Light Nepal

नेपाली कलाका एक सुनाम : वरिष्ठ कलाकार नरोत्तमदास श्रेष्ठ

ज्ञानेन्द्र विवश |
नरोत्तमदास श्रेष्ठ– नेपाली कलाका एक सुनाम । वरिष्ठ कलाकार श्रेष्ठ कवि, कलासङ्कलक र ग्यालरी सञ्चालकका रूपमा समेत परिचित थिए । उनको अवसानसँगै उनका कामको समेत सम्झना ओझेलिँदै गर्दा प्रस्तुत गरिएको छ– यो सानो र सङ्क्षिप्त स्मृति–अभिलेख । उनको निजी निवास हरिहर भवनमा भेट्दा उनी ९२ वर्षको उमेरका थिए । उनको जन्म १९७८ सालको जेठ महिनामा काठमाडौंस्थित झोंछे टोलमा भएको थियो । पिता भगवानदास श्रेष्ठ र माता जनकमाया श्रेष्ठका जेष्ठ सुपुत्र उनी कलाका अत्यन्त सौखिन व्यक्तित्व थिए ।
उनको घरमा पुग्दा टाढैबाट कलाकृति, बोटविरुवा, बगैंचा आदिको संयोजन देखिएको थियो । त्यहाँ मैले अलग्गै कलात्मक र सिर्जनात्मक संसारको अनुभूति गरेको थिएँ । घरका प्रत्येक कोठा, भर्याङ , भित्ता सर्वत्र चित्र तथा मूर्तिकलाले भरिभराउ थिए। दुर्लभ चित्र, मूर्ति, पुरातात्विक सम्पदा आदिलाई कलात्मक फ्रेमले सजाएर राखिएका थिए । उनको घर कला, संस्कृतिको भण्डार र अध्येताका लागि उपयुक्त अध्ययन, अनुसन्धानको थलो बनेको थियो।

वरिष्ठ कलाकार नरोत्तमदास श्रेष्ठ

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशी यही वैशाख ३० गतेदेखि १०३ वर्षमा प्रवेश हुँदै गर्दा लगभग एकै उमेर–समूहका दौंतरी नरोत्तमदास पनि जेठदेखि १०३ वर्षका हुन्थे । तर उनी २०७२ सालमा ९४ वर्षको उमेरमै दिवङ्गत भए । उनी दरबार हाईस्कुलमा जोशीसँगै पढ्ने सहपाठी थिए।
वरिष्ठ कलाकार श्रेष्ठले उहिल्यै राणाकालीन समयदेखि केही वर्ष अघिसम्म सुन्दर दृश्यचित्र र व्यक्तिचित्रहरू सिर्जना गरेका छ। उनले नेपाली जनजीवन र संस्कृति विषयक चित्रहरू बनाएका छन् । पाँच वर्षकै उमेरदेखि चित्रकलामा लागेका उनले कलिलो उमेर छँदै चित्र बनाएर सबैलाई चकित पारेका थिए।
उनले वाणिज्य व्यवसायदेखि न्यूरोडमा ‘इन्दिरा रेष्टुरेन्ट’ समेत सञ्चालन गरे । राणाकालीन समय १९९८ सालमा उनले ‘काठमाडौं आर्ट ग्यालरी’ स्थापना गरेका थिए। कालिमाटीमा खोलिएको सो ग्यालरीमा त्यतिबेला उनीसँग त्यस समयका प्रसिद्ध कलाकार आनन्दमुनि शाक्य, जीवरत्न शाक्य (जुजुरत्न) र दिव्यरत्न शाक्य चित्रकला बनाउन आउँथे । उनीहरूले बनाएका कलाकृति उनी राणादरबारमा लगेर बिक्री गराउँथे। ती कलाकारहरूलाई उनले मासिक तलब दिएर चित्रकलाको काम दिन्थे । रोचक कुरा के भने त्यसका लागि उनले आचारसंहिता अर्थात् नियम नै बनाएका थिए।
सोही निमयमानुसार कलाकारले शनिबारका दिनबाहेक प्रत्येक दिन आएर बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म चित्रकला बनाउनुपर्ने, अन्यत्र काम गर्न जान नपाइने, बढी समय काम गरेको अतिरिक्त पैसा पाइने, आफ्नो शरीरले सकुन्ज्याल त्यत्तिकै ढाक्रे भएर बस्नु नपर्ने, हरेक महिनामा पाइने तलबको पाँच प्रतिशतका दरले कट्टा गरी बचत खातामा राखिने र सो रकम दुई वर्षपछि पाइने, काम गरुन्ज्याल कसैलाई पनि बर्खास्त नगरिने र कलाकारहरूलाई घरेलु काममा कुनै रकमको आवश्यकता परे सो बुझी सहयोग गरिने आदि सम्झौता गरिएको थियो।

