Light Nepal

कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले वजेटमा भएको गल्ती पत्ता लगाएपछि, अर्थमन्त्रीले खतिवडाले दिए धन्यवाद

काठमाडौं, १९ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दा बजेट पुस्तिकामा भएको त्रुटि नेपाली कांग्रेसले पत्ता लगाएको
छ । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले उक्त त्रुटिबारे जानकारी गराएका थिए । उनले त्रुटिवारे जाकारी दिँदै अर्थमन्त्रीको जवाफ समेत मागेका थिए ।

‘सरकारले बजेटको अनुसूची १ मा आर्थिक वर्ष ७५÷७६ को संशोधित अनुमान पेश गरेको छ । त्यसमा त्रुटि छ । त्यो त्रुटिको गम्भीर प्रभाव रहन्छ । अर्थमन्त्रीले जवाफ नदिइकन बजेटका बारेमा छलफल गर्नु उचित हुन्न’ उनले भने ।

सरकारले आर्थिक वर्ष २०७५÷७६ मा चालु खर्च ७ सय ८३ अर्ब, पूँजीगत खर्च २ सय ७३ अर्ब र वित्तीय व्यवस्था १ सय ५३ अर्ब रुपैयाँ हुने संशोधित अनुमान गरेको छ । यस अनुसार चालु आर्थिक वर्षमा १२ खर्ब ८ अर्बको स्रोत साधन चाहिने अर्थमन्त्रीले बताएका छन् ।

कांग्रेस नेता रिजालका अनुसार स्रोत साधन जोहो क्रममा सरकारले राजस्वबाट ८ सय ६० अर्ब राजस्व जम्मा हुन्छ भनेको छ । यो राजस्वमध्ये १ सय २ अर्ब प्रदेश र स्थानीय सरकारलाई दिनुपर्ने हुन्छ । त्यसो गर्दा संघीय सरकारले खर्च गर्न पाउने राजस्व रकम ७ सय ५८ अर्ब रुपैयाँ हुन्छ ।

तर बजेट पुस्तिकामा प्रदेश र स्थानीय तहलाई दिनुपर्ने राजस्व कुल राजस्वबाट घटाउनुको सट्टा जोडेर संघीय सर्वसञ्चित कोषमा दाखिला हुने गरी ९ सय ६२ अर्बको राजस्व अनुमान गरेको छ भन्दै रिजालले त्यो गलत भएको बताए ।

कांग्रेस नेता रिजालले वजेटमा भएको त्रुटि देखाइदिएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले धन्यवाद दिएका छन् । उनले वजेटमा त्रुटि भएको स्वीकार गर्दै सरकारले उठाउने कुल राजस्वबाट प्रदेश र स्थानीय तहले पाउने राजस्व घटाउनुपर्ने बताए ।

मन्त्री खतिवडाले बजेट सार्वजनिक गरेपछि अर्थ मन्त्रालयले छोटो समयमा २२ वटा पुस्तिका निकाल्नुपर्ने भएकाले केही त्रुटि भएको बताए । ‘कहिलेकाहीँ भवितव्य पर्दोरहेछ, मेसिनले जोड्नुपर्नेमा हातले जोड्दा घटाउँदा त्रुटि भएको हो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्