Light Nepal

जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउन नेकपा सचिवालय बैठक आज पनि बस्दै

काठमाडौं, २३ जेठ । सत्तारुढ नेकपा केन्द्रीय सचिवालय बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । बिहान ९ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु हुने जनाइएको छ । आजको बैठकमा जिल्लाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी बाँडफाँडका विषयमा छलफल र निर्णय हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् । हिँजो बुधवार पनि सचिवालयको बैठक बसेको थियो । तर मुख्य नेताहरुबीच सहमति हुन नसकेपछि आजका लागि बैठक बस्ने निर्णय गरेर टुंगिएको थियो ।

इन्चार्ज र सहइन्चार्जको टुंगो हिजो (बुधबार) कै बैठकमा लगाउने भनिएको थियो। तर, वरिष्ठ नेता माधव नेपालले फरक मत राखेपछि सहमती हुन नसकेको हो ।

त्यसैगरी बैठकमा सरकारको कामको समीक्षा र अन्य सांगठानिक कामका विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए। बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको कार्यविभाजन मिलाउन मध्यमार्गी प्रस्ताव अगाडि सारेका थिए।

कार्यविभाजनमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले आआफ्नो अडान नछाडेपछि दाहालले विकल्पका रूपमा मध्यमार्गी प्रस्ताव ल्याएको नेकपा सचिवालयका एक सदस्यले बताए।

जनप्रतिनिधि रहेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज–सहइन्चार्ज बन्न बन्देज लगाउन नहुने प्रचण्डको प्रस्ताव छ। तर माधव नेपालले भने जनप्रतिनिधि बनिसकेकालाई जिल्लाको नेतृत्व दिन नहुने बताउँदै आएका छन् ।

विवाद मिल्न नसक्दा सचिवालय बैठक निर्णयमा पुग्न नसकेको हो। प्रवक्ता प्रकाशले जिम्मेवारी तय गर्ने मापदण्ड र नीतिका विषयमा अनेक विकल्पका विषयमा छलफल भएको बताए।

प्रतिक्रिया दिनुहोस्