ग्लोबल टीट्वेन्टीमा सोमपाल पनि तीन हजार डलरमा अनुबन्धित
काठमाडौं, ६ असार । ग्लोबल टीट्वेन्टी क्यानडा क्रिकेटको दोस्रो संस्करणमा सन्दीप लामिछानेसंगै अर्का नेपाली क्रिकेट खेलाडीले पनि सहभागीता जनाउने भएका छन् । विश्वका थुप्रै फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा सहभागीता जनाएका सन्दीप जस्तै अर्का नेपाली खेलाडी सोमपाल कामीले पनि अब आफुलाई प्रमाणीत गर्ने अवसर पाएका छन् । सोमपालले उक्त प्रतियोगितामा भाग लिनेछन्। प्रतियोगिता आगामी जुलाई २५ देखि अगस्त ११ तारिखसम्म चल्नेछ।
सन्दीपले उक्त प्रतियोगिताको पहिलो संस्करणमा पनि सहभागिता जनाएका थिए। यसपटक सन्दीपले टोरन्टो नेसनल्सबाट खेल्नेछन्। टोरन्टो नेसनल्सले १८ वर्षीय सन्दीपलाई ६० हजार अमेरिकी डलर (६६ लाख ५० हजारभन्दा बढी नेपाली रुपैयाँ) मा आबद्ध गरेको हो।
यसैगरी सोमपालले विनिपेग हक्स क्लबबाट खेल्नेछन्। उक्त क्लबले सोमपाललाई तीन हजार अमेरिकी डलर (तीन लाख ३३ हजार नेपाली रुपैयाँ) मा आबद्ध गरेको हो। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपालले कुनै पनि विदेशी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेल्न लागेको यो पहिलो पटक हो। २३ वर्षीय सोमपाल दायाँहाते मध्यमतेज गतिका बलर हुन्।