Light Nepal

‘प्रेम गीत ३’ मा पुरा भए सबै कलाकार : अनुभवको जोडीमा देखिनेछन् समृद्दी

काठमाडौं । यो वर्षको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’ मा समृद्धी शाही ‘ठकुरी’ पनि जोडिएकी छन् । फिल्ममा समृद्धीले ‘गीत’ पात्रको वाल्यअवस्थाको भूमिका निभाउने भएकी छन् । फिल्मको ‘गीत’ पात्रको बाल्यवस्थाको सुहाउँदो क्यारेक्टरको लागि लामो समयको खोज तथा अनुसन्धानपछि समृद्धी शाही ‘ठकुरी’लाई अनुबन्धित गरिएको निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।

निर्माण पक्षले यो भन्दा अगावै फिल्मको बाल्य ‘प्रेम’को भूमिकाको लागि चर्चित बाल कलाकार अनुभव रेग्मीलाई अनुबन्धित गरिसकेको छ । अब फिल्ममा बाल्य अवस्थाका ‘प्रेम’को भूमिकामा अनुभव र ‘गीत’को भूमिकामा समृद्धी देखिने भएका छन् । निर्माता तथा निर्देशक सेन र अर्का निर्देशक छेतेन गुरुङले कथामा सुहाउँदो भएकाले बाल कलाकारमा एउटा सम्भावना बोकेकी नयाँ बाल कलाकारको रुपमा समृद्धी शाहीको जन्म भएको प्रतिकृया दिए। साथै निर्माता सेनले फिल्म उद्योगमा समृद्धीलाई भित्र्याउन पाउँदा खुसी ब्यक्त गर्दै फिल्म ‘प्रेमगीत–३’ लाई दर्शकले चाहे अनुसारको बनाउन कुनै कसर बाँकी नराख्ने दावी गरेका छन् ।

निर्माता सेनका अनुसार समृद्धी शाही अनुबन्धित भएसँगै ‘प्रेमगीत–३’ का लागि सम्पूर्ण कलाकार लक भएको छ । यो फिल्ममा पाका कलाकार शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, मनिष रावत, पुष्कर कार्की, प्रेम पुरी, नव नायिका कृष्टिना गुरुङ, अनुभव रेग्मी र समृद्धी शाही मुख्य भूमिकामा देखिदैछन् ।निर्माण पक्षका अनुसार आगामी नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट ‘प्रेमगीत–३’ दर्शकमाझ रिलिजमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्