Light Nepal

चित्रमा त्रि–आयामिक भ्रम पैदा गर्ने सिद्धान्त ‘ज्या–पू कुञ्जी’ का प्रतिपादकः ९५ वर्षका कलाकार ज्या–पू

ज्ञानेन्द्र विवश

कलाकार गोविन्दनारायण ज्या–पूले सम्पूर्ण जीवन मूर्तिकलामै बिताउनुभयो। जीवनको उत्तरार्धमा उमेरकै कारणले काम गर्न सक्ने अवस्थामा हुनुहुन्न तर उत्साह भने कम छैन। झोँछेँस्थित निवासमा किताब पढ्ने र आफैँले बनाएका कलाकृति नियालेर रमाउँदै उहाँका दिन बित्ने गरेका छन्। रोग खासै केही नभएकाले खानपानमा बारबेर पनि छैन। आगामी साउनदेखि ९६ वर्ष लाग्दै गर्नुभएका ज्या–पू जीवित नेपाली कलाकारमध्ये सबैभन्दा ज्येष्ठ हुनुहुन्छ। वि.सं. १९८४ मा तुलसीनारायण र देवमाया डङ्गोलका जेठा छोराका रूपमा उहाँको जन्म काठमाडौंको भीमसेनस्थानमा भएको हो।

उहाँ वि.सं. २०११ देखि अनवरत रूपमा नेपाल स्काउटसँग पनि आबद्ध रहँदै आउनुभयो। स्काउट छोडेको लगभग अढाइ दशक भयो होला। कला सिर्जनाका अतिरिक्त उहाँ लेखन तथा कला प्रशिक्षण कार्यमा पनि संलग्न रहनुभयो। आधार शिक्षक–शिक्षण केन्द्रमा विद्यालयका शिक्षकहरूलाई ललितकला सम्बन्धी प्रशिक्षण दिनका लागि वि.सं. २००६ देखि सरकारले उहाँलाई ‘मास्टर’ पदमा नियुक्त गर्यो।

आफ्नो नामको पछाडि ‘ज्या–पू’ लेख्नुको कारणबारे उहाँ भन्नुहुन्छ– ‘एकजना विद्यार्थीको निम्तो मान्न गएको थिएँ। घरको बुइँगलमा भोज खाइरहेका वेला कसैले ‘यो ज्या–पूलाई यहाँ कसले आउन दिएको’ भनेर कराए। त्यसपछि मैले आफ्नो थर ‘ज्या–पू’ लेख्न थालेँ। त्यही ‘ज्या–पू’ ले आजसम्म मेरो चिनारी बचाएको छ।’

ललितकला शिक्षण सम्बन्धी तालिम हासिल गर्ने क्रममा छात्रवृत्ति पाई २०१३ सालमा उहाँले अमेरिकाको ओरिगन विश्वविद्यालयमा एक वर्षसम्म अध्ययन गर्नुभयो। आफ्नो नामको पछाडि ‘ज्या–पू’ लेख्नुको कारणबारे उहाँ भन्नुहुन्छ– ‘एकजना विद्यार्थीको निम्तो मान्न गएको थिएँ। घरको बुइँगलमा भोज खाइरहेका वेला कसैले ‘यो ज्या–पूलाई यहाँ कसले आउन दिएको’ भनेर कराए। त्यसपछि मैले आफ्नो थर ‘ज्या–पू’ लेख्न थालेँ। त्यही ‘ज्या–पू’ ले आजसम्म मेरो चिनारी बचाएको छ।’

आफ्नो बाल्यजीवन सम्झिँदै ज्या–पू भन्नुहुन्छ– ‘म किसानको छोरो, छाउनी पछाडिको बाहिटीस्थित खेतमा काम गर्न जाँदा माटाका आकृति बनाउँदै खेल्थेँ। त्यहींदेखि मूर्तिकलाप्रति मेरो रुचि बढ्न थालेको थियो। न्यूरोड पीपलबोट छेउमा रहेको ‘कालो पाठशाला’ बाट मेरो पढाइ आरम्भ भयो। त्यसपछि मेरो पढाइ दरबार हाइस्कुल र जुद्धकला पाठशालामा भयो।’

