Light Nepal

प्रधानमन्त्री र पत्नी राधिकाले छोरी बनाएका दुई बालिका पढ्ने खर्च नभएपछि यार्सा टिप्न हिमाली क्षेत्रमा

मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेकी एक बालिका पढ्ने खर्च जुटाउन यार्सागुम्बा संकलन गर्न हिमाली क्षेत्र गएकी छन् । बाबु गुमाएकी मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँकी ८ वर्षीया ठिन्ले साङमु लामा पढाई खर्च जुटाउन पाटन स्थित हिमाली क्षेत्र गएकी हुन् । उनी एक महिनाका लागि यार्सागुम्बा टिप्न हिमालतिर हिडेकी हुन् ।

२०७५ वैशाख १ गते कर्णाली रारा पर्यटन वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न रारा पुगेका प्रधानमन्त्री ओलीले विद्यालय भर्ना अभियानको अवसर पारेर ८ वर्षीया लामालाई कक्षा १ मा भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका थिए। तर उनको पढाईको अवस्थाका बारेमा भने त्यसपछि बुझ्न कोही पुगेका छैनन् । लामाको अभिभावकत्व प्रधानमन्त्री ओलीले लिएपछि उनको पठनपाठन तथा दैनिक दिनचर्यामा परिवर्तन आउने अपेक्षा उनका आफन्त र छिमेकीले लिएका थिए। तर लामाले एक कक्षामा राम्रै नतिजा ल्याएर दुई कक्षामा पुगेको एक महिनामै थप खर्च जुटाउनुपर्ने बाध्यता आएको हो।

लामाजस्तै गएको अघिल्लो बैशाख १ गते नै प्रधानमन्त्रीपत्नी राधिका शाक्यले अभिभावकत्व ग्रहण गरी भर्ना गरेकी छिरिङ छोङजुम लामा पनि पढाई तथा अतिरिक्त खर्च जुटाउन यार्सा संकलन गर्न हिमाली क्षेत्र पाटन हानिएकी छन् । सानै उमेरमा बाबु वितेपछि बहिनीले दुःख सुख गरेर बाल बच्चा हुर्काइन्। तर अहिले भान्जीका उमेर समूहका प्राय जसो बालबालिका यार्सा टिप्न हिमालतर्फ जाने गरेको तथा उनीहरुले एक महिनामा न्युनतम एक लाखसम्म कमाई गर्ने भएकाले पनि पाटन गएको लामाका मामा ग्याल्जेन लामाले बताए।

प्रतिक्रिया दिनुहोस्