Light Nepal

गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन, प्रहरी हान्यो लाठी र पानीको फोहरा (भिडियो हेर्नुस्)

काठमाडौं, २६ जेठ । गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेकाहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ। गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ खारेजी गर्नुपर्ने माग गर्दै सर्वसाधारण आइतवार प्रदर्शनमा उत्रिएका थिए । उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पानीको फोहरा वर्षाएको छ । प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले लाठी प्रहार पनि गरेको छ ।

गुठी विधेयकका कारण सनातन धर्म र संस्कृतिमाथि आक्रमण भएको भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् । सर्वसाधारणको आन्दोलनमा एक्येवद्धता जनाउँदै संघसंस्थाका प्रतिनिधि समेत माइतीघर मण्डला पुगेका थिए । सुरुमा मण्डलामै बसेर प्रदर्शन गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधि विस्तारै सडकमै निस्किए पछि प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनका क्रममा सडकमै सुतेपछि प्रहरीले बल प्रयोग गरेको हो।

पटकपटक सम्झाउँदासमेत सडकमा सुतेका प्रदर्शनकारी नउठेपछि प्रहरीले पानीको फोहोरा हानेर भिड तितरवितर पारेको जनाएको छ । प्रहरीले केही प्रदर्शनकारीलाई लाठी प्रहार गरेको छ भने केहीलाई पक्राउसमेत गरेको छ।

प्रदर्शनकारीले ‘गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ खारेज गर’, ‘परम्परागत सनातन धार्मिक सांस्कृतिक धरोहर अतिक्रमण गर्ने प्रस्तावित गुठी विधेयक २०७५ अबिलम्ब खारेज गर’लगायत लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए।

प्रतिक्रिया दिनुहोस्