Light Nepal

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट जहाज अवतरण

पोखरा ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पहिलो पल्ट विमान अवतरण भएको छ । योसँगै पोखरेलीको चार दशक लामो सपनाले मूर्तरुप लिएको छ । आगामी साता १ जनवरी, २०२३ देखि औपचारिक उडान तयारी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो बुद्ध एयर र यती एयरलाइन्सले डेमो फ्लाइट (प्रदर्शन उडान) गरेका हुन् ।

दुवैले चालु पुरानो विमानस्थलबाट एटिआर–७२ जहाजमार्फत नयाँ विमानस्थलमा उडान भरेका हुन् । दिउँसो २ बजेतिर यतीले उडान भरेको १ घण्टापछि बुद्धले उडान भरेको हो । दुवै विमान ७० देखि ७२ सिट क्षमताका हुन् ।व्यावसायिक उडान तयारीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण भएपछि पोखरेली खुसी बनेका छन् । प्रदर्शन उडानमा दुवै विमानका यात्रु यहाँका पोखरा महानगरका मेयर, हवाई उड्डयन क्षेत्रका पदाधिकारी, पर्यटन व्यवसायी, संचारकर्मी लगायत थिए ।

डेमो फ्लाइटक्रममा यती र बुद्धका जहाज उडान र अवतरण गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको दुवैतिर (पूर्व र पश्चिम) बाट जहाजको अवतरण गराइएको थियो । पुरानो विमानस्थल र नयाँ विमास्थलको दुरी मात्र ३ किलोमिटर हो ।

नयाँ विमानस्थलमा यति एयरलाइन्सका प्रशिक्षक पाइलट प्रमोद पौडेलले विमानस्थल उत्कृष्ट बनेको बताए । यस्तै, बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले बुद्धले पहिलो पल्ट पोखरा–बनारस–पोखराको उडान गर्न लागेको बताए । उनले सुरुआतमा कम उडान भए पछि मार्चपछि लगातार उडान भर्ने बताउँछन् ।

नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एअरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न यसरी डेमो फ्लाइट गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले बताए । नेपाल नागरिक उयन प्राधिकरण पोखरा कार्यालयका प्रमुख विक्रमराज गौतमले विमानस्थल अब व्यावसायिक उडानका लागि तयार भएको बताए । भविष्यमा दैनिक १८ घण्टा चलाउने लक्ष्य राखिएको भए पनि अहिले दिनमा मात्र उडान हुने उनले बताए । क्यालिब्रेसन फ्लाइटको पूर्ण विवरण आएपछि पोखराबाट हुने गरेका प्याराग्लाइडिङ उडान’bout निर्णय हुने प्राधिकरणले जनाएको छ ।

विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना निर्मित छन् । नयाँ वर्ष १ जनवरी अर्थात् १७ पुसदेखि नयाँ विमानस्थलबाटै साना जहाज, हेलिकप्टर र अल्ट्रा लाइटबाहेक सबै उडान गर्ने तयारी रहेको विमानस्थल प्रमुख विक्रम गौतमले बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकै पहिलो एरोब्रिज रहेको छ । यात्रु यसै एरोब्रिजबाट जहाज चढ्न र झर्न सक्ने छन् । २०७३ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । निर्माण कार्यको थालनी चिनियाँ निर्माण कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ असार २७ बाट गरेको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा विमानस्थलको चाबी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल सरकार र चिनियाँ सरकारको एक्जिम बैंकबीच २१ करोड २९ लाख अमेरिकी डलर लागतमा निर्माण गर्ने गरी २०७२ चैत ८ मा ऋण सम्झौता भएको हो । त्यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सिएएमसी इन्जिनियरिङबीच २०७१ जेठ ८ मा विमानस्थल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्