई थाहा छ, स्वास्थ्यको लागि दैनिक ६/७ घण्टा सुत्नुपर्छ । म सुत्न नखोजेको पनि होइन ।

अनिदो बस्न त कसलाई पो मन हुन्छ र ? फे’सबुक जबरजस्ती कत्ति चलाउनु ?

यो ब्लक लेख्नुको पछाडिको कारण मलाई निन्द्रा नलाग्नु र शरीर अस्वस्थ्य हुनु पनि हो ।

अहिले मैले ल्यापटपमा लेख्दै गर्दा मेरो भित्तामा झुण्डिएको घडीले साढे बाह्र बजेको संकेत गरिरहेको छ ।

जागिर खाएपछि खटाएको कार्यक्षेत्रमा अवश्य जानुपर्दछ । यसमा दुईमत छैन । करिब १ वर्ष मधेश प्रदेश बारा जिल्लामा काम गरेपछि २०७३ साल वैशाख ७ गतेदेखि यस संस्थामा नयाँ परिवेश, नयाँ अवसर, नयाँ जिम्मेवारी र चुनौतीहरूको सामाना गर्ने आफ्नै इच्छाले पहाडको विकट क्षेत्र मैले नै रोजेको हो ।

फेरि नोकरी भनेको कामको साथ साथै जागिरको दौरान काम गर्दा र सरुवा भएर जाँदा नयाँ नयाँ ठाउँ  मैले देखेको गण्डकी प्रदेश स्याङ्जा जिल्लाको विरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका, पर्वत जिल्लाको पैयुँ गाउँपालिका, लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका, लुम्बिनी प्रदेश गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिका, गुल्मी दरबार गाउँपालिका लगायत अन्य जिल्लाको विभिन्न ठाउँ हेर्ने अवसर पनि हो। विभिन्न जात जाति धर्म भौगोलिक विविधता र प्राकृतिक छटाहरूसँग परचित हुने मौका पनि हो ।

नोकरीको दौरान बाहिर जाँदा र बस्दा एक किसिमको छुट्टै अनुभव र अनुभूति हुने रहेछ तर पारिवारिक पाटो पनि निक्कै कठिन । त्यसमा पनि ३ वर्ष लघुवित्तको नोकरी बाहिर बस्दाको पीडा सम्झँदा जीवनका कैयौं पारिवारिक पाटाहरू छुट्ने रहेछन् ।

मलाई सम्झना छ, जब नेपालमा पहिलो चरणको कोरोना महामारीका कारण सरकारले लक डाउन घोषणा गर्यो त्यसवेला यातायातको साधन नचल्दा तम्घासको प्रशासनबाट अति मुस्किलले आमा बिरामी भएको नाटकीय प्रस्तुतिपछि प्राप्त पास लिई मोटरसाईकलमा १२ घण्टाको यात्रा, २५ ठाउँ जति प्रहरीको चेकजाँच अनी मात्र चाउचाउ र पानी खाएर छ महिनापछि घर आएको तितो अनुभव ।

अनि घरको मूल गेट खोल्दै गर्दा दुई वर्षमा देखेको र छोडेको छोरी विद्या एक्कासी अढाई वर्षमा मलाई देख्दा अपरिचित भनेर भाग्दै डराएर मामुको पछाडि लुकेर एकटक लगाएर हेरिरहेको नमिठो अनुभव । नमिठो लाग्छ जो कोहीलाई आफ्नै छोरीले बाबा नचिन्दा ।

मलाई त्यस ठाउँबाट घर जान एक दिन र आउन पनि पूरै एक दिन लाग्थ्यो । त्यसमा पनि लघुवित्तको नोकरीमा भनेको बेला जान्छु भन्दा कामले गर्दा फुर्सद नमिल्ने हुनाले अक्सर तीनदेखि छ महिनाको बीचमा म घर जान्छु ।

घर जाने भनेसी खुशीहरू नाच्न थाल्थे । भोलि घर जाने भनेपछि त्यो रात कहिले उज्यालो हुन्छ भन्दै निन्द्रा नै लाग्दैन । अझ घरमा रहेकी सानी छोरीको तोते बोली सुन्न पाउने कल्पनाले पनि रमाइलो लाग्दथ्यो।

अस्तिको पल्ट घर जाँदा सानो मनि प्लान्टको बिरुवा नर्सरीबाट ल्याएर रोपेको थिएँ । यात्राका क्रममा त्यो बिरूवा पनि सम्झें- त्यो पनि त बढ्यो होला ! घर पुगेर हेर्दा ओइलिएछ । दिनै पिच्छे पानी पटाउन बिर्सेछन् क्यारे । गुलाफको फूल पनि ओइलिएछ । घरको पर्खाल पनि चर्किन थालेछ ।

