Light Nepal

वैज्ञानिकले बनाए मुटु मर्मत गर्ने ‘प्याच’

लन्डन । बेलायतको इम्पेरियल कलेजका वैज्ञानिकको समूहले मुटु मर्मत गर्ने जैविक ‘प्याच’ विकास गरेका छन् । उनीहरूले ३ सेन्टिमिटर लामो र २ सेन्टिमिटर चौडा बुढीऔंला जत्रो जैविक प्याच प्रयोगशालामा विकास गरेको हो । लन्डनस्थित कलेजका वैज्ञानिकले विकास गरेको ‘प्याच’ मा ५ करोडभन्दा बढी कोष छन् ।

बिरामीकै ‘स्टेम सेल’ ९कोष०बाट विकास गरिएको प्याचले हृदयघातपछि कमजोर भएका मुटुको मर्मत गर्न सक्ने वैज्ञानिक समूहले बताएको छ । करोडौं जीवित कोषको प्याचले बिरामीको शरीरका अन्य कोषले जस्तै शरीरोपयोगी रसायन बनाउनुका साथै कमजोर मुटुको मर्मत पनि गर्छ । बिरामीकै कोषबाट प्याचले आफूलाई स्वस्थ र काम गर्ने मांसपेशीमा विकसित हुन्छ ।

यसलाई मुटुमाथि सिलाएपछि निस्कासन गर्ने रसायनले मुटु मर्मत गर्नुका साथै मुटुका नयाँ कोषसमेत बनाउँछ । खरायोमा गरिएको परीक्षणबाट यो मानवका लागि पनि सुरक्षित र उपयोगी हुने देखिएको कलेजका वैज्ञानिकले बताएका छन् ।

‘छिट्टै चिकित्सकले हृदयघात भएका व्यक्तिलाई यो प्याच राख्न सुझाउन पाउने अपेक्षा हामीले लिएका छौं’, अनुसन्धानकर्ता डा।रिचर्ड जाबोरले भने, ‘हार्ट फेल भएका बिरामीलाई केही औषधिसहित यो प्याच प्रेस्क्राइब गर्न सकिनेछ । चिकित्सकहरूले यो प्याच ¥याकबाट झिकेर सीधै बिरामीमा प्रत्यारोपण गर्न सक्नेछन् । अनुसन्धानका लागि अनुदान दिने ब्रिटिस हार्ट फाउन्डेसनका प्रोफेसर मेटिन आकिरणले भने, ‘हार्ट फेल एउटा उपचार नै नहुने स्थिति हो, जसले दैनिक जीवनयापन नै अत्यन्त कठिन बनाउँछ ।’

प्रतिक्रिया दिनुहोस्