Light Nepal

संकटको भूमरीमा नेपाली फुटबल

काठमाडौं । नेपाली फुटबलमा धेरै समस्याहरू रहँदै आएको कुरा कुनै नौलो विषय थिएन।अभाव र बेथितीका साथै अन्य धेरै कमीकमजोरीसँगसँगै हुर्किएर नेपाली फुटबल आजको स्थितिसम्म आइपुगेको कटु यथार्थलाई नकार्न सकिँदैन।तर पछिल्लो समय देखिएको विवादले भने नेपाली फुटबल क्षेत्रको चरम बेथिती र समस्याहरूलाई सबैसामु छताछुल्ल पारिदिएको छ।यसले नेपाली फुटबलको वास्तविक स्थितिलाई उदाङ्गो बनाइदिएको छ।

नेपाली फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आगमनसँगै नेपाली फुटबल सही दिशातर्फ अघि बढेको सबैले अनुभव गरेका थिए।उनकै प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न सफल भएको थियो।यसका लागि उनले राम्रै वाहवाही पनि पाउँदै आएका थिए।तर उनी नेपाल आएदेखि नै विभिन्न विवादहरूमा समेत मुछिँदै आएका थिए, पछिल्लो घटनाक्रमलाई त्यसैको कडीका रूपमा लिन सकिन्छ।

खेलाडीहरूले खाने र बस्नेजस्तो सामान्य तर आधारभूत विषयमाथि असन्तुष्टी व्यक्त गर्दा राष्ट्रिय टोलीको क्याम्प नै छाड्न वाध्य पारिएको आरोप प्रशिक्षकमाथि लगाएका छन्।नेपाली टोलीमा किरण चेम्जोङ्गपछिका सबैभन्दा सिनियर खेलाडी रोहित चन्दले अल्मुताइरीसमक्ष खाने र बस्ने ठाउँको विषयमा असन्तुष्टी जनाउँदा उनलाई जबर्जस्ती क्याम्प छोड्न वाध्य पारिएको बताइएको छ।

त्यसपछि रोहितको समर्थन गर्दै टोलीका अन्य ९ खेलाडीले समेत प्रशिक्षण क्याम्प छाडेर बाहिरिएका थिए।त्यसरी क्याम्प छाड्ने खेलाडीहरूमा रोहित चन्दसँगै विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विमल घर्तीमगर आदि रहेका छन्।क्याम्प छाडेको भालिपल्ट ती दश खेलाडीले पत्रकार सम्मेलन नै आयोजना गरेर अल्मुताइरीविरुद्ध उभिएका छन्।उनीहरूले सार्वजनिक रूपमै अब अल्मुताइरीको प्रशिक्षणमा खेल्न नसकिने अभिव्यक्ति दिएका छन्।

खेलाडीहरूले पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीमाथि थुप्रै आरोप लगाएका छन्।उनले अनावश्यक कुराहरूमा समेत खेलाडीहरूलाई नियन्त्रणमा राख्न खोजेको, खेलाडीहरूको व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप गरेको र तानाशाही चरित्र प्रस्तुत गरेका कारण उनले प्रशिक्षणमा बोलाइहाले पनि अब उनको प्रशिक्षणमा खेल्न गाह्रो हुने बताएका छन्।

यता प्रशिक्षक अल्मुताइरी पनि ‘विद्रोह’ गरेका खेलाडीहरूलाई कुनै पनि हालतमा टोलीमा फिर्ता नबोलाउने पक्षमा रहेका देखिन्छन्।उनले सार्वजनिक रूपमै आफू यहाँ रहुञ्जेल क्याम्प छाडेर बाहिरिएका खेलाडीहरू टोलीमा फिर्ता नहुने बताउँदै १७ नयाँ खेलाडीहरूलाई समावेश गर्दै बन्द प्रशिक्षण शुरू गरिसकेका छन्।

हाल माल्दिभ्समा लिग फुटबल खेलिरहेका नेपाली टोलीका कप्तान किरण चेम्जोङले सामाजिक सञ्जालमार्फत मार्फत आफू खेलाडीहरूको पक्षमा भएको बताएका थिए।प्रशिक्षक अल्मुताइरीले प्रशिक्षणमा बोलाएका अर्का गोलकिपर विकास कुथुले समेत अहिलेको अवस्थामा टिममा समावेश हुन नसक्ने बताएपछि राष्ट्रिय टोलीलाई अनुभवी गोलरक्षकको अभाव हुने देखिसकिएको छ।यो अभाव पूर्ति गर्न भारतीय आर्मीबाट खेल्ने भविन्द्र मल्ल ठकुरीलाई नेपाली टोलीमा समेट्न प्रयास भइरहेको समाचार समेत बाहिरिएको छ।

यस्ता किसिमका कुनै पनि घटना नेपाली फुटबलको भविष्यका लागि पक्कै पनि राम्रो संकेत होइन।यसै पनि समस्याग्रत नेपाली फुटबललाई यसले अझै ठूलो संकटको भूमरीमा फसाउने निश्चित छ।