वरिष्ठ कलाकार नराेत्तमदास श्रेष्ठको निवासमा उनले जम्मा गरेका चित्र र मूर्तिका अनगिन्ती सङ्ग्रह छन् । कति कृति ठाउँको अभावमा चाङ लगाएर राखिएका छन् । यस्ता कृतिबाहेक टिकट, घडी, मुद्रा आदिसमेत उनका सङ्ग्रहमा छन् । उनको सङ्ग्रहमा रहेका पुराना फर्निचर, कलात्मक ऐना, बुट्टेदार आँखिझ्याल, कुर्सी, टेबुल र आकर्षक फ्रेम आदिलाई हेर्दा उनको सौखको विषय र विधा अनेक क्षेत्रमा फराकिएको थाहा हुन्छ ।

वि.सं. २०५५ सालमा उनको पहिलो जङ्कुसंस्कार कार्य भएको थियो । सोही अवसरमा उनले जीवनसङ्गिनी इन्दिरादेवीको नामसँगै आफ्नो नाम जोडेर ‘नरोत्तमदास–इन्दिरादेवी श्रेष्ठ गुठी’ को स्थापना गरेका थिए । गुठीले चित्रकलाको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने एक प्रतिभाशाली व्यक्तिलाई रु. ५०,००१ रुपियाँ राशिसहितको नरोत्तमदास–इन्दिरादेवी पुरस्कार र सम्मानपत्रद्वारा सम्मानित गरिने परम्पराको थालनी भएको थियो।
नरोत्तमदास मूलतः हस्तकलाका व्यवसायी हुनुुसँगै उनमा अगाध कलाप्रेम थियो । उनी आधुनिकदेखि परम्परागत चित्रकला र पौभाकला समेतका सङ्ग्रहकर्ता थिए । त्यस्तै उनले काष्ठ, धातु आदि माध्यमका मूर्तिकला प्रशस्तै सङ्कलन गरेका थिए । उनको अभिरुचि चित्रकलाका साथै कविता लेखनमा पनि उत्तिकै थियो । उनले लेखेका गीत र कविताका किताब प्रकाशित छन् । झस्केको आवाज (२०४२) र तरङ्गको स्पन्दन (२०५६) उनका प्रकाशित कविताका किताब हुन् ।
कति कलाकृति विदेशिएर हराइ सक्ने थिए । उनले तिनलाई आफैंले किनेर सङ्ग्रह गरिराखे । आज उनले सङ्ग्रह गरेका परम्परागत कलाका अग्रज मानिने कलाकार आनन्दमुनि शाक्यदेखि पछिल्लो पुस्ताका सशक्त पौभाकलाका स्रष्टा उदयचरण श्रेष्ठसम्मका दुर्लभ चित्रहरू सङ्ग्रहित छन् । त्यस्तै सिद्धिमुनि शाक्य, चन्द्रमानसिंह मास्के, बालकृष्ण सम, तेजबहादुर चित्रकार, लैनसिंह बाङ्देल, अमर चित्रकार, उत्तम नेपाली आदिका कलाकृतिहरू पनि सङ्ग्रहित छन् । त्यस्तै उनीसँग चित्रकार जातिले बनाउने परम्परागत कलाका अनेक दुर्लभ चित्रहरू पनि रहेका छन्, जुन निकै ठूलो आकारका छन् । यसबाहेक कसले कहिले बनाएको हो भन्ने कुनै आधिकारिक नाम थाहा हुन नसकेका अज्ञात चित्रकारका चित्रकृतिहरू पनि उनीसँग धेरै छन्।
कलाकार नरोत्तमदास श्रेष्ठले सिर्जना गरेका चित्रकृतिमध्ये मैंयासाहेव र दृश्यचित्रहरू मुख्य हुन्। उनले कल्पनाका आधारमा बनाएको यौटा चित्र अत्यन्त सुन्दर लाग्छ । सो चित्र उनले हाल सोल्टी होटल भएको परिवेशलाई समेटेर रचना गरेका थिए । तत्कालीन काठमाडौंको अवस्थालाई झल्काउने तर आजका पुस्ताले देखेका र विश्वास गर्न नसक्ने दृश्य त्यस चित्रमा देख्न सकिन्छ ।
उपत्यकाको खुला फाँट, खेतबारी, बनजङ्गल र घारीको पृष्ठभूमिमा गाईवस्तु चरनमा रमाइरहेको परिवेश चित्रमा उतारिएको छ । त्यसैगरी उनले बनाएको अर्को उत्तिकै बेजोड चित्र हो ‘केटी जिस्क्याइरहेका मानिस’। यस चित्रमा पहिलेको काठमाडौंको ताजा झलक पनि भल्किन्छ । जस्तो कि पुराना घर, पाटी, खर्पनमा ज्यापूले सामान बोकेर हिँडिरहेका । केटाकेटीहरू बाटोमा खेलिरहेका । हाँस, कुखुरा, यताउता डुलिरहेका कुकुर । डोकोमा सामान बोकेर घर फर्किंदै गरेकी महिला ।
