Light Nepal

‘साँझविहान खान पाए म पनि स्कुल जान्थें’

स्कुलमा घण्टी बजेको आवाज सुनिनासाथ ११ वर्षीया मञ्जुले भाई र बहिनीलाई भनिन्, “ऐले स्कुल जाओ, दिउँसो गाउँबाट भात मागेर ल्याइदिम्ला ।”
९ वर्षीया सम्झना भोकै स्कुलतिर लागिन् । ६ वर्षीय अर्जुन स्कुल जान मानेनन् । जति फकाए पनि भोको पेट अर्जुनले स्कुल जान नमानेपछि मञ्जु आफै रोइन् ।
गत असोजमा आमा–बाबुले छोडेदेखि वीरेन्द्रनगर–२० बाङ्गेसिमलकी मञ्जु र उनका भाइबहिनीको कैयौं दिन भोकभोकै वितेको छ ।

Capture
डेढ वर्षअघि बुवाले अर्की श्रीमती लगेर भागेपछि आमासँग बस्दै आएका तीन भाइबहिनी असोजमा आमा पनि अर्कैसँग भागेपछि अलपत्र परेका हुन् ।
“त्यसदिन स्कुलबाट फर्कंदा आमा घर हुनुहन्नथ्यो,” आँसु पुछ्दै मञ्जुले भनिन्, “काममा जानुभयो कि जस्तो लागेको थियो तर आजसम्म आउनु भा’छैन ।”
उनीहरुसँग अन्न, पैसा केही छैन । गाउँमा कसैले उब्रेको खाना दिए त्यसैले छाक टर्छं, नभए भोकभोकै ।
भाइबहिनी स्याहार्नु परेपछि मञ्जु ६ महिनादेखि विद्यालय जान छाडेकी छन् ।
बहिनी सम्झना दुई र भाइ अर्जुनले एक कक्षामा पढ्छन् । उनले त्रिपुरेश्वर उच्चमावि ढोडेखालीमा कक्षा ६ मा पढ्दापढ्दै पढाई छोड्न पर्‍यो ।
विद्यालय जाने बेला उनी छिमेकीहरुसँग दाउरा लिन जंगल जान्छिन् । “दाउरा आफैं काट्न सकिंदैन, कसैले काटेर भारी बनाइदियो भने त्यही बजारमा बेचेर चामल किन्छु,” मञ्जुले आफ्नौ दैनिकी सुनाइन् । दाउरा ल्याउन नसक्दा घाँस बेचेर चामल–पिठो किन्नुपर्छ ।
भाइबहिनीलाई कापी–कलम जुटाउन पनि समस्या छ । विद्यालयमा कसैले फालेको सिसाकलम भेटियो भने त्यसैले काम चल्छ, नभए घाँस दाउरा बेचेको पैसाले चामल किन्ने कि कापी मञ्जुलाई समस्या छ ।
एक दिनमा काटेको घाँस रु. ५० मा बेच्ने गरेको उनले सुनाइन् ।
छुट्टिएर बसेकी ६० वर्षीया हजुरआमा जैसरा बिकबाहेक बालबालिकाका आफन्त कोही छैनन् । राति उनीहरुलाई डर लाग्यो भने हजुरआमालाई बोलाउँछन् ।
“छोराबुहारीसँग छुटिट्एर आफै जसोतसो जिउ पाल्दै आएकी थिएँ,” जैसराले भनिन्, “अब आपूm पालिने कि यिनीहरुलाई पाल्ने, बुढेसकालमा यी लालाबालाको यस्तो बिजोग देख्न पर्‍यो ।”
कसैले सहयोग गरे अझै पनि स्कुल जाने धोको छ मञ्जुको । भन्छिन्, “साँझ बिहान भरी पेट खान र कापिकलम किन्न पाए म पनि स्कुल जान्थें ।”
-लक्ष्मी भण्डारी, सुर्खेत

हिमाल खबर बाट 

प्रतिक्रिया दिनुहोस्