Light Nepal

शौचालयमा डुबेर चार बालबालिकाको मृत्यु, घरबनाउने क्रममा माटोले ढिस्कोले पुरीएर एक महिलाको ज्यान गयो

दार्चुला, २६ जेठ । दार्चुलामा शौचालय भत्किँदा चार बालबालिकाको मृत्यु भएको छ। मंगलबार नौगाड गाउँपालिका–४ सिप्टीमा गणेश विनायक माविको शौचालयको छाना भत्किँदा चार बालबालिकाको मृत्यु भएको हो । विद्यालय बन्द रहेको समयमा साढे चार बजेतिर शौचालयको छतमा खेल्दै गर्दा ५ देखि ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा अन्दाजी ८ वर्षीया निरुता ठगुन्ना, १० वर्षीया अनुष्का धामी, ५ वर्षीया युनिका ठगुन्ना र ८ वर्षीय सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। अझै शवहरु फसेको हुन सक्ने भन्दै प्रहरी टोली तथा स्थानीयले उद्धार कार्य जारी राखेको प्रहरी चौकी सिप्टीका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिए।

यसैबीच भक्तपुरको मध्यपुर थिमी नगरपालिका नगरपालिका ६ कुण्डोलमा घरको जग हाल्ने क्रममा माटोको ढिस्कोले पुरिएर मंगलबार एक जनाको ज्यान जानुका साथै अर्को एकजना घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार घर निर्माणको काम गर्ने सिन्धुपाल्चोक घर भई हाल मध्यपुर थिमीमै बस्दै आएकी ३५ वर्षीया रोजनी खड्काको ज्यान गएको हो। त्यस्तै सिन्धुपाल्चोक सुनखानी गाउँपालिका ५ घर भई हाल कुन्डोलमै बस्दै आएका वर्ष ३८ का दावा तामाङ घाइते भएका हुन्।

उनीहरु सिन्धुपाल्चोक सुनखानी गाउँपालिका ५ घर भएका अम्मरबहादुर पराजुलीको नयाँ घरको जग हाल्ने काम गर्दै थिए। प्रहरीका अनुसार पराजुलीको नयाँ घरको जग हाल्ने क्रममा माटोको ढिस्को पल्टन गई काम गरिरहेका खड्का र तामाङ पुरिएका थिए। तत्काल उनीहरुलाई उद्धार गरी मध्यपुर अस्पताल लगिएको भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्