उहाँको भनाइअनुसार वि.सं. १९९६ मा उहाँ जुद्धकला पाठशालामा भर्ना हुनुभएको थियो। २००२ सालमा कलाकुशल प्रथम श्रेणीमा र अर्को वर्ष मूर्तिकला (भाष्करी) मा कलाप्रवीण परीक्षामा सर्वप्रथम हुनुभयो। मास्टर चतुररत्न त्यो बेलाका नाम चलेका कलागुरु हुनुहुन्थ्यो। ज्या–पू पनि एकदिन चतुररत्नको घर (बसन्तपुर) पुग्नुभयो। पहिले उहाँसँग घरैमा चित्रकारी सिक्न जीवरत्न शाक्य, कालिदास श्रेष्ठ, चन्द्रबहादुर मानन्धरहरू आउने गर्नुहुन्थ्यो। गुरु चतुररत्नले ‘जुद्धकला पाठशाला’ मा पढ्न गएर शैक्षिक प्रमाणपत्र लिनुपर्ने बताएपछि उहाँ सो पाठशालामा भर्ना हुनुभयो।

अङ्ग्रेजी भाषाको ज्ञान लिन उनै गुरु चतुररत्नले उहाँलाई दरबार हाइस्कुलमा भर्ना गर्ने व्यवस्था गरिदिनुभयो। दरबार हाइस्कुलमा कलाशिक्षक चन्द्रमानसिंह मास्के हुनुहुन्थ्यो। केही समयपछि मास्टर तेजबहादुर चित्रकारले कलाको कक्षा लिन थालेको ज्या–पू सम्झनुहुन्छ।

ती दिन सम्झिँदै गोविन्दनारायण भन्नुहुन्छ– ‘मेरा काम देखेर तेजबहादुर निकै प्रभावित हुनुभयो। उहाँले मूर्ति विधामा लाग्न सल्लाह दिनुभयो। त्यसपछि मूर्तिमा बढी ध्यान दिन थालेँ। उहाँले नै मलाई ‘आधार शिक्षक शिक्षण केन्द्र (ताहाचल) मा मास्टर हुन जानू’ भन्नुभयो। त्यहाँ शिक्षकहरूलाई विभिन्न प्रकारका प्रशिक्षण दिइन्थ्यो। त्यहाँ मैले विद्यालयमा पढाउने शिक्षकहरूलाई कला सिकाउने मास्टरको जागिर पाएँ।’

उहाँ भन्नुहुन्छ– ‘कुनै पनि काम गर्न भित्रैदेखि रुचि जाग्नुपर्छ। मूर्ति बनाउने क्रममा मैले स्वाध्यायन पनि प्रशस्त गरेँ।

कलाकार गोविन्दनारायण ज्या–पूको एउटा कला

मानिसका विभिन्न शारीरिक स्थितिको अध्ययन गरेँ। अमेरिकामा अध्ययन गर्न जाँदा मैले मूर्तिरचना विधिबारे अझ राम्रो ज्ञान हासिल गर्ने अवसर पाएँ। त्यहाँ मानव शरीर रचना (ह्युमन एनोटोमी) सम्बन्धी प्रशस्त अभ्यास गराइँदो रहेछ। त्यहाँ ‘न्यूड स्टडी’ गर्ने मौका पाइयो। यो मेरा लागि सर्वथा नौलो र उपयोगी अनुभव थियो।’ आफूले विदेशमा सिकेका कुरालाई कलेज अफ एजुकेशन (लैनचौर) मा अध्यापन कार्य गर्दा उपयोग गरेको उहाँ बताउनुहुन्छ।

