यसरी बन्दैछ कलंकीमा नेपालकै पहिलो अन्डरपास सडक (हेर्नुस, चार तस्बीरमा)

लाइट नेपाल
मिति : Wednesday, January 4th, 2017

काठमाडौं, २० पुस । काठमाडौंको कलंकीमा नेपालकै पहिलो नमुना अन्डर पास रोड निर्माण हुँदैछ । चत्रपथ विकास आयोजनाअन्तर्गत यो अन्डर पास रोड निर्माण हुन लागेको हो । कलंकी चोकमा रोड क्रस गर्न पैदलयात्रीले प्रयोग गर्दै आएको दुई खम्बे आकाशे पुल (ओभर हेड पेडिस्ट्रियन ब्रिज) अहिले देख्न पाइँदैन । त्यही ठाउँको बीच सडकमा जस्तापातले घेरेर निर्माण कार्य चलिरहेको अहिले देख्न पाइन्छ। संभवतः अबको झण्डै डेढ वर्षपछि यहाँ देख्न सकिन्छ, ८ सय मिटर लम्बाइको एक शानदार अन्डरपास रोड । जुन खसिबजारदेखि बाफलसम्मको लम्बाइको हुनेछ ।

‘२०१८ को जुलाईसम्ममा यो आयोजना निर्माण पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको छ, आयोजनका निर्देशक ज्ञानेन्द्रकुमार झाले भने, ‘अन्डरपास प्रविधिको रोड निर्माण भएपछि बल्खुबाट स्वयम्भूतर्फ जाने–आउने सवारी साधनले कलंकी चोकमा रोकिनु पर्ने बाध्यता हट्नेछ। निर्माण स्थलमा प्राविधिकसहित ६० जना चिनियाँ जनशक्तिले काम गरिरहेको आयोजनाका इन्जिनियर रमेश दृष्टीले जानकारी दिए । चीनको अनुदानमा निर्माण हुन लागेकोले उक्त सडक निर्माणको ठेकेदार कम्पनी पनि चीनकै सिफारिसमा नियुक्त भएको हो। अन्डरपास रोडबाट पैदल यात्रीले रोड क्रस गर्न पाउँदैनन । उनीहरुका लागि भने ओभरहेड ब्रिज र जेब्रा क्रस नै प्रयोगमा ल्याइने छ । चीन सरकारको ५१२ मिलियन युआन करिब ५ अर्ब रुपैयाँ को अनुदान सहयोगमा उक्त चक्रपथ विकास आयोजना शुरु भएको हो । यस आयोजनाअन्तर्गत कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्मको करिब साढे १० किलोमिटर लामो १० लेन चौडाइको सडक निर्माण हुनेछ।

काठमाडौँको कलंकीचोकमा बुधबार सव वे निर्माणको काम गर्दै कामदार । दुई वर्षमा सव वेको कामसम्पन्न भएपछि चक्रपथमा ओहोरदोहोर गर्न गाडीले पालो पर्खनुपर्दैन । तस्बिर : रोशन सापकोटा, रासस

दायाँबायाँ एक–एक लेन फूटपाथ तथा साइकल ट्यांकसमेत यस सडकमा रहनेछन । सडकका मुख्य चोकहरुमा ३ ओटा ठूला आकाशे पुल, ४ ओटा खोलामा पुल निर्माण हुनेछन । यी मध्ये कोटेश्वर र सोटदोबाटोमा आकाशे पुल निर्माण कार्य पूरा निकै अघि बढिसकेको छ। खोलामा बनाउनु पर्ने पुलहरु पनि निर्माण भइरहेका छन भने चालू आर्थिक वर्षभित्रमा आयोजनाले कलंकीदेखि एकान्तकुनासम्मको झण्डै ५ किलोमिटर सडक पिच गरिसक्ने लक्ष्य राखेको जनाएको छ ।

 तस्बिर :रोशन सापकोटा, रासस

 तस्बिर : रोशन सापकोटा, रासस

 तस्बिर : रोशन सापकोटा, रासस

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com