यसकारण सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलद्वारा सीमामा संयुक्त गस्ती

लाइट नेपाल

बाँके – नेपाल–भारत सीमा क्षेत्रमा बिहस्बार संयुक्त गस्ती भएको छ । नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल एसएसबीले संयुक्त गस्ती गरेका हुन् । बिहीबार सीमा अपराध नियन्त्रण र सीमा स्तम्भ रेखदेखका लागि पिल्लर नम्बर २६ देखि ३० सम्मको सीमावर्ती क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र एसएसबीले संयुक्त गस्ती गरेको सशस्त्र प्रहरी बल कालाबञ्जरका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो ।


सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्र नगर सुरक्षा पोष्ट कालाबञ्जर र भारतको सीमा सुरक्षा बलको कम्पनी हेडक्वार्टर मुन्सीपुर्वाका १३÷१३ जना सुरक्षाकर्मीको टोलीले बिहीबार संयुक्त गस्ती गरेको हो । संयुक्त गस्ती टोलीमा नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक कुँवर र भारतीय एसएसबीको नेतृत्व निरीक्षक तेजवन्त सिंहले गर्नुभएको थियो । सीमा ईलाकाको रेखदेख तथा सीमा अपराध नियन्त्रणका लागि नियमित संयुक्त गस्ती गरिँदै आइएको सशस्त्र प्रहरी निरीक्षक कुँवरले बताउनुभयो ।सीमा क्षेत्रमा संयुक्त गस्तीहरु यसअघि पनि पटक–पटक हुँदै आएकोमा यसपटक नेपालमा स्थानीय तहको चुनावलाई लक्षित गरी गरिएको हो । नेपालमा हुन लागेको पहिलो चरणको स्थानीय चुनावलाई सुरक्षित, मर्यादित र पारदर्शी बनाउनका लागि सीमामा बिशेष निगरानी गर्नुका साथै संयुक्त गस्ती गर्न थालिएको सुरक्षा निकायले जनाएको छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com