खेलाडीहरूमाथि प्रश्न

यो घटनाले नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूले कस्ता–कस्ता विषयहरूका बारेमा सोचेर बस्नु परिरहेको रहेछ भन्ने एउटा गम्भीर प्रश्न बाहिर ल्याइदिएको छ।देशको प्रतिनिधित्व गर्ने खेलाडीहरूले बस्ने र खाने कुराहरूकै लागि संघर्ष गर्नुपर्ने अवस्था भएपछि उनीहरूबाट कसरी ठूला कुराको आशा गर्न सकिन्छ।

यस प्रकरणले राष्ट्रिय टोलीका सिनियर खेलाडीहरूमा अनुशासनको कमी रहेको देखाएको छ।खेलाडीको खाने–बस्ने वा अन्य सेवा–सुविधाको जिम्मेवारी प्रशिक्षकको होइन, एन्फाको हो।त्यस्ता आधारभूत कुराहरूको समेत व्यवस्थापन गर्न नसक्नु अखिल नेपाल फुटबल संघ (एन्फा)को कमजोरी हो।तर खेलाडीहरूले प्रशिक्षकसामु आफ्नो समस्या राखेर कुनै अपराध भने पक्कै पनि गरेका थिएनन् जसका कारण यत्रो ठूलो विवाद उत्पन्न भएको छ।त्यसका पछाडि अरू नै केही कारण लुकेको भए त्यसको छानबिन हुनु आवश्यक छ।

हिजोका दिनसम्म नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका अधिकांश खेलाडी अहिले टोली बाहिर छन्।वर्तमान अवस्थामा पक्कै पनि यी खेलाडीहरू नेपालकै उत्कृष्ट खेलाडीहरूमा पर्दछन्।टोलीबाट बाहिरिएका रोहित चन्द र किरण चेम्जोङलाई छाड्ने हो भने बाँकी सबै युवा खेलाडी छन्।यी युवा खेलाडीहरूको सम्मिश्रणमा नेपाली टोलीले एउटा आकार लिनै लागेको देखिएको थियो।

तर एकाएक यी खेलाडीहरूको बर्हिगमनले उनीहरूको खेल भविष्यनै दाउमा परेजस्तो देखिन्छ।एकातिर अब के हुने हो भन्ने अन्यौलताका कारण यी खेलाडीहरूले अहिले ठूलो मानसिक दवाव खेप्नु परिरहेको छ भने अर्कातिर उनीहरू कसैसँग खुलेर कुरा गर्न समेत सकिरहेका छैनन्।’विद्रोही’ को ट्याग झुण्ड्याइएका सबै खेलाडीहरू पत्रकार सम्मेलनको दिनदेखि बाहिरी सम्पर्कमा पनि छैनन् र उनीहरूका तर्फबाट थप प्रतिक्रिया समेत केही आएको छैन ।

प्रशिक्षकको कार्यशैलीमाथि प्रश्नचिन्ह

एन्फाले २०२१ को अप्रिल महिनामा अल्मुताइरीलाई नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको पदमा नियुक्त गरेको थियो।तर उनले एन्फाभित्रको चरम राजनीतिका कारण आफूले मानसिक दवाव भोग्नु परिरहेकाले यहाँ काम गर्न नसक्ने बताउँदै फेसबुकमार्फत एकतर्फी रूपमा राजिनामा दिएर स्वदेश फर्किएका थिए।एकपटक नेपाली टोलीको नेतृत्व सम्हालेर स्वदेश फर्किएका कुवेती नागरिक अब्दुल्लाह अल्मुताइरीलाई एन्फाले विशेष आग्रह गरेर २०२१ को अक्टोबरमा पुनः दुई वर्षका लागि नेपाली टोलीको प्रशिक्षणको जिम्मा दिएको थियो।

आफ्नो पहिलो कार्यकालमा नै उनले आफ्नो विशेष छाप छोड्न सफल भएका कारण उनलाई पुनः नेपाल बोलाइएको थियो।२८ वर्षमा पहिलोपटक नेपाललाई साफ च्याम्पियानशीपको फाइनलमा पुर्‍याएका अल्मुताइरीको उपस्थितिले नेपाली फुटबलले सही बाटो समात्ने अपेक्षा गरिएको थियो।तर अल्मुताइरीके कार्यशैली हेर्दा नेपाली टोलीको जिम्मा दिन एन्फाले उनलाई विशेष अधिकार नै दिनुपरेको थियो कि भन्ने आशंका अहिले उत्पन्न भएको छ।

हाल टोलीबाट बाहिरिएका खेलाडीले प्रशिक्षकले स्वेच्छाचारी ढंगले मनोमानी गरेका कारण आफूहरू अन्यायमा परेको बताएका छन्।उनीहरूले प्रशिक्षकका कारण आफूहरू ठूलो मानसिक दवावमा परेका कारण क्याम्पबाटै बाहिरिनु परेको आरोप लगाएका छन्।यदि यो कुरा सत्य हो भने त्यसको पनि छानबिन हुनुपर्छ र उनी दोषी देखिए उनीमाथि पनि कार्बाही हुनुपर्छ।आफूलाई मन लागेको समयमा खेलाडीलाई टोलीबाट निकाल्ने र आफ्नै कुरा मात्रै सही हुनुपर्छ भन्ने अधिकार त प्रशिक्षकलाई पनि नहुनुपर्ने हो !

