Light Nepal

यिनी हुन् आफ्नो आवाजवाट विश्वभरीका क्रिकेटका पारखीलाई मोहीत बनाउने पहिलो महिला ‘कमेन्टेटर’: भन्छिन् ‘पुरुषलाई च्यालेञ्ज गर्न म यहाँ आएकी होइन’ (भिडियो हेर्नुस्)

श्रृजना आचार्य
काठमाडौं, ३० जेठ । उनको क्षमता बाबालाई मात्र थाहा थिएन की उनै आफैले महशुष गरेकी थिइन् । लाग्थ्यो ‘म स्पेशल चाइल्ड’ हो । जिवनमा केही फरक गर्न सक्छु । आज उनले त्यो प्रमाणीत गरेकी छन् । यहाँ प्रशंग उठाउन खोजिएको बाँकेकी ममता थापा को हो । उनको परिचयको फेहरीस्त अलि लामै हुन्छ । उनी नेपाली राष्ट्रिय महिला क्रिकेट समुहको पूर्व उपकप्तान, सफल सञ्चारकर्मी हुन् । अहिले भर्खरै नेपालको पहिलो महिला कमेन्टेटरको रुपमा आफुलाई स्थापित गर्न खोज्दैछन् । उनी भन्दा पहिला केही महिलाले क्रिकेटमा कमेन्ट्री नगरेका भने होइनन् तर ब्यवसायीक रुपमा पारीश्रमिक लिएर नै कमेन्टेटरको रुपमा काम गर्ने उनी पहिलो महिला हुन् ।

पूर्व खेलाडी हुँदै कमेन्टेटरमा आउने त उनी एक्ली महिला हुन् । भारतमा जन्मिएकी ममतालाई त्यहाँ क्रिकेट प्रति देखिने क्रेजले आकर्षित गर्यो । उनी परिवारसंग नेपाल आएर क्रिकेटमै लागिन् । अन्तर विद्यालय हुँदै उनी महिला क्रिकेटको राष्ट्रिय टिममा सहभागी भइन् । सन् २००७ मा नेपालको पहिलो महिला क्रिकेटको राष्ट्रिय टिममा सहभागी हुने मौका पाउँदा उनले आफ्नो भविष्य यसैमा देखेकी थिइन् । विद्यालयमा विभिन्न खालका प्रतियोगिता हुन्थ्यो सबै खेलमा उनी सहभागी हुन्थिन् तर अरु खेलले उनलाई आकर्षित गर्न सकेन । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्री, विद्यालय प्रशिक्षक राजकुमार थापाले उनको भविष्य क्रिकेटमै छ भनेर देखाए ।

ममता भन्छिन् ‘मेरो लाइफमा तीन जना गड फादर हुनुहुन्छ लेखबहादुर क्षेत्री, राजकुमार थापा र आफुलाई जन्मदिने बुवा । अरु प्रि वोर्ड टेष्टको तयारीमा हुन्थे तर म भने विद्यालयवाट क्रिकेट प्राक्टिसमा जान्थे । मेरो बुवाले मलाई प्राक्टिसमा लिएर जानुहुन्थ्यो । परिवारको साथ नभए मेरो क्रिकेटको यात्रा सफल हुने थिएन ।’

सन् २०१४ देखि २०१६ सम्मको दुई वर्षको अवधिमा भने उनलाई खेल जिवनले निरास बनायो । कारण उनी आफै भने होइनन् । कुनै जमानामा महिला क्रिकेटको उर्वर भूमी मानिएको क्षेत्र नं ५ मा महिला क्रिकेटरहरुको लागि कुनै खेल भएन । न घरेलु प्रतिस्पर्धा भए न राष्ट्रिय र अन्तराष्ट्रिय क्रिकेट प्रतियोगीतामा जाने अवसर पाए । उनी भन्छिन् हामीले आफ्नो क्षमता देखाउने कुनै फिल्ड पाएनौं त्यती बेला धेरै साथीहरुले फरक क्षेत्र रोजे मैले त्यही बेलामा हो मिडिया रोजे । ममता अहिले नेपालगञ्जको निजि टेलिभिजन हुँदै नेपाल टेलिभिजनको क्षेत्रिय प्रशारण केन्द्र कोहलपुरमा कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत छन् । सकृय क्रिकेट खेलाडीका रुपमा गति कमजोर भएको बेलामा अहिले उनी एउटा सञ्चारकर्मीका रुपमा पश्चिम नेपालमा चम्किएकी छन् । यही चमकमा अहिले नयाँ परिचय थपियो कमेन्टेटर ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता हेर्न सबै खेलप्रेमी खेल मैदानमा पुग्न सक्दैनन् । टिभी वा अन्य सञ्चार माध्यममा खेल हेर्ने र सुन्ने दर्शकका लागि प्रतियोगितामा के भइरहेको छ भनेर लाइभ जानकारी दिने काम कमेन्ट्री हो । अब नेपाली क्रिकेट खेलाडी सहभागी भएको प्रतियोगितामा निकै रोमाञ्चक आवाजमा खेल सम्बन्धि जानकारी सुन्ने मौका पाउनु भयो भने त्यो आवाज ममता थापाको हुनेछ । कमेन्टेटरले खेलको बर्णन गर्ने शैलीले खेललाई थप रोमान्चक बनाउँछ ।

एपीवान टेलिभिजनमार्फत कर्णाली प्रदेश र प्रदेश १ को खेलबाट कमेन्ट्रीमा ‘डेब्यु’ गरेकी ममताले काठमाडौंमा भर्खरै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा महिला कमेन्टेटरको भूमिका निभाएर बाँके फर्किएकी छन् । आफ्नो यौवन क्रिकेटमै विताएकी ममतालाई क्रिकेटको मोहले छोडेन र कहिल्यै छोड्ने छैन । खेल मैदानमै गएर क्रिकेटको बल समात्ने अवसर नपाएको बेलामा उनले कमेन्ट्री बक्समा माइक समाएर त्यो सपना पुरा गर्नेछन् । भन्छिन् ‘माइक समातेर बोल्दा कुनै खेलाडीले मिस्टेक गरेको देखे भने आफै दौडेर गएर खेलिदिउँ जस्तो लाग्छ, यस्तो लाग्छ म नै फिल्डमा खेलिरहेकी छु’ उनले अहिले कमेन्ट्री गर्दाको अनुभव सुनाइन् ।

उनले आफु अहिले पनि क्रिकेट खेलीरहेको बताइन् । केही समय अझै क्रिकेट र कमेन्ट्रीलाई संगै लिएर जाने योजना बनाएकी ममताका लागि समय ब्यवस्थापन भने निकै चुनौती बनेको छ । मिडियामा पनि उत्तिकै सकृय हुनुपर्ने भएकाले समय ब्यवस्थापन उनका लागि चुनौती बनेको हो ।

पुरुषको वाहुल्यता र पुरुषको खेललाई नै प्राथमिकता दिने हाम्रो मुलुकको वातारणमा एउटा महिला कमेन्टेटरका रुपमा आफुलाई स्थापित गर्ने कोशिष गरिरहँदा देखेको सपना के हो ? उनी भन्छिन् ‘म यहाँ पुरुषसंग प्रतिस्पर्धा गर्न आएको होइन । केटाहरुले कमेन्ट्री गर्न सकछन् म पनि गर्न सक्छु है भनेर म त्यो च्यालेञ्ज दिन आएको होइन । नेपालमा ब्यवसायीक रुपमा कमेन्ट्री गर्ने अवसर मैले पाए । मेरो जिवनको महत्वपुर्ण समय क्रिकेटमा बिताइसकेको छु भने क्रिकेट खेलेर आर्जन गरेको त्यो ज्ञान म मेरो आवाजवाट विश्वलाई दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्