Light Nepal

अपडेट: कर्णालीमा जिप खस्दा बेपत्ता हुने १० जना, ८ जनाको नाम खुल्यो

हुम्ला, ३ असार । हुम्लामा मंगलवार भएको जिप दुर्घटनामा १० जना बेपत्ता भएको पुष्टि भएको छ । हुम्लाको खार्पुनाथ ५ को यांचु कुनामा दुर्घटना भई कर्णाली नदीमा खसेको जीपमा १० जना सवार रहेको प्रहरीले पुष्टि गरेको हो । खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सहित १० जना चढेको जिप सडकबाट २०० मिटर तल कर्णाली नदिमा खसेको हो । जिपमा सवार सबै बेपत्ता भएका छन् ।

घटनास्थलमा रहेका खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीका अनुसार दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल, उनका भाई चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुकु भण्डारी नामले चिनने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनार रहेको उनले पुष्टि गरे।

यसैगरी खार्पुनाथ गाउँपालिका १ कि कौर कामी र उनका २ वर्षका छोरा समेत दुर्घटनामा बेपत्ता भएको पुष्टि भएको छ । दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्री समेत परेका छन्। उनको नाम अझै खुलेको छैन।

लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका ५ को बेडबिसौना र कैलेवालुको खण्डमा दुर्घटनामा परेको हो । जिप २०० मिटर तल खसेर कर्णाली नदिमा बेपत्ता भएको छ । बेपत्ता नागरिकको खोजिका लागि प्रहरी र स्थानियको टोलि खटिएको छ । हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंह सहितको टोली घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्