मलाई समाजको कुरीति र कु–संस्कारले उपन्यासकार बनायो

rupani


काठमाण्डौ बैशाष ३१ -“समाजिक नीति नियम, मूल्य मान्यता र धर्म संस्कृतिको नाममा महिलामाथि हुने विभिन्न विभेदहरुले मेरो मनलाई चिथोरी रहन्थ्यो । यस्को पिडालाई महसुस गर्ने सोंचे र महसुुुस गर्दै लेखें । मैले रहरले हैन कहरले उपन्यास लेखेकी हुँ ।” उपन्यासकार शान्ति लिम्बु ।

लाहुरे परिवारमा जन्मिएकी शान्ति आफ्ना सबै सुख शैयललाई बिर्सिएर कुरिती र कुसंस्कारको आडमा पिडीत बनिरहेका लाखौं महिलाहरुको पिडालाई महसुुुस गर्ने शिलशिलामा उनी आज उपन्यासकार बनेकी छन् । वि.सं. २०४१ सालमा झापामा जन्मिएकी शान्तिको पुर्खेउली घर भने ताप्लेजुङ्गको नाङ्खोलेङ् भन्ने ठाउँमा हो । जुन ठाउँ नेपालकै सबै भन्दा दुर्गम मानिने ठाउँहरुमा पर्दछ । जस्लाई नेपालको भीर जाने ठाउँ भनेर चिनिन्छ रे ।

सुन्दा मात्रै पनि आङ्गै सिरिङ्ग हुने त्यस्तो भीर जाने ठाउँमा शान्तिको जन्म र लालन पालन नभएता पनि तीनै भीर पखेरा र समथर भूभागमा रहेका महिलाहरुको पीडालाई जन्मे हुर्केर नजिकैबाट महसुस गरेको बताउँछिन् शान्ति । “कुनै पनि कुरालाई महसुुस गर्नको लागि आफु नै भुक्त भोगी बन्नु पर्छ यो आवश्यक छैन । अरुको पिडा र कथालाई महुसुुस गर्न सके त्यो जस्तो भयानक पिडा अरु केही पनि हैन । जुन मैले गर्न सकें र उपन्यासको माध्यमबाट ती पिडाहरुलाई प्रस्फुट गराएँ ।” शान्ति भन्छिन् ।

तराईको समथर भू–भागमा जन्मिएर ललितपुरको हावापानिमा हुर्किदै लण्डनमा आफ्ना दिनहरु बिताईरहेकी  शान्तिलाई यस्ता कुनै पनि वातावरणले आफ्नो बसमा पार्न सकेन । बुझिने भाषामा भन्ने हो भने उनलाई भव्य र आलिशान जिन्दगीले साँच्चिकै शान्ति दिएन रे । त्यसैले त शान्ति खोज्नको लागि उनले उपन्यास निर्माण गर्नु प¥यो । शान्ति भन्छिन्–“सम्पन्न परिवारमा जन्म हुनु यस्लाई म मेरो भाग्य भन्न रुचाउँ छु । अबहेलना र दुःखको अनुभुति गर्न नपाउनु मेरो लागि सुखको कुरा हो । तर मेरो सुखमा पनि म कहीं कतै दुखि भईरहन्थें । कारण हो महिलाको संघर्ष र त्यसको मूल्याङ्कन नहुनु ।”

कक्षा सात पढ्दा देखी नै साहित्यमा रुचि भएकी शान्ति यस क्षेत्रमा कलम चलाउन विषेश त साहित्यकार पारिजातबाट प्रभावित भएको बताउँछिन् । शुरुवाती दिनहरुमा कविता र गीतहरु लेख्दै बाल साहित्यकारको रुपमा चिनिएकी शान्तिले समय र उमेर फेरिएसंगै आफ्नो साहित्यिक विधा पनि फेर्न पुगिन् । शान्तिका अनुसार कविता र गीतमा ती सबै कुरा समावेश गर्न सकिंदैन । तर उपन्यासमा सामाजिक परिप्रक्षले सिकाएका वास्तविक कथाहरुलाई व्यापक रुपमा प्रस्तुत गर्न सकिन्छ । जस्लाई बुझ्न पाठकहरुलाई पनि सहज हुनुका साथै मनमा कुन्ठित बनेका कुराहरुलाई लेखकले खुलेर बाहीर पस्कन पाउँछ ।

