Light Nepal

बागलुङमा मृतक परिवारलाई प्रशासनको राहत

गलकोट, ९ साउन । बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित ज्यामिरेमा मङ्गलबार बिहान पहिरोले गोठ पुर्दा ज्यान गुमाएकी सीता गौतमको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले रु एक लाख राहत रकम बुधबार घरमै पुगेर हस्तान्तरण गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय बागलुङका नासु कृष्णप्रसाद शर्मा ढकालले मृतक गौतमका दाजु पिताम्बर गौतमलाई राहत रकम हस्तान्तरण गरेको हो ।

अविरल वर्षाका कारण पहिरोले गोठ पुर्दा भँैसी दुहुँदै गरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको थियो । पहिरोले दुई भैँसी तथा एक बाख्रासमेत पुरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । मृतक परिवारलाई गलकोट नगरपालिकाले क्रिया खर्चवापतको रु २० हजारसमेत उपलब्ध गराउने निर्णय गरेको गलकोट नगरपालिका–८ का वडाध्यक्ष रामप्रसाद कँडेलले बताउनुभयो ।

मृतकका पिता तोयनाथ गौतमको पहिले नै निधन भएकाले उनका दाजु पिताम्बर गौतमलाई राहत रकम हस्तान्तरण गरिएको हो । मृतकका तीन दिदीको विवाह भइसकेको र सीता भने अविवाहित रहेको वडाध्यक्ष कँडेलले बताउनुभयो ।

उत्तरगङ्गाले बगाउँदा मृत्यु

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका भएर बग्ने उत्तरगङ्गा नदीले बगाउँदा एकको मृत्यु भएको छ भने एक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बुधबार दिउँसो ३ बजेको समयमा ढोरपाटन नगरपालिका–९ बस्ने नरबहादुर विक र सोही स्थानकै वर्ष २२ का सेते विक स्यालपाखेबाट नविगाउँ जान नदी तर्ने क्रममा उत्तरगङ्गाले दुवैलाई बगाएको थियो ।

नदीले बगाएकामध्ये नरबहादुरलाई मृतावस्थामा फेला पारेको र सेते हालसम्म बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । घटनाको खबर पाएलगत्तै प्रहरी चौकी ढोरपाटनको प्रहरी सहायक निरीक्षक शिवराज सुवेदीको संयोजनमा चार जनाको टोली, शत्रुमर्जन गुल्म ढोरपाटनका १५ सेनाको टोली र स्थानीयवासीले नदी वरपर खोजीकार्य गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्