Light Nepal

रंगशालाको बार भत्काउने रेणु दाहालका मतदाता, रेणुले दिइन् पक्राउ गर्ने आदेश

भरतपुर, १६ जेठ । चितवन जिल्लामा धुर्मुस–सुन्तली फाउण्डेशनले बनाउन लागेको भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा सुरक्षाका लागि लगाइएको जस्तापातासहितको बार स्थानीयले बुधबार बिहान भत्काइदिएका छन् । भत्काउने काममा फाउण्डेशनको कार्यालय राखिएको घरवेटी स्वयं सहभागी थिए । उनको नेतृत्वमा नै बार भत्काइएको थियो ।सडक विस्तार गर्ने सम्बन्धमा असन्तुष्ट पक्षले बुधवार डोजर लगेर रंगशालामा लगाइएको बार भत्काएका हुन् । उनीहरुले एक घण्टा लगाएर बार भत्काएपछि मात्र सुरक्षाकर्मी पुगेको थियो ।

रंगशाला सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले बार भत्काउँदा खिचेको तस्बिर समेत उनीहरुले धम्क्याएर डिलिट गर्न लगाएका थिए । साथै फाउण्डेशनका कर्मचारीलाई समेत धम्क्याएका थिए । डोजर नै प्रयोग गरेर झण्डै १ किलोमिटर क्षेत्रमा लगाइएको बार भत्काइएको हो ।स्थानीयहरूले रंगशाला निर्माण गर्दा त्यसको वरीपरी बाटो छोड्नुपर्ने माग राख्दै आएका थिए । सोही विषयमा केही दिन अघि सिताराम कट्टेलसंग छलफल पनि भएको थियो । भार भत्काउनेहरूलाई अराजक व्यक्तिहरूको संज्ञा दिइएको छ ।

बार भत्काउनेहरूमा सत्तारुढ नेकपाका स्थानीय नेता तथा कार्यकर्ता हुन् । भत्काइएको क्षेत्रको बुधबार जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललगायतले अनुगमन गरेका छन् ।बार भत्काइएको स्थानको अवलोकनपछि मेयर रेणु दाहालले दोषीलाई कारबाही गर्न एसपी दानबहादुर मल्ललाई निर्देशन दिएकी थिइन् ।‘मेयर रेणु दाहालले आफ्नै मतदाताहरूलाई पक्राउ गर्न एसपी दानबहादुर मल्ललाई निर्देशन दिएपछि सो कार्यमा संलग्नलाई बुधवार नै पक्राउ गरिएको छ ।

बार भत्काउनेलाई पक्राउ गरिएपछि स्थानियले बिरोध गरेका छन् । उनीहरुले आफुहरुको मागको सुनुवाई नगरेको भन्दै विरोध जनाएका छन् ।लामो समय पुष्पकमल दाहाल ‘प्रचण्ड’को अंगरक्षक बसेका चितनव प्रहरीका प्रमुख एसपी मल्ल भरखरै जिम्मेवारी सम्हालेर चितवन आइपुगका हुन् । घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ गरेको चितवन प्रहरी प्रवत्ता डिएसपी दुर्गाराज रेग्मीले बताएका छन् ।

भत्काउन प्रयोग गरिएको डोजर समेत नियन्त्रणमा लिइएको छ ।रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने स्थानीयको माग छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने उनीहरूको भनाई छ । उनीहरुले कृषि तथा वनविज्ञानको समेत तारवार भत्काएका छन् । स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरूको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

प्रतिक्रिया दिनुहोस्