यिनै परिवेशमा पूजा गरेर मन्दिरबाट फर्किदै गरेकी एक युवतीलाई मुख्य पात्रका रूपमा कलाकारले प्रस्तुत गरेका छन् । पाटीमा दौरासुरुवाल, कोट, टोपीमा चिटिक्क परी ठाँट्टिएर बसेका तीन युवाहरू छन् । चित्रको मुख्य आकर्षण भनेको यही तीन युवा र एक युवतीको आकर्षण हो । युवकहरूले युवतीलाई जिस्क्याएको भाव सो चित्रमा उतारिएको छ । चित्रको मूल केन्द्र नै वास्तवमा यही हो । यो चित्र तेलमाध्यममा बनाइएको छ । यो चित्र उनले १९९७ सालमा बनाएका हुन् ।
कलाकार नरोत्तमदास श्रेष्ठले बनाएका अन्य चित्रमध्ये हुक्का तानिरहेको मानिस र हातमा ब्रस लिइरहेको आर्टिष्ट पनि निकै सशक्त लाग्छ । यी चित्र उनले पेस्टल माध्यममा बनाएका हुन् । यससँगै उनले त्यतिबेलाका चर्चित हिरोहिरोइनहरूका अनुहारलाई पनि पेस्टल र पानीरङमा उतारेका छन् । उनले आफ्नी बहिनी मिनौला र दमन श्रेष्ठलाई मोडेल राखेर पानीरङ र तेलरङमा पोट्रेट बनाएका छन् । त्यस्तै पेन्सिल माध्यममा बनाएको बच्चाको चित्र पनि मेहनतिलो काम मान्न सकिन्छ । त्यस्तै अर्को उत्कृष्ट चित्र ‘कमाण्डर इनचिफ बबर शमशेर’ को तेलचित्र हो।
यसैगरी उनले गौचरनमा एयरपोर्ट बनेको केही वर्षपछि बनाएको एक चित्रलाई पनि त्यो बेलाको चिनोका रूपमा लिन सकिन्छ । सो चित्रमा उनले आफ्ना पितामातालाई ढोकाबाट निस्किँदै गरेको पूर्णकद्मा चित्रित गरेका छन् । पानी ल्याइरहेकी महिला र जनजीवन सम्बन्धी चित्रहरू पनि उनका सुन्दर सिर्जना हुन् । २०६६/६७ सालतिर उनले ठूलो क्यानभासमा दुईवटा चित्र बनाउन सुरु गरे । झट्ट हेर्दा ती चित्र रचनाको काम सकिएको जस्तो लागे पनि त्यसमा धेरै काम अधुरै रहेको उनले भेटमा बताएका थिए । त्यसपछि उनी कूची, रङ र क्यानभासबाट टाढै रहे।
उनको निवासमा रहेका चित्र तथा मूर्तिहरूको सङ्कलनको पाटो एकातिर छँदै छ भने अर्कोतिर उनले सिर्जना गरेका चित्रकृतिहरूको दृश्यावलोकन । यी सबैलाई कोठाका बेग्लाबेग्लै स्थानहरूमा राखिएका थिए । तिनलाई हेर्नु र तीबाट विगततिर फर्किएर तत्कालीन समयलाई सम्झिनुको आनन्द पनि अर्कै किसिमको हुन सक्थ्यो । त्यहाँ नेपाली कलासंसारको इतिहास थियो । त्यहाँ नेपाली कलाको कालखण्ड सुरक्षित थियो । त्यहाँ नेपाली कलाका ख्यातिप्राप्त कलाकार र तिनका अमूल्य कलाकृतिहरू अत्यन्त जतनले संरक्षण गरी सजाएर राखिएका थिए । यद्यपि यी सबैका विषयमा बुझ्न र अध्ययन गर्न पर्याप्त समय चाहिन्छ ।
उनको निवासमा उनले जम्मा गरेका चित्र र मूर्तिका अनगिन्ती सङ्ग्रह छन् । कति कृति ठाउँको अभावमा चाङ लगाएर राखिएका छन् । यस्ता कृतिबाहेक टिकट, घडी, मुद्रा आदिसमेत उनका सङ्ग्रहमा छन् । उनको सङ्ग्रहमा रहेका पुराना फर्निचर, कलात्मक ऐना, बुट्टेदार आँखिझ्याल, कुर्सी, टेबुल र आकर्षक फ्रेम आदिलाई हेर्दा उनको सौखको विषय र विधा अनेक क्षेत्रमा फराकिएको थाहा हुन्छ।
नेपाली कलाका एक सुनाम नरोत्तमदास श्रेष्ठको अवसानपछि उनका कलाकृति र स्वयम् उनकै बारेमा पनि कला संसार बेखबर जस्तै भएको देखिन्छ । उनका परिवार खासगरी उनलाई हेरविचार गर्ने उनको भाइका छोरा सञ्जय श्रेष्ठ, जसलाई नरोत्तमदासले छोराका रूपमा लिएका थिए । बुबाको इच्छालाई पूरा गर्न समयले साथ नदिइरहेको सञ्जय बताउँछन् । पुरातात्त्विक अध्ययन र अनुसन्धानका लागि उनको निवास यौटा खुला सङ्ग्रहालय त हुँदै हो त्यसलाई व्यस्थापन गर्दै ‘नरोत्तमदास–इन्दिरादेवी पुरस्कार र सम्मान’ लाई पनि चाँडै निरन्तरता दिइने जानकारी छोरा सञ्जयले दिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया दिनुहोस्