Light Nepal

क्रिकेट रङ्गशाला निर्माणका लागि इच्छाकामनामा सहयोग समिति गठन

मुग्लिन, ८ साउन । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ४६ सदस्यीय गाउँपालिकास्तरीय सर्वपक्षीय सहयोग समिति गठन गरिएको हो ।

समितिमा जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकारलगायत छन् । गाउँपालिका अध्यक्ष गुरुङले समग्र जिल्लाको गौरवका लागि सबै मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणको सहयोगका लागि चितवनका सबै स्थानीय तहमा समिति गठन गरिने बताए ।

सामाजिक अभियानकर्मी कलाकार ‘धुर्मुस–सुन्तली फाउण्डेशन’का अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दुई वर्षभित्रै क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्ने बताउनुभयो । उहाँले सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै आफ्नो मानसपटलमा रङ्गशाला निर्माण सम्पन्न भइसकेकाले कुनै द्विविधा नराख्न आग्रह गर्नुभयो ।

समिति निर्माणका लागि गाउँपालिकामा फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’सहित जिल्ला समन्वय समितिका प्रमुख डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष यामबहादुर परियार र नेपाली काङ्ग्रेसका सभापति जीतनारायण श्रेष्ठलगायतको उपस्थिति थियो ।

यसअघि रङ्गशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय पाँच हजार एक सदस्यीय मूल सहयोग समिति गठन भइसकेको छ । गाउँपालिकाका राजनीतिक दल, सङ्घसंस्था, व्यवसायी र स्थानीयवासीले रङ्गशाला निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैबीच रङ्शालाको निर्माणकार्य मङ्गलबारबाट पुनः शुरु भएको छ । सडक विस्तारको माग गर्दै केही असन्तुष्ट स्थानीयवासीले जेठ १५ गते रङ्गशालाको केही तारबार भत्काएपछि निर्माणकार्य स्थगित भएको थियो । त्यसपछि भएको विभिन्न चरणको छलफल र सरोकारवाला पक्षको आग्रहपछि धुर्मुस–सुन्तली फाउण्डेशनले पुनः काम शुरु गरेको हो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस, प्रदेश सांसद विजय सुवेदीलगायतले पुनः रङ्गशाला निर्माणको कामले निरन्तरता पाएको बताए ।

केही दिनमै जिल्लाका विभिन्न स्थानमा घरदैलो अभियान सञ्चालन गर्ने, प्रतिबद्धता घोषणा भएको रकम जतिसक्दो चाँडो हस्तान्तरण गर्न अनुरोध गर्ने तथा विभिन्न समिति निर्माणलाई पनि तीव्रता दिने फाउण्डेशनले जनाएको छ । रङ्गशाला निर्माणको लागत रु तीन अर्ब अनुमान गरिएको छ ।

रङ्गशाला निर्माणका लागि २३ लाख सङ्कलन

चितवन– यसैबीच धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा यहाँ निर्माण हुनलागेको गौतमबबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि रु २३ लाख सहयोग सङ्कलन भएको छ । पूर्वेली समाज चितवनले मङ्गलबार साँझ अबेर यहाँ आयोजना गरेको सहयोग रकम हस्तान्तरण कार्यक्रममा संस्था र विभिन्न व्यक्तिले सो रकम बराबरको चेक हस्तान्तरण र बोलकबोल गरेका हुन् । सोमध्ये रु ११ लाख १० हजारको चेक फाउण्डेशनलाई हस्तान्तरण गरिएको छ भने बाँकी रु १२ लाख ३५ हजार घोषणा भएको छ ।

कार्यक्रमको आयोजक पूर्वेली समाजले रु पाँच लाख सहयोग गरेको छ । समाजका अध्यक्ष डिकबहादुर गुरुङले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस० लाई चेक हस्तान्तरण गर्नुभएको हो । यस्तै उक्त कार्यक्रममै उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा तीलचन्द्र भट्टराईले रु १० लाख सहयोग रकम घोषणा गरे । घोषित रु १० लाखमध्ये रु पाँच लाखको चेक उहाँले सोही अवसरमा फाउण्डेशनका अध्यक्ष धुर्मुसलाई हस्तान्तरण गर्नुभयो । बाँकी रु पाँच लाख केही दिनमै उपलब्ध गराइने जानकारी दिए ।

भरतपुर महानगरपालिका–१२ का अध्यक्ष नरेन्द्र कङदङ्वाले पनि आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख तथा श्रीमतीको तर्फबाट रु १० हजार गरी कूल रु एक लाख १० हजारको चेक धुर्मुसलाई हस्तान्तरण गरे। झापा घर भई हाल चितवनमा बसोबास गर्दै आउनुभएका कुमार डाँगीले रङ्गशाला निर्माणका लागि फाउण्डेशनलाई रु पाँच लाख सहयोग रकम घोषणा गर्नुभएको छ ।

भरतपुर महानगरपालिका–९ का शिव घिमिरेले रु एक लाख एक हजार ५५१ घोषणा गर्नुभयो । यस्तै पूर्वेली समाजका अध्यक्ष डिकबहादुर गुरुङसँगै विभिन्न व्यक्तिले सहयोग रकम घोषणा गर्नुभएको थियो । घोषित रकम रु पाँच हजारदेखि २५ हजारसम्म छन् । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष कट्टेल, प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, रङ्गशाला निर्माण सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीलगायतले सबैलाई रङ्गशाला निर्माणमा जुट्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्