यस्तो छ युद्ध लड्दैं हिडेको समयमा बाबुरामले छोराी मानुषीलाई लेखेको जनयुद्धकालीन पत्र

लाइट नेपाल

काठमाडौं, ९ बैशाख । दश वर्षे जनयुद्धमा होमिएका बाबुराम भट्टराईले जनताका छोराछोरीलाई काँधमा बन्दुक बोक्न लगाए । तर आफ्नो छोरी मानुषी यमी भट्टराईलाई महँगो स्कुलमा पढ्न लगाए भन्ने युद्धकालमा निकै ठूलो आरोप लाग्ने गर्दथ्यो । कालान्तरमा व्यवहारले पुष्टि नै गर्यो । उनले माक्र्स, लेनिन र माओको बाटो आफ्नो ‘पोलिटिकल क्यारियर’ कमाउन मात्र केही समय मात्र पकडेका रहेछन् भन्ने कुरा पनि पुष्टि भएको छ । खैर, युद्धकालमा बाबुरामले आफ्नो छोरी मानुषीलाई लेखेको पत्रबाट पाठकलार्इ केही ज्ञान मिल्न सक्छ भनेर सो पत्र प्रस्तुत गरेका छौं । बाँकी बाबुरामको पत्रबाट‘।

प्यारी छोरी अस्मिता,

तिमीले छुट्टीपछि लेखेको चिठी पढ्ने अवसर पाएँ। तिमीले छुट्टी राम्ररी बिताएको कुरा सुन्न पाउँदा असाध्यै खुसी लाग्यो। अव त तिम्रो स्कुल र पढाइ सुरु भयो भन्ने होला भन्ने विश्वासमा छु। मार्च महिनामा सायद तिमीलाई भेट्ने अवसर मिल्छ कि भन्ने सम्भावना त छ। तर म चाहिँ कामले भ्याउँछु कि भ्याउन्न ठेगान छैन। आमा चाहिँ अवश्य एक पटक आउनेछिन्।

तिम्रो सोहैं जन्मोत्सवको उपलक्ष्यमा मैलै तिमीलाई दुई वटा किताब किनेको छु। आमासँग वा अन्य कसैसँग छिट्टै पठाइदिनेछु। तीमध्ये पहिलो किताब Galileo’s Daughter हो र दोस्रो चाहिँ स्टालिनकी छोरी स्वेतलानाले आफ्नो बाबुको बारेमा चिठीको शैलीमा लेखेको Letters to a friend हो। यी दुई किताव बेग्लाबेग्लै ऐतिहासिक सन्दर्भ र विषयमा लेखिएका भए पनि तिनले तिमीलाई मदत नै गर्नेछन्। तिमीलाई थाहै छ, ग्यालिलियो आधुनिक विज्ञानका पिता नै मानिन्छन्। उनले नै पहिलो पटक टेलिस्कोपको माध्यमबाट विश्व ब्रह्माण्डलाई ठीकसँग बुझ्ने र बुझाउने काम गरेका थिए।

त्यसैको जगमा उभिएर न्युटन, आइन्सटाइन र अहिले स्टेफन हकिङसम्मले ब्रह्माण्डका गतिका नियमहरु पत्ता लगाउने काम गरेका थिए र गरिरहेका छन्। त्यसैले Galileo’s Daughter ले ग्यालिलियोको जीवन उनकी छोरीले लेखेका चिठीहरुको आधारमा बुझ्न मद्दत गर्छ। त्यसमा मुख्यरूपले विज्ञान र धर्मशास्त्रको बीचमा सत्रौ शताब्दीमा चलेको द्धन्द्धको राम्रो झल्को मिल्छ। साथै त्यसमा एउटा वैज्ञानिक बाबु र छोरीको बीचको सम्वन्ध कस्तो थियो र सत्रौ शताब्दीमा महिला र पुरुषबीचको भेदभावको प्रकृति कस्तो थियो भन्ने पनि राम्रोसँग वर्णन गरिएको छ। यो कितावले तिमीलाई भौतिक विज्ञानको विकासबारे बुझ्न पनि मदत गर्नेछ।