चित्रमा त्रि–आयामिक भ्रम पैदा गर्ने सम्बन्धमा आपूmले नयाँ सिद्धान्त प्रतिपादन गरेको उहाँ दाबी गर्नुहुन्छ। आफ्नो यस सिद्धान्तलाई ‘ज्या–पू कुञ्जी’ नाम राखेको पनि उहाँ सगौरव बताउनुहुन्छ। वि.सं. २०२३ सालमा उहाँले ‘चित्रकला विधान’ नामक कलाको व्याकरण पुस्तक प्रकाशन गर्नुभयो। सो पुस्तक कक्षा ६, ७ र ८ का पाठ्यसामग्रीका रूपमा पनि राखिएको थियो। वि.सं. २०११ सालमा उहाँ राष्ट्रिय शिक्षक शिक्षण केन्द्रमा कला प्रशिक्षकका रूपमा नियुक्त हुनुभयो। त्यसको अर्को वर्ष उहाँ कलेज अफ एजुकेशनमा पनि ललितकला विषयको वरिष्ठ प्रशिक्षकमा नियुक्त हुनुभयो। वि.सं. २०१३ सालमा उहाँ ललितकला शिक्षा अध्ययनार्थ अमेरिका पुग्नुभयो। वि.सं. २०२० सालमा उहाँ नेपाल सरकारको गजेटेड प्राध्यापक पदमा नियुक्त हुनुभयो। वि.सं. २०४३ सालमा उहाँ सेवा निवृत्त हुनुभयो। वि.सं. २००९ सालमा नेपाल स्काउट र गाइडको व्याज, झन्डा तथा पोसाकको नमुना तयार पार्नमा आफ्नो भूमिका रहेको उहाँ बताउनुहुन्छ।

उहाँले ‘सुन्दरी’, ‘तेल घसिरहेकी महिला’, ‘दिशासूचक यन्त्र’, ‘दाम्पत्य सम्बन्ध’ आदि शीर्षकका मूर्ति रचनाहरू माटोमा निर्माण गर्नुभएको थियो। त्यस्तै ‘विकलाङ्ग’, ‘जीवनचक्र’ आदि शीर्षकका मूर्ति काठमा बनाउनु भएको थियो। अमेरिका बसाइ ताका त्यहाँ आपूmले ढुङ्गामा पूर्णकदको बुद्धको मूर्ति बनाएको, सय वर्ष पुरानो ओखरको काठमा मूर्ति कुँदेको, राजदरबारमा गई मूर्ति निर्माण गरेको जस्ता सुखद सम्झनाहरू उहाँ सुनाउनु हुन्छ। उहाँले भोगटेको मुढामा राजा त्रिभुवनको आकृति बनाउनुभएको थियो।

प्रा. गोविन्दनारायण ज्या–पूले वि.सं. २०२६ मा भएको पाँचौँ राष्ट्रिय कलाप्रदर्शनीमा मूर्तिकला विधामा प्रथम पुरस्कार पाउनुभएको थियो। २०७० सालमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उहाँलाई ‘ललितकला सम्मान’

प्रदान गरेको थियो। वि.सं. २०७५ सालमा उहाँ ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ द्वारा सम्मानित हुनुभएको थियो। यी मुख्य सम्मान र पुरस्कारहरू बाहेक अन्य विभिन्न संघसंस्थाहरूबाट पनि उहाँ उत्तिकै सम्मानित व्यक्ति हुनुहुन्छ। कलाबाहेक उहाँको अभिरूचिका धेरै क्षेत्रहरू छन्। खेलकुद, यात्रा, अनुसन्धान, सङ्गीत आदि उहाँलाई निकै मन पर्छ। उहाँले दुईपटक विश्वको परिक्रमा गरिसक्नुभएको छ। सो भ्रमणको प्रमाणस्वरूप उहाँसँग प्रमाणपत्रसमेत सुरक्षित छ।

तस्बिरहरूः ज्ञानेन्द्र विवश

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया दिनुहोस्