Light Nepal

६ बर्षमा बिहे भयो, ७ बर्षमा विधुवा हुनपुगिन्, श्रीमानको अनुहार नै सम्झना छैन

284664_517119558304634_1619586090_n
रवी रोषी
Capture
बाल विधुवा हरिमाया लामिछाने

रवी रोषी दोहा – हरिमाया लामिछाने माथि दिईएको शिर्षककी जिउँदो पात्र बाल विधुवा हरिमाया आमा यतिखेर ३ दशक देखि चितवन पारी तनहुँ देवघाटको बृद्धाश्रममा एक्लै बस्दै आएकी छिन् । नेपाली हिन्दु संस्कार अन्तर्गत श्रीमति भन्दा पहिले श्रीमान्को देहवसान भएको खण्डमा श्रीमतिले श्रीमान्को नश्वर शरीर र शीरलाई आफ्नो काखमा राखेर निर्वस्त्र चिता चढेर जिउँदै अग्निदाह गर्न बाध्य पारिने सति जाने संस्कारजनित आदिम प्रथाको दारुण मृत्युवरणको संस्कारलाई तत्कालिन श्री ३ महाराज चन्द्रशमशेरले उर्दी जारी गरेर अन्त्यको घोषणा गरेपनि बाल विवाह जस्तो कुसंस्कारिक प्रथाले भने अरु डेढ शताव्द्धी सम्म नेपालका दुरदराज गाउँहरुमा अध्यावधि रहेको बारेमा अधिकलाई जानकार नहुन पनि सक्छ ।

एक त बालविवाह, त्यसमा पनि अनमेल उमेरको विवाह त झन् अति नै अशोभनिय र अशोचनिय कारुणिक क्रन्दन सत्यकथाका बारेमा सुन्दा सुन्नेहरुलाई त ज्यानमा काँडा उम्रिन्छ भने जसले भोगेर आफ्नो सम्पुर्ण जीवन निखनेर बिटुलिएको बैंसमा विधुवा भई कष्टप्रद जीवन बाँचेर मरे, उनीहरुले आफ्नो भाग्य र कर्मप्रति कत्ति धिक्कार्दै आफ्नो इहलिला समाप्त पारे होलान् शव्द्धमा जति व्याख्या गरेपनि अपुर्ण नै हुन्छ ।

ं पुरातन कुसंस्कारिक प्रचलन अन्तर्गत कन्यादान गर्ने सिलसिलामा रजस्वला हुनुपुर्व नै विहे गरी कन्या विदाई गरेमा ७ गाई दान गरे भन्दा पनि धेरै पुण्य प्राप्त हुने रुढ सोचका कारणले पनि समाजमा यस्ता कुसंस्कारहरु पुस्तान्तरित हुँदै जानुमा मुख्य कारण भनेको धर्मको मर्म विपरित तथाकथित व्याख्याताहरुको गलत व्याख्याले जन्माएको धार्मिक अन्धता र अज्ञानताको कारण नै हो भनेर ठोकुवा गरेर भन्नलाई मलाई किञ्चित अप्ठेरो लाग्दैन ।

उसो त आजकल पनि हाम्रा हजुरआमा जिजुआमाले यदाकदा उराल्ने बाजे बराजुको पालाका सत्यकथा अन्तर्गत जगियामा भर्खरै मात्र आमाको दुध खान बाट छुटाइएकी ५,६ बर्ष उमेरकी दुलहीलाई आमाले र सोहि उमेरका उनका दुलाहालाई उनकै बावुले बुईमा बोकेर जगिया घुमेर गराईदिएको विवाहको बारेमा भनिएका सत्य घटना आजकल कतिलाई दन्त्यकथा जस्तै लाग्न सक्छ ।

यस्तै चलनचल्तीको शिकार भएर बाँच्दै आएकी हरिमाया आमाको दारुण अनुभव यहाँहरु समक्ष आज पस्कन गइरहेको छु । विक्रम सम्बत् १९८६ अर्थात् ८६ बर्ष अघि गोरखाको मजिमथोकको ब्राम्हण परिवारमा जन्मिएकी थिइन् हरिमाया आमा । उनको घरमा उनलाई विहे गर्न भनी माग्न आएको केटाको बारेमा ६ बर्षिया हरिमाया लामिछानेको बालमष्तिस्कमा स्मरण रहने कुरो पनि भएन । आँगनपिंढी र करेसामा कानेकाने पिच्चा र भाँडाकुटी खेलेर बिताउने ति शैशवकालमा उनलाई विहे भनेको के हो, श्रीमान् भनेको के हो, विहे हुनु भन्दा अघि घर भन्दै आएको आफु जन्मेको घरलाई विहे पछि माइत भन्नु पर्ने कारण के हो भनेर उनको बालमस्तिष्कले पर्गेल्न सक्ने कुरै भएन ।