हामीले प्राय सुनेकै कुरा हो कि साहित्यकार त्यस्ता व्यक्ति बन्न रुचाउँछन् र बन्छन् जो विषेश गरी नेपाली विषयमा अब्बल हुन्छन् । तर शान्तिले यो भनाईलाई पुर्ण रुपमा नकारिदिएकी छन् । लिम्बु परिवारमा जन्मिएकी उनले एस.एल.सी सम्मको पढाई ललितपुरको न्यू लाईफ सेकेण्डरी बोर्डिङ्ग स्कूलमा पुरा गरिन् भने प्लस टू को पढाईलाई ललितपुरकै कुमारीपाटी यूनाईटेड कलेजमा पुरा गरिन् । उच्च शिक्षाका विभिन्न तहलाई पुरा गर्ने शिलशिलामा उनले स्नातक तहको पढाई एडभान्स ईन्जिनिएरिङ्ग कलेज कुपण्डोलमा पुरा गर्र्दै लण्डनमा गएर बिजनेसमा स्नातकोत्तर सम्मको पढाईलाई पुरा गरेकी छन् ।

रुचि र हाँसिल गरेको शिक्षा दुवैको धार फरक हुँदाहुँदै पनि उपन्यासकारले आफ्नो बालापन देखि नै मनभित्र गाडिएको प्रतिभालाई अन्नततः एउटैमा गाँसेर प्रस्फुटन गराएरै छाडिन् । जाहाँ ईच्छा त्याहाँ उपाय भन्ने उखानलाई शान्तिले चरितार्थ पारेकी छन् । रुचिलाई ज्ञानको माध्यमबाट बुलन्द गराउँदै मनभित्र र समाजभित्र गुम्सिएर रहेका कुराहरुलाई समिश्रण गर्दै उपन्यासको नाममा सजाउनु कम्तिको चुनौति होईन ।

श्रीमति, बुहारी र आमा यी विभिन्न परिचयमा सजिएकी शान्तिले घर भित्रको परिवारीक विषय देखि लिएर बाहीरी रुपमा रहेको आफ्नो बिजनेसलाई सम्हाल्दै उपन्यासलाई बजारसम्म ल्याएर पाठकको माझमा पु¥याउनु सानो हिम्मत र चेतनाले हुने काम हैन । यस्तो साहास जो कसैमा सम्भव पनि देखिदैंन । साहित्यको पाटोमा आफुलाई अच्छा खासा साहित्कार भन्न रुचाउने पुरषहरुको मुखबाट म एउटा उपन्यास लेख्दै छु भनेको झण्डै १ दशक पनि बिति सकेको हुनु पर्छ । आजसम्म गतिले उपन्यास लेखेको पाइँदैन । त्यस्ताको लागि महिला उपन्यासकारको रुपमा शान्ति लिमबुको उपन्यास बजारमा आउनु भनेको उनीहरुलाई ठाडो चुनौति दिनु जत्तिकै हो ।

शान्तिको अनुभवमा उपन्यास तयार गर्नु भनेको साेंचेर योजना बनाउनु जत्ति सजिलो पक्कै होईन । त्यसमा पनि घरबारे महिला सर्जकका लागि । “श्रीमान, छोरी, घर र बाहिरी कुरा सबैलाई मिलाएर उपन्यास तयार पार्दा नकै लामो समय लाग्यो मलाई । झण्डै ३÷४ वर्षको फल हो यो मेरो ।” शान्तिले सुनाईन् । “म एउटी छोरीको आमा हुँ र मैले यस्मा आमा छोरीको सम्बन्धलाई समाजसंग जोडेकी छु । फरक यत्ति हो मेरी छोरीसंग उनको बुवा छन् भने उपन्यासको दुईपात्र मिली र जुलीसंग उनीहरुको बुवा छैनन् ।” शान्तिले भनिन् ।

दुईवटा जुम्ल्याहा बालिकाको कथामा आधारित यो उपन्यासले आमाको नामबाट नागरिकता पाउनको लागि गरिने संघर्षको विषयलाई जोडेको छ । विबाह पुर्व नै प्रेम सम्बन्धबाट जन्मिएका दुई बालिका मिली र जुलीलाई समाजले हेर्ने नजर र उनीहरुले समाजमा सम्मान पुर्वक बाँच्नका लागि गरेको संघर्षको कथालाई निकै मर्मीक तरिकाले बयान गरिएको छ । पारु र आकाशको अनैतिक सम्बन्धबाट जन्मिएका यी दुई मिली र जुलीले कसरी समाजको मूल्य मान्यता र रहन सहनसंग लडदै आफ्नो आधिकार स्थापित गरिनु पर्छ भन्ने कुरा उपन्यासमा देखाईएको छ ।

सुखान्तमा अन्त्य गरिएको यो उपन्यासले विभिन्न पिडामा रुमलिएका महिला र बालिकाहरुलाई संघर्ष गर्न सिकाएको छ । हार मानेर होईन निरन्तर लड्दै जीत हाँसिल गर्न उर्जा प्रदान गरेको छ । यस उपन्यासको मुख्य मियो भनेको एकल महिला, महिला र उसको संघर्ष अनि सफलतामा आधारित छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com