अल्मुताइरीको नेपाल आगमनपछिका घटनाक्रमहरूलाई हेर्दा उनको दुईथरि रूप देख्न पाइएको छ।उनी बारम्बार नेपाली फुटबललाई माया गर्छु भन्न पछि पर्दैनन् तर उनले नेपाली फुटबललाई आफ्नो बोली अनुसार सम्मान दिन नसकेको स्वयम् उनका व्यवहारहरूबाट प्रस्ट हुन्छ।सधैँ नयाँ र प्रतिभाशाली युवा खेलाडीहरूलाई प्रोत्साहन गर्ने, उनीहरूलाई ‘एक्सपोजर’ प्रदान गर्ने अल्मुताइरी एक क्षण पनि नसोची उनीहरूकै भविष्यमाथि खेलवाड गर्न पनि पछि पर्दैनन्।आफ्नो हकका लागि लड्नु पर्छ भनेर खेलाडीहरूलाई शिक्षा दिने अल्मुताइरीसमक्ष जब खेलाडीहरूले आफ्नो हकको कुरा राखे, उनीहरूलाई टोलीबाटै निष्कासन गर्ने निर्णय गरेर उनले द्वैधचरित्रको प्रदर्शन गरिरहेका छन्।

अल्मुताइरी शुरूदेखि नै विभिन्न किसिमका विवादमा फस्दै आइरहेका छन्।एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गसँग अल्मुताइरीको सम्बन्ध उनको पहिलो कार्यकालकै समयमा बिग्रिएको थियो।रोहित चन्दसँगको उनको मतभेदलाई सामाजिक सञ्जालहरूमा त्यस घटनासँग पनि जोड्न खोजिएको छ।सम्पूर्ण देशले नै सम्मान दिएर राखेको विदेशी प्रशिक्षकले आफ्नो प्रतिष्ठाको बारेमा पनि ख्याल राख्न जरुरी देखिन्छ।तर यदि उनले गलत ढंगमा काम गरिरहेका छन् भने अब उनको नेपाल बसाइँ धेरै लामो नहुने भने निश्चित छ।

एन्फाको भूमिकामाथि प्रश्नै–प्रश्न

यो सम्पूर्ण प्रकरणले अखिल नेपाल फुटबल एशोसिएसन (एन्फा)ले कुन ढङ्गले काम गरिरहेको छ भन्ने कुरा प्रष्ट पारेको छ।खेलाडीहरूको खाने र बस्ने जस्तो आधारभूत कुराहरूको व्यवस्था त गर्न नसक्ने संस्थाले कसरी फुटबलको विकास गर्न सक्छ भन्दै अहिले एन्फाको कार्यशैलीमाथि चारैतिरबाट प्रश्न उठाउन थालिएको छ ।

अहिलेको समस्या समाधान गर्नेतर्फ आवश्यक पहल गर्नसमेत एन्फा चुकेको देखिएको छ।एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले समस्या समाधानको प्रयत्न भइरहेको बताए पनि के–कस्ता प्रयत्नहरू भइरहेका छन् भन्नेबारे प्रष्ट पारेका छैनन्।अध्यक्ष शेर्पाले आगामी असार महिनामा एन्फाको कार्यसमितिको निर्वाचन हुन गइरहेको र सबै त्यसैमा व्यस्त रहेकाले केही समय लाग्ने बताउँदै समस्या समाधानको प्रयास जारी रहेको भन्नु भएको छ।

यता एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ सहित चार पदाधिकारीले एन्फाको कार्यसमितिको बैठक बस्न माग गर्दै शुक्रवार एन्फामा पत्र दर्ता गरेका छन्।तत्काल बैठक बोलाएर अहिलेको समस्या समाधान गर्नुपर्ने उनीहरूको माग छ।तर अध्यक्ष कर्माछिरिङ शेर्पाले चुनावको मुखमा तत्काल बैठक बोलाउन नसकिने संकेत गरेका छन्।

यी सबै परिदृश्यहरूलाई हेर्दा अहिले देखिएको समस्या समाधान गर्नेतर्फ एन्फाले पर्याप्त प्रयास गर्न नसकेको हो वा अन्य कुनै कारणले एन्फा समस्या समाधानतर्फ उदासिन रहेको हो भन्ने प्रश्न खडा भएको छ।समस्या समाधान गर्नेतर्फ एन्फा लगायत सबै पक्षले तत्काल सकारात्मक पहल नथाले नेपाली फुटबल बर्बादीको भूमरीमा नजाकिएला भन्ने सकिने स्थिति छैन ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया दिनुहोस्