Light Nepal

मन्त्री र सभापतिबीच बैठकमै दोहोरी

काठमाडौं, १९ असार । संसदको विकास तथा प्रविधि सिमिति सभापति कल्याणीकुमारी खड्का र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच बाझाबाझ भएको छ । समिति बैठकमा सल्लाह नै नगरी सरोकारवालालाई पनि छलफलमा बोलाएको भन्दै मन्त्री सभापतिबीच विवाद भएको हो।

बिहीबारको बैठकमा समितिले मन्त्री महासेठसँग मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्य सूचि राखेको थियो। बैठकमा समिति सभापति खड्काले ‘बहिरा’लाई पनि सवारी चालक अनुमतिपत्र दिने विषयमा मन्त्रालयले किन ढिलाई गरेको भन्दै प्रश्न गरिन्। यस्तै, उनले यही विषयमा छलफल गर्न राष्ट्रिय बहिरा महासंघका प्रतिनिधि पनि बैठक स्थलमा आएको जानकारी गराइन्। बैठकको सुरुमै सभापतिले यसरी जानकारी गराएपछि मन्त्री महासेठले समय माग्दै आपत्ति जनाए।

उनले समितिको कार्यसञ्चालनप्रति नै आपत्ति जनाए। मन्त्री महासेठले समिति संसदीय मर्यादाविपरीत चलेको आरोप लगाए। ‘एकातिर मन्त्री र अर्कोतिर स्टेक होल्डर (सरोकारवाला) राखेर छलफल गरिँदैन’, मन्त्री महासेठले भने, ’यस्तो कुनै पनि समितिमा हुँदैन। यो नम्सविपरीत हो। तपाईंहरू (सांसद) ले प्रश्न गर्नुहोस् म उत्तर दिन्छु।’

मन्त्रीले आपत्ति जनाएपछि समिति सभापति खड्काले भने सरोकारवालासँग छलफल गर्नु संसदीय मर्यदाविपरीत नभएको दाबी गर्दै आफ्नो बचाउ गरेकी थिइन् ।
समिति बैठकको अन्तिमसम्म नै सभापति र मन्त्रीबीच आरोप प्रत्यारोप चलिरह्यो। बैठकको अन्तिममा सभापति खड्काले मन्त्रीले टार्न खोजेको आरोप लगाइन्।

प्रतिक्रिया दिनुहोस्