अर्को, स्टालिनकी छोरी स्वतेलानाले लेखेको किताबले चाहिँ समाज विज्ञानको क्षेत्रमा एक महान् व्यक्ति स्टालिनको पारिवारिक जीवन बुझ्न मदत गर्छ। तिमीलाई थाहै छ– लेनिनको मृत्युपछि रूसमा समाजवादी (वा कम्युनिष्ट) व्यवस्था निर्माण गर्न स्टालिनको ठुलो भूमिका थियो। तर स्टालिनमा पछि माओले भने झैं केही यान्त्रिक ढङ्गले सोच्ने कमजोरी पनि थियो। त्यो कुरा उनको पारिवारिक जीवनमा पनि झल्किन्छ। त्यसैले उनको आफ्नो परिवारमा श्रीमती र छोराछोरीसँग त्यति राम्रो सम्वन्ध रहन सकेन।

उनकी श्रीमतीले त्यही कारणले आत्महत्या गर्न पुगिन् भने उनकी छोरी स्वेतलाना पछि आफ्नै बाबुको विरोधमा उभिन पुगिन्। उनका छोरा भने दोस्रो विश्वयुद्धमा जर्मनहरुको कब्जामा परेर मारिएका थिए। जे भए पनि स्टालिन एउटा महान् मान्छे हुनुहुन्थ्यो र वहाँका कमजोरी गौण पक्ष थिए। त्यसैले माआले पछि स्टालिनका ७० प्रतिशत राम्रा पक्ष र ३० प्रतिशत नराम्रा पक्ष थिए भनेर मूल्याङ्कन गर्नुभएको थियो। त्यसरी हेर्दा स्टालिनकी छोरी स्वेतलानाले आफ्नो बाबुको मृत्युपछि बाबुका नकारात्मक कुरालाई बढी उचालेर प्रतिक्रियावादीहरुलाई कम्युनिष्टहरुको बदनाम गर्न जुन सहयोग पुर्‍याइन् त्यो धेरै नराम्रो कुरा हो। यो किताबमा स्टालिनका राम्रा कुरा भन्दा नराम्रा कुरा धेरै भएकाले त्यसलाई पुरै समर्थन गर्न सकिँदैन र तिमीले पनि आलोचनात्मक ढङ्गले यो किताबलाई पढ्नेछौ भन्ने विश्वास छ। यसबाट ठूला मान्छेमा राम्रा मात्र होइन, कतिपय नराम्रा गुणहरु पनि हुन्छन् र हामीले नराम्रो कुरा छाडेर राम्रा कुरा मात्र सिक्नुपर्छ भन्ने पाठ मिल्दछ।

त्यसैले यी दुई किताबमध्ये एउटाले प्रकृति विज्ञान र अर्कोले समाज विज्ञानको इतिहास बुझ्न र ठूला मानिसहरुको पारिवारिक जीवन कस्तो हुन्छ भन्ने बुझ्न तिमीलाई मदत पुग्नेछ भन्ने मैले विश्वास लिएको छु। साथै हाँसले दुध र पानी मिसिएको ठाउँबाट दुध मात्र छुट्याएर पिउन सक्छ भनेझैं तिमीले पनि ठूला मान्छेहरुको राम्रा र नराम्रा गुणहरु मध्येबाट राम्रा गुणहरु मात्र टिपेर सिक्न सक्नेछौ भन्ने आशा तथा विश्वास लिएको छु।

यो तिम्रो स्कुलको महत्वपुर्ण वर्ष भएकोले तिमीले पढाइमा विशेष ध्यान दिनेछौ र भविष्यमा कसरी समाज र देशको सेवा गर्ने भन्ने बारे सोचाइ बनाउनेछौ भन्ने हामीले विश्वास लिएका छौं। शायद अर्को वर्ष पछि स्कुल फेर्नु पर्ने हुन सक्छ, त्यसबारे तिमीले अहिले चिन्ता लिन जरुरत छैन। तिमीले जहाँ गएर पनि राम्ररी पढ्न सक्छौ भन्ने अव पुष्टि भइसकेको छ। त्यसैले कुनै चिन्ता नलिई पढाइमा एकाग्र बन्नेछौ। बाँकी सल्लाह गर्दै गरौँला।

यताको सबै खबर राम्रो छ। आमाको पनि अब जिम्मेवारी थपिएको छ– त्यसैले पहिले भन्दा बढी व्यस्त हुनेछिन्। मेरो त तिमीलाई पहिल्यै थाहा छ।

लौ त आजलाई यति। चिठी लेख्दै गर।

तिम्रो धेरै माया गर्ने,
‘बा’

१ मार्च २००१

(‘अविराम बाबुराम’बाट)

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com