Light Nepal

प्रकाश दाहाललाई सम्झेर भावुक भइन् दिदी गंगा

काठमाडौं, १७ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको ३८ औँ जन्मजयन्तीको अवसरमा भएको कार्याक्रममा प्रकाशकी दिदी गंगा दाहाल भावुक भइन् । प्रकाश दाहाल स्मृति प्रतिष्ठानले सभागृहमा गरेको कार्यक्रममा उनले आफ्ना भाइ प्रकाश असल र मिलनसार रहेको बताएकी हुन् ।

उनले भनिन्, प्रिय भाइ गुमाउनु पर्दा हामी मर्माहित भएका छौँ । आठजनासहित उनले सगरमाथा आरोहण गरेका थिए । तर ३६ वर्षमै निधन भयो ।’ प्रकाशको भूमिका अहिले पनि सान्दर्भिक रहेको उनले बताइन् ।

विभिन्न राजनीतिक दलका नेताहरुले स्व।प्रकाश दाहालले छोटै समयमा भएपनि मुलुकको राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको बताएका छन्।
उनीहरुले प्रकाशले समाजमा गरेका राम्रा कामहरुको अनुशरण गर्न सक्नुपर्ने बताएका थिए। मंगलबार आयोजित सगरमाथा आरोही सम्मान कार्यक्रमका सहभागीहरुले सानै उमेरमा निधन भएका प्रकाश साहसिक योद्धा र कुशल व्यवस्थापक भएको बताएका थिए। कार्यक्रममा प्रकाशका पिता तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाशले ३६ वर्षकै उमेरमा सबै अनुभव संगालेको बताए।

‘सबै तितामिठा अनुभव प्रकाशले अनुभव गरे। राजनीतिक समाजसेवा, प्रेम विवाह, परिवार र आधुनिक प्रविधि’, प्रचण्डले भावुक हुँदै आफू प्रधानमन्त्री हुँदा उनले गरेको सहयोग अविस्मरणीय भएको बताए। प्रकाशको बाल्यकाल प्रतिकुल वातावरणमा वितेपनि उनी परिपक्क रहेको प्रचण्डले बताए। ‘जनयुद्ध ताका धेरै स्कुल फेरियो, कहिँ स्थिर भएर पढ्न सक्ने अवस्था भएन। युद्धमा गएपछि आफै सहभागी भएर विचित्रको अनुभव गरे।

शान्ति प्रकृयामा पनि उनले दिएका योगदान अनुभव र काम हेर्दा पूर्ण जीवन भोगेर गए’ प्रचण्डले सम्झना गरे। उनले मृत्युवरणमा पनि देश र पार्टीलाई सहयोग गर्दागर्दै गएको आफूलाई अनूभुति भएको प्रचण्डले स्मरण गर्दै प्रकाशका राम्रा पक्षलाई स्मरण गर्नुपर्ने जिम्मेवारी आफूहरुमा रहेको बताए। ‘उनका राम्रा पक्षलाई देश र जनताको पक्षमा सदुपयोग गर्नुपर्ने जिम्मेवारी हामीमा छ’ प्रचण्ड भने। कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकाश दाहालले विशेष काम गरेको बताए।

प्रतिक्रिया दिनुहोस्