Light Nepal

विदेश पढ्न जानेलाई नो अप्जेक्सन लेटर दिन बन्द गरिएपछि विद्यार्थी आक्रोशित

काठमाडौं, ३० । विदेशमा प्राविधिक शिक्षा अध्ययन गर्न जाने विद्यार्थीका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दिँदै आएको नो अप्जेक्सन लेटर बन्द गर्ने निर्णय सरकारले गरेपछि विद्यार्थी आक्रोशित भएका छन् । मन्त्रीस्तरिय बैठकले गरेको यस्तो निर्णयले लाखौं विद्यार्थी प्रभावित भएका छन् । विदेशी शैक्षिक संस्थामा डिप्लोमा तहको पढाइका लागि जाने विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको भन्दै आक्रोशित भएका हुन् ।

एनओसी लिन लामबद्ध विद्यार्थीलाई स्नातक तहको लागि मात्र एनओसी दिने मन्त्रालयका अधिकारीले बताएपछि बिहीबार शिक्षा मन्त्रालयको केशरमहलस्थित वैदेशिक शिक्षा अध्ययन अनुमति शाखाका प्रमुखलाई घेराबन्दी गर्दै विद्यार्थीले नारावाजी समेत गरेका छन् ।

विदेशी विश्वविद्यालयमा सम्पूर्ण कागजपत्र तथा पैसा समेत बुझाइसकेका विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । आधा काम भइसकेपछि मन्त्रालयले अकस्मात सूचना जारी गरेर आफूहरुलाई समस्यामा पारेको विद्यार्थीको गुनासो छ।

‘कलेजमा चार लाख पैसा बुझाइसकेको छु। अहिले मन्त्रालयले अकस्मात एनओसी दिन्न भन्छ’, जापान जाने तयारीमा रहेका स्याङजाका राजु थापाले आक्रोशित हुँदै भने, कलेजमा बुझाएको पैसाको जिम्मेवारी कसले लिने ?’

एनओसी नपाएका विद्यार्थीको भीडले घेरेपछि अनुमति शाखाका प्रमुख महेश्वर शर्मा कार्यकक्षमा चुकुल लगाएर बसेका थिए। अहिले वैदेशिक शिक्षामा जाने विद्यार्थीमध्ये सबै भन्दा धेरैको रोजाई अष्ट्रेलिया बनेको छ। दोस्रो रोजाईमा जापान छ। जापाने भने अधिकांस विद्यार्थी सुरुमा भाषा सिक्न जान्छन्।

प्रतिक्रिया दिनुहोस्