Light Nepal

इजरायल युद्धमा परेकालाई तत्काल स्वदेश फर्काउन सरकारलाई ध्यानाकर्षण

नेपाली कांग्रेस संसदीय दलको बैठकले इजरायल युद्धमा परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

मंगलबार बसेकाे बैठकले तत्काल जोखिममा रहेका मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा राख्ने, खान बस्नको व्यवस्था गर्न, मृतक विद्यार्थीलाई तत्काल नेपाल ल्याउने लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएउने निर्णय भएकाे कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले भने, ‘त्यसको साथै तत्काल जोखिममा रहेका मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा राख्ने, उनीहरूको लागि खान बस्नको लागि उचित व्यवस्था गर्ने, हत्या भएका विद्यार्थीहरूको शरिरलाई तत्काल नेपाल ल्याउने र परिवारलाई बुझाउने, सम्पर्कविहीनको खोजी गरेर अवस्था सार्वजनिक गर्ने र नेपाल आउन चहानेलाई तत्काल स्वदेश फिर्ताको व्यवस्था मिलाउनको लागि सरकारको ध्यानाकर्षण गराएको छ ।’

उक्त बैठकले इजरायलमा ज्यान गुमाएका १० जना नेपालीको शोकमा शोक प्रस्ताव पारित गरेको छ । बैठकपछि प्रमुख सचेतक लेखकले इजरायलमा भएको द्वन्द्वमा परी मृत्यु भएका १० जनाप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको जानकारी दिए ।

उनले भने, ‘इजरायलमा प्यालेस्टाइनी हमास समूहको आतंककारी आक्रमणमा १० जना नेपालीहरूको हत्या भएको छ । नेपाली नागरिक घाईते, सम्पर्कविहीन र जोखिममा रहेको हुदाँ १० जनाको मृत्युप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरेका छौँ । त्यो आक्रमणको निन्दा गरेका छौ ।’

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्