सम्झाउने म पनि त घरमा छैन नि ! मैले फोनबाटै भए पनि पानी पटाओ है भनेर सम्झाउनु पर्थ्यो । नोकरीको व्यस्तताले भुसुक्कै बिर्सेंछु। उनीहरूले त्यता ध्यान दिन भ्याएनछन् ।

घरमा रहेकी बुढी आमासँग नजिकको श्री पशुपतिनाथ घुम्ने रहर अनि आमाले २/४ दिन बस्न । गइहाल्ने ? भनि रहँदा म फेरि आइहाल्छु नि आमा ! भनेर मेरो कार्यक्षेत्रमा फर्केको मलाइ अझै सम्झना छ ।

नजिकैको छिमेकी मरेर दु:ख लागेको छ । मलामीसम्म पनि जान पाइनँ। म यहाँ छु । आफन्त नातागोताको घरमा पनि विवाहको चटारो छ । फोनबाट सुन्छु र चित्त बुझाउँछु । यहाँ कोही आफन्त छैनन् । मेरा सबै सम्बन्ध पेशागत हुन । म दिनभरि अफिसमा आउने र बाहिर फिल्डमा भेटिने मानिसहरूसँग रमाउन खोज्छु । प्रत्येक पटक घर ३/४ दिनको छुट्टीमा जाँदा आफ्नै घरमा पाहुना बनेर फर्केको अनुभूति गर्छु।

बिजुलीको बिल नतिरेको ३ महिना भएछ । घर जग्गाको कर नतिरेको महिनौं भएछ । पानीको धारा पनी बिग्रिएको रहेछ । घरको कोठामा रहेको बिजुलीको तार सर्ट भई बत्ती नि नबल्ने भएछ । पंखा पनि बिग्रिएछ । म भने यता अफिसको टार्गेट पुर्याउन तल्लीन छु । पेशागत कर्तव्यलाई नै धर्म मानेर अल्झिएको छु । संस्थाको काम गरेपछि महिनामा तलब आउँछ अनि रासन ल्याएको किराना पसलको मासिक बिल तिरिन्छ । संस्थाले घरको र आफ्नो आवश्यकताहरू पूरा गरिरहेकोमा सन्तोष मानिरहेको छु । संस्थामा मूल्यांकन हुँदा बढुवा भएको छ, यसले मेरो भविष्य उज्ज्वल बनिरहेको ठानेर मक्ख परेको छु।

अफिस त हप्ताको छ दिन त हो तर शनिवार आएपछि उकुसमुकुस हुन्छ। घुम्न जाउँ कहाँ जाउँ ? चित्ताकर्षक ठाउँ पनि त छैन । त्यो १ दिन पनि नुहाउने र लुगा धुने गर्दागर्दै समय बित्छ । उफ ! सम्झँदा पनि साह्रो र गाह्रो महसुस गर्छु । साथी त एकान्तमा केवल भित्ताको घडी भएको छ । घडीको सुई चाँडो घुमे हुने नि ! क्यालेन्डरको पन्ना चाँडो पल्टिए हुने नि !

अब त दशैं आउन एक महिना पनि छैन । घर जाने दिन नजिकिँदै छ । यहाँ बसेको पनि तीन वर्ष भएछ । अब त घर पायक हुने गरी ट्रान्सफर गर्न पाए नि हुने।झट्ट सम्झिएँ कति काम बाँकी छ ।

ट्रान्सफर भएर घर नजिक जान पाए आमालाई तीर्थ लाने थिएँ । सधैं पानी पटाउन पाए  मनिप्लान्ट सप्रिएर आउँथ्यो होला । ओइलिएको गुलाफ ढकमक्क भएर फुल्थे होलान् । अनि अमासँग नजिकै गएर बस्ने थिएँ । आमासँगै नजिकैको पशुपतीनाथ मन्दिर गएर चढाउने थिएँ । अब त छोरीले पनि बाबा खोज्छे । उ सँग साँझमा खेल्ने थिएँ । घरमा बिग्रेका सबै कुरा बनाउने थिएँ । अनि ओइलिएको त्यही मेरो लघुवित्ते (अहिलेको भाषामा बैंकर) परिवार फूल फुलाए जसरी फूलाउने थिएँ ।

  • साङ्केतिक तस्बिरः राजेश घिमिरे

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया दिनुहोस्