सडकमा कमल-(पुस्तक समीक्षा)

तबस्सुम् सन्तोष

परिवर्तन हरेक अस्तित्वको आदिम चाहाना हो, किनकी समग्र अस्तित्वको आधिकारीक संस्था प्रकृति नै परिवर्तनको हिमाइती हो र पैरवीकर्ता पनि । मेरो वरिपरि तिनै चेतन र अचेतन  अस्तित्वहरु छन् , हुनुको अभिप्राय अस्तित्व हो र हिजो के थिए आज के छन भन्नु परिवर्तनको प्रमाण । घर, मन्दिर, पाटी, स्कुल, धर्मशाला, सुराकेन्द्र र फूलका केही गैर मेहफुज जिन्दगीहरु असरल्ल छन मेरो वरिपरि । गुलाब उस्तै गरेर फुलिरहेछ, चम्पा, बेली, चमेली, गुराँस, जाहीँ, जुहीँ दुरुस्तै छन् तर कमल भने यसपटक बेखौफ सडकमा फक्रिएको छ ।
समकालिन नेपाली गजल साहित्यका बेमिसाल करिश्मा हुन कमल र त्यसको प्रमाणिक दस्ताबेज हो सडक । गजलमा ज्वाज्वल्यपूर्ण छवि बनाएका कमलका गजलमा गजल सौन्दर्यको पूर्नसिर्जन भेटिन्छ । नवीन बिम्व, चामत्कारीक कथन शैली रोचक र स्पष्ट वाक्य गठन अनि सघन भाव सम्प्रेषण एवम् विचार चेतना उनका गजलका विशेषता हुन् ।
संघर्ष कुनै पनि कुराको प्राप्ती र अप्राप्ती बिचको अवस्था हो र यदि चमत्कारको छुट्टै अस्तित्व छैन भने जीवन सौन्दर्य प्राप्तीको अद्वित तत्व पनि, मानव जीवन सञ्चालनका सन्दर्भमा अत्यावश्यक वस्तु भइसकेको संघर्ष जन्म देखि मृत्यु सम्म अनवरत छ, यद्यपि यो श्रृङ्खला विभाजित वा खण्डिकृत छ, एउटा सकिए अर्को सुरु हुन्छ, एउटा गए अर्को आउछ । तर वैयक्तिक र सामाजिक जीवनको निरन्तर प्रक्रियामा निर्विकल्प अन्वित भएर पनि संघर्ष कसैको प्रिय छैन त्यसकारण उ आफैँ संघर्षको आह्वान गर्छ कम्तीमा आधारभुत उन्मुक्तताका लागि, प्रारम्भिक स्वतन्त्रताको लागि ।
आवाज राखिदेउ पिजडा भित्र पिजडा हुदैँन ।
आजादी कसैका अगाडि आएर खडा हुदैँन ।।
सहजता सबैको चाहाना हो, मानवका विभिन्न अन्बेषण आविष्कारहरुले सहजताको सोही चाहानालाइ इन्गित गर्दछ,  नदी सहजता बोकेरै ओरालो बग्छ, बादलहरु उड्दिन्छन हावाको सहजता उपयोग गरेर, सायद यही सहजताको चाहाना बुझेर होला उ संघर्ष गर्ने चाहान्छ, दुनियाँको सहजताको लागि ।
आज सम्म याे दुनियाँको तल बसियो
लाग्छ सडकलाइ पट्याउ मैँमाथि राखौँ
दृढताको डोरीमा रहेछ जितको कुञ्जी, यही दृढता र आत्मविश्वास लिएर गजलकार समयलाइ जित्न भनेर निस्किएको छ,
ए समय तलाइ जसरी पनि जित्नु छ
आफैँले टेक्ने लौरो आफैँ अघि जान्छ
तर नियतिको निर्दयीताले उ समयलाइ जित्नु त परै जावस आफैँले टेकेको लठ्ठी भन्दा पछि परिरहेको वास्तविकता भोगिरहेछ । र दिक्क भएर अचानक सम्झिदिन्छ विगत् अनि केही बेलुन र बचपनको जिन्दगी लिएर पुग्छ पुरानो खेलौँना पसलमा, अनि
दृष्टिगोचर, उवाच् ः
बेलुन पनि छैनन खेलौना पनि छैनन
त्यो पसल मजस्तै जवान भइसकेछ ।
उसले सबैभन्दा धेरै गुनासो गरेको जिनीस समय हो, जसले उबाट ढुङ्गा र माटोसंगै रमाइदिने जिन्दगी खोसेर आकास जत्रै सपना र नजाने के–के रहरहरुको पोको थमाइ लकिरको फकीर बनाइदियो अझ त्यतिले नपुगेर सडकबाटै चित्त बुझाउन बाध्य पारिदियो, आफ्नो अपहरित बाल्यकालको नोस्टाल्जिया माथि इरेजर घोट्न पठाएर,
कहिलेकाहीँ त चित्त बुझाउछु यसरी
बचपन गुम्यो र यो जवानी भएको छ।
जिन्दगीलाइ अनुभवहरुको संग्रहालय भनेर वर्षौ पहिले स्वीकारी सकेको उ अझैँ प्रयोग गर्न चाहन्छ गल्तीहरुसंग, उ गल्तीहरु बाट डराउदैन त्यसैले त सहजै भनिदिन्छ अनुभव भनेकै विगतका केही जायज नाजायज गल्तीका जैविक पुलिन्दा हुन, र प्रयोगको कनीकुथ्री स्रोत जुटाइदिन्छ उसका आफ्नै इरेजर घोटिएका चाइल्ड नोस्टाल्जियाका डोबहरुको माझबाट आफ्नो पुरानो तकरीब
बचपनले सिकायो प्रयोगको सिद्घान्त,
खेलौना च्यातेर पनि खेलौना बनाइयो
प्रयोगको यति निर्धक्क वकालत गरेको उ खैँ किन डरायो आफुलाइ इडिट गर्नबाट तर गल्ती त फेरि पनि गरिदियो आफ्नै नेचरमा हराइदिएर आफैँ नेचुरल भइदिएर ।
इडिटपछि हिलो सुन बनाउन सकिन्थ्यो
कमलले आफ्नो आकृति नेचुरल चाहान्छ
किन प्रवाह गरेन उसले उसलाइ खोज्नेहरुको किन हराइदियो उ यसरी, सायद उ आफैँ स्वच्छन्दताको अवैधानिक उडानको महत्वाकाक्षीँ हुन सक्छ, वा उसलाइ अभिव्यक्त गर्नै पर्नै महसुस भएको थियो हाम्रो अपक्षय पहिचानको समसामयिकता ।
अभिव्यक्त त उसलाइ अरु थुप्र्र्रै कुराहरु गर्नुछ, जस्तो कि समयले डायस्पोरिक बनाइदिएको उसको आफ्नै जिन्दगी र सोही जिन्दगीसंगका जिप्सी यादहरु पनि ।
प्रवासी कहाँ पुग्न गाउघरका यादलाइ
पासपोर्ट पनि चाहिन्न भिसा हुनुपर्दैन
रहरहरु उसको जिन्दगीका खेलाचीँहरु हुन, उ हजारौँ रहरको मालिक हुदाँ हुदैँ पनि रहरले जिन्दगीको चुक मर्दन गरेको भन्न पछि पर्दैन र भनिदिन्छ रहरहरुलाइ कातिलताको आदि स्रोत, बाध्यताको जिन्दगीमा रहरका अनेकन रङहरुले पोतिएको छ उसको सल्बाटर्न जस्तो लाग्ने अनुहार, र परेको छ रहरकै बाध्यताकोहरुको साइक्लोन भित्र,
मलाइ तिम्रो बन्नुछ तिमीलाइ उनको बन्नुछ
रहर भन्ने चीज कसको जिन्दगीमा हुदैँन र ?
उसका रहरकै सफरको एउटा सिलसिला हो उसको फकीर गिरी । अनि सफरको रहर उसको स्वभाव । गजल सुन्न सुनाउनै हिडिदिन्छ सडकमा र भनिदिन्छ पाइला उचाल्नुलाइ क्रान्ती अनि हिड्नुलाइ प्रगति, लाग्छ त्यही कुराले उसमा बेफिक्र दौडिने उत्प्रेरणा जागिरहन्छ र एउटा विस्मयकारी गतिशिलता बोकी राग र सौन्दर्यको सडकमा मनिङवाकको लागि निस्किन्छ हातमा मसाल बोकेर, जुनकीरीहरुलाइ जगाउन । सडक स्तरोन्न्ति गर्नु उसको प्रयोजन होइन उ बस यति चाहान्छ घुम्तीमय सडकमा विवश जिन्दगी मात्र हैन, विचार र सौन्दर्यको भावप्रवण पनि दौडियोस, बस दौडिरहोस दुनियाँ, संघर्षका दौडहरु केही जिन्दगीका लगि केही प्रगतिका लागि ।,
फुलमा विश्राम दिन्छौँ आज पैतालालाइ
एक दिन तिम्राे सिरानी आगोमा हुनेछ ।।
दुनियाँ संग उसका अनेकौँ गुनासाहरु भएर पनि उसले राम्ररी बुझेको छ, दुनियाँको दुनियाँदारी । र बुझेको छ हातमा पासो हुनेहरु पनि जल्लाद नभइदिन सक्छन भनेर, भन्नुको तात्पर्य उ विश्वास गर्छ दुनियाँलाइ जबसम्म उसको विश्वासले धोकाको आइरन चक्की चाख्दैन, यो विश्वास उनीहरुसंगको पनि हुनसक्छ जो हतियारको चौतारीमा विचारको गुञ्जन लिएर गएका थिए, सायद यो तिनीहरुलाइ आग्रह हुनसक्छ जो विचारको थियटरमा हतियारको एकाङकी लिएर गएका छन् ।
हतियार बोकेर आएको छ डराउनु पर्दैन
विद्वान हो उसले पक्कै विचारले हिर्काउछ
उसको फकिरीको आधिकारीक संस्थान दुनियाँ भन्दा पर विचार चिन्तन र सौन्दर्यसम्म फैलिइदिन सक्छ यदि दुनियाँ यो भन्दा बाहिर निस्केकै हो भने तर दुनियाँ यतै कतै मौजुद छ भने उ दु्नियाँ भन्दा टाढा कतैँ निस्किन चाहदैन, बरु नजाने के केको संयोजन यो दुनियाँको आयतन पर्गेल्न भ्याए जसरी आत्म प्रौढोक्ति शैलीमा सुधारको अपेक्षा बोकेर हिड्छ विचारका गल्लीहरुमा । अनि आफ्नै अन्दाजमा भन्न थाल्छ,
दुनियाँ देखेर पनि तिन छक लाग्छ
मान्छेलाइ मान्छे भन्न धक लाग्छ ।
समयका छ्वाके दातँले चुइगम सम्झिएर चपाइदिएको उसको अनुहार जीवन छदैँ मृत्युसंग सेल्फि खिच्न उद्धत छ,
आउ मृत्यु एउटा सेल्फी खिचौँ हामी
भोली हाम्रो जिन्दगी रहला नरहला ।
उसको अभिलाषा जिउदो छदैँ मृत्युसंग भेट्न हो र एकथान जिन्दगीको लागि जिजीविषा कायम गर्ने हो । मृत्युकै आगँनबाट जिन्दगीका केही शेरहरु बोल्न चाहेको उ जिवित छदैँ जिन्दगीको अर्थ र मृत्युको सौन्दर्य उपभोग गर्न चाहन्छ,
मृत्युको भयानक चेहराअघि उभिएर सायर
अझैसम्म जिन्दगीका शेरहरु लेखिराख्छ  ।
सधै हतारमा देखिने उसलाई कहीँ पुग्नु छैन, तर उ निस्किदाँ पनि हतारमा देखिन्छ अनि फर्किदाँ पनि । त्यसो त हुनु र देखिनु फरक कुरा हुन तर ऐनाको सहरमा अनुहार नहेरी फर्केदेखि उसको हतार मलाइ अस्वभाविक लाग्न थालेको हो । उ मात्रै हैन उसको मन पनि उतिक्कै भागदौड गरिरहन्छ, खै यो कस्तो छट्पटि हो कस्तो उद्वेलन हो, कस्तो अधीरता हो उसैले बुझोस, सम्हालोस ।
उसैलाइ कुरेर बसेको छ उ भित्र यो मन
उसको पनि एउटा मन छ जताततै हिड्छ
केही पाउन केही गुमाउन पर्छ, जसरी सायरले जवानी पाउन बचपन गुमायो, तर यस्तो गुमाइसंग उ निक्कैबेर ग्राह्य भएर रहन सकेन । किनकी उसले निधारर्ण गरिदियो गुमाउनुको आयतन र प्राप्तीको उपयोगिता, अनि राखिदियो भाग्यलाइ मुख्य भुमिकामा ः
भाग्य गतिलो हुनुपर्छ गुमाउन पनि
कसैको गर्धन कसैको सिरानी हराउछ
सायर नवीनता उन्मेषको स्रोत हो, नवीनता उन्मेषको क्रममा उसमा एउटा यस्तो उर्जा प्रवाह भइदिन्छ कि जसको माध्यमबाट उ ताजमहलका कमी कमजोरीहरु खट्याउने सामथ्र्य राख्छ ।
अपूर्णता संसारको एक मात्र पूर्ण तत्व भएर पनि उ सम्झौता गर्न तयार छैन अपूर्णतासंग । त्यसैले त  खियाउन चाहन्छ कर्मठ नाङ्ग्राहरु, जो उसले आफ्नो जिन्दगीको विरासतीय स्वभावका रुपमा पाएको छ, त्यसैले त उसको आवाज यति बुलन्द छ कर्मठताको पक्षमा ः
अल्छीको शिरमाथि कपाल पनि उम्रिदैन
उद्यमीको पैतलामुनि उम्रिन्छ पल्लव समेत
उसका अनुसार संसार रुपान्तरीत छ परिवत्र्य छ, नासवान कदापि छैन, उसको वकालत वस्तुको दीर्घतासंगको हो, सकिएर गएका कुराहरुको फोसिल पनि कतै न कतै जरुर भेटिन्छ, सके रुपान्तरित अवस्थामा नत्र यादहरुमा, स्मृतिहरुमा बस मन्त्र बनाउनु छ यहाँ असम्भवको अस्तित्व नै छैन् ।
काध चढाएर बाफलाइ आकास पुर्याउनु छ,
म रहुन्जेल पानीलाइ आगोले पोल्न सक्दैन ।।
संसारका सबैकुरा एकातिर अनि सन्तुष्टि एकातिर, सन्तुष्टिले खुसी रहन च्यवनप्रासको काम गर्छ भन्नेमा सायर ढुक्क छ, त्यसैले यहीँ बाट बोलिदिन्छ सन्तुष्टिको अनुपम शेर अभावकाप्रतिको व्यङ्ग्यका साथमा
हामीले खाने कनिकामा चामल देखिदैनन्
तिमीले खाने चामलमा कनिका भेटिन्छन ।
सायरले बचपन देखि जिन्दगी सुल्झाउदै ल्याएर खैँ कताको  चौतारीमा पूर्नदृष्टि दिदै यसो भन्न भ्याइदियो लाग्यो उ थाक्यो
बाढीसंगै बगेर आएका ढुङगाहरु
बगिरहन सकेनन पानीले जस्तै
मानौँ समय बाढी हो अनि जिन्दगी बाढीसंगैँ बगिआएको ढुङ्गो जसको किनाराको हेक्का उ स्वयमलाइ छैन न त गहिराइको सम्भावना ।
समयको ऐना नियालिरहदाँ लाग्छ
कता कता यो जिन्दगी नमिले जस्तै
एउटा वाफको दरिया उ बगिरहन चाहन्छ किनकी उसले बग्न जानेको छ । केही तिर्खाहरु प्रतिको उत्तरदात्विले, केही आफ्नो रहरले, केही समयको मजबुरीले । उसको उद्धेश्य प्यास मेटाउनु मात्रै होइन उ एकदिन समग्र जीवन अस्तित्वको शोध र जीवन दर्शनको खोजका खातिर पुग्न चाहन्छ अभिव्यक्तिको काव्यिक समुन्द्रमा र लिन चाहन्छ सडकै सडक बगेर फकीरको भेषमा, दुनियाको नजर नलागोस् । कालो टिका ।।
एउटा मुसाफिर म स्वंय भइहाले ।
अर्को मुसाफिर यो सडक लाग्छ ।।
तबस्सुम् सन्तोष
३ माघ २०७३
कीर्तिपुर, काठमाण्डौँ

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com