देवघाटको कालीगंगा तटमा स्नान गर्न सन्ध्याकालिन अवस्थामा झरेकी हरिमाया आमालाई देवघाट बगरमा श्लोक फलाक्दै बसेको अवस्थामा भेट्दा उनीबारे केहि जान्ने इच्छाले उनको समीप गएर केहि कुराहरु सोधेको थिएँ । बृद्धाश्रममा बस्न आउनुको उनको कारण अन्य आमा बुवाको भन्दा भिन्न प्रकृतिको थियो ।

उनले भन्दै गइन्, मैले उनका ति दारुण भोगाईहरु सुन्दै गएँ ।

नेपालमा ठूलो भुईंचालो गएको २ बर्ष पछि मेरो विहे भएको हो । त्यसबेला म ६ बर्ष पुगेकी थिएँ । भान्साको चूल्होमा आगो बाल्नु अघि गोठको गाईभैंसीलाई तातोपानी तताएर कुँडो पकाएर खुवाउने दैनिकीका साथ गोठ नजिक आगो बालेर कुँडो पकाउने जिम्मा सधैं मेरो थियो । साँझपख पँधेरोबाट आमाले बोकेर ल्याउनु भएको तामाको गाग्री भरिको पानी गरुंगो हुनेभएकोले आफुले उचाल्न सक्ने सिल्टी (सिल्वर) को डेक्चीमा २,३ खेप पानी सारेर कराहीमा खन्याएर पानी तताउनुपर्ने मेरो जिम्मा थियो । आगो फुक्नको लागि आगोको बिउ लिन संगै करेसा जोडिएको ठूलो बुवाको घरमा महि पार्दा देउतालाई घिउ चढाउन प्रयोग गरिने माटोको धुपौरो बोकेर आगो पैंचो मागेर मैले आफ्नो नित्य काम गर्नुपर्दथ्यो ।

सोही क्रममा एकदिन आगो पैंचो लिएर ठूलो बा को घरबाट आउँदा पिँढीमा कपाल र दारी सेताम्ये फुलेका ४ जना मान्छे पिँढीमा ओच्छ्याईको गुन्द्रीमा बसेको देखें । बुवा र आमा अनि ठुलो बा संग कुरा भएपछि टिकोटालो कार्य भयो । आमा, बा र ठूलो बा ले टिका लगाएर कपालमा चायाँ फूलको थूंगा सिउरिएर हातमा तामाको पैसा राखिदिँदा कति छिटो दशैं आएछ भन्ने कुरामा खुशी भइरहें । सेताम्ये कपाल फुलेका ति टोली गएपछि आमा, बा र ठूलो बा ले टिका लगाएर दिएको पैसा हराउँछ भनेर फेरि मागेर आमाले नाइटो संगै रहेको चोलोको गोजीमा पैसा राख्दैे तेरो बिहे हुँदैछ भनेर भन्नुभएको कुरा चाहिँ हेक्का छ ।

मलाई त्यो बेलामा विहेको कुराले न त खुशी नै बनायो, न त दुख नै लाग्यो । किनकी विहे भनेको के हो भनेर बुझ्न सक्ने उमेरकी म छँदै थिइन । मलाई विहे गर्न भनेर माग्न आएका मेरा श्रीमान्को नाम आमाले भन्नु भएर नै कन्ठाग्र पारेकी हुँ । लोग्नेको नाम काढेर बोलायो भने लोग्ने चाँढै मर्छ भनेकै कारणले मैले उहाँको नाम मनमनै उच्चारण गरेपनि मुखले नाम काढेर कहिल्यै कसैलाई भनिन । तर नाम काढेर नबोलाउँदा नबोलाउँदै पनि मेरो श्रीमान् विहे गरेको एक बर्षमा नै स्वर्गे हुनुभयो । एकपटक मरिसकेको मेरो श्रीमान् नाम काढेर बोलाएपनि फेरि दोहोर्याएर मर्दैन क्या रे भनेर कसैले सोधीहालेको खण्डमा त्यसपछि मैले उहाँको नाम भन्ने गरेकी छु । मेरो श्रीमान्को नाम प्रजापति लामीछाने हो । मलाई उहाँको अनुहार कत्ति पनि हेक्का छैन । मलाई यत्ति मात्र सम्झना छ, मलाई विहे गरीसकेको केहि दिनपछि मात्र उहाँलाई मेरो श्रीमान् भनेर स्पष्ट चिन्न सकेकी थिएँ । विहे गरेर श्रीमान्को घरमा गएको दिनमा पाहुनाहरुको भीड थियो । धेरै जसो कपाल फुलेका मेरो बा कै उमेरका मात्र देखिन्थे । मेरो श्रीमान् पनि मेरो बा को उमेरकै अर्थात् २, ४ बर्षको तलमाथिको हुनुपर्छ । मेरो श्रीमान् हो भनेर चिन्नलाई झण्डै छाति सम्म झुण्डिएको सेतो दाह्रीले मलाई सजिलो बनाएको थियो ।

६ बर्षको उमेरमा बिहे भएकी मलाई श्रीमान्संगै कसले उहाँको घरसम्म बोकेर लग्यो त्यो पनि सम्झना छैन । त्यसपछि फर्केर आएकि म दशैंको टिका लगाउन र स्वामीको काजक्रियामा मात्र एकपटक स्वामीको घर गएकी छु । विहे पछि महिना दिन जति त्यो घरमा बस्दा मैले कहिल्यै श्रीमान् संग सुत्न परेन । यस अघि पनि मेरो श्रीमान्ले २ जना संग विहे गरी जायजन्म भैसकेको रहेछ । मेरो जेठी सौताको छोरी म भन्दा १३ बर्ष जेठी रहिछन् । उनको पनि श्रीमान्को मृत्यु भएकोले बाल विधुवा भएर माइत बस्दै आएकी रहिछन् । म त्यो घरमा विहे गरेर गएको एक महिना बसुञ्जेल जेठी सौताकी म भन्दा १३ बर्ष जेठी विधुवा छोरी संग नै सुत्ने गर्दथें ।

विहान उठ्ने बित्तिकै कपाल कोरिदिने बनमा घाँस लिन जाँदा संगै लिएर जाने उनको साथी भएकी थिएँ । श्रीमान्को काजक्रिया सकेर माइत आएको म कहिल्यै फर्केर श्रीमान्को घर गइन । माइतमा भएका मेरा आफन्तबाट मलाई कुनै हेलाँ त थिएन । तर पनि मलाई त्यो घरमा बस्न मन लाग्न छोड्यो । यसैक्रममा सौताको छोरी संग भेटेपछि हामी दुवैजना देवघाट गएर बस्ने निधो गर्यौं ।

अहिले हामी दुई आमा छोरी माईतीबाट पाएको केहि सम्पत्ती बोकेर देवघाटमा आफैंले जग्गा लिएर सानो कटेरो बनाएर बस्दै आएका छौं । वैंस के हो, श्रीमान् के हो मैले केहि बुझ्नै नपाई यो उमेर निखनी सकें । चार वीस उमेर कटिसक्यो । छिन्छिन्मा आँखा घुर्मैलो हुन्छ । कहिलेकाहिँ नजिकैको मान्छे पनि राम्रो संग ठम्याउन सक्दिन । आफु बसेकै आश्रम नजिकैका दिनहुँ भजन संर्कीतनमा भेट हुनेलाई पनि स्मृति भंग भएर नयाँ मान्छे आएछ कि झैं दृष्टिभ्रम हुन्छ । छिन्छिनमा कुराहरु विर्सिरहने रोग लागेको छ । घर भने पनि माईतीघर भने पनि गोरखा मजिनथोकको सम्झनाले धेरै सताउने गर्छ । कहिलेकाहिँ कसैले डोकोमा बोकेर लगेर देखाएर ल्याईदिएपनि हुन्थ्यो जस्तो लाग्छ । तर अब मेरो आफ्नो भन्नु कोहि छैनन् रे मजिनथोकमा । दाईभाईहरु बसाईं सरेर चितवन झरेका छन् भन्ने मात्र सुनेको छु ।

नमरे सम्म नमेटिने मेरो एउटै गुनासो छ बुवा आमा संग । मलाई आमा हुन नपाएको पिरलो पनि होइन । ६ बर्षकी सानी उमेरकी मलाई आमा संग टाँसिएर सुत्न नपाएसम्म ननिदाउने मलाई सानैमा विहे गरेर उहाँहरुले के पाउनुभयो ? म देवघाट आएर बसेको भजन किर्तन गरेर स्वर्गको बाटो बन्छ भनेर आएको होइन ।

म जस्तै र म भन्दा पनि धेरै दुख व्यथाहरु बोकेकाहरुको भीडमा बस्दा मेरा भोगाई र दुखहरु फिका लाग्ने गर्छन् भनेर नै यहाँ आएकी हुँ । मन भुलाउन साँझ विहान चक्रवर्ती मन्दिर जान्छु । प्रवचन भजन सुनेर मन बहलाउने गर्छु । घरले जा जा र बनले आईज आईज भन्ने डाँडा पारीको जून भएकी म मरें भने पनि मलामीलाई धेरै सास्ती नहोस् भनेर देवघाटमा बसेकी छु । मेरी आमा र बा जिउँदा भएका भए एक पटक पक्कै पनि सोध्ने थिएँ । श्रीमान् मरेर विधवा हुने त आफ्नो भाग्यको लेखान्त हो । तर त्यति सानो उमेरमा मलाई किन विहे गरिदियौ आमा बा भनेर सोध्ने थिएँ । अब मेरो गुनासोको उत्तर दिने कोहि पनि मेरो नजिक हुनुहुन्न ।

प्रतिक्रिया दिनुहोस्