Light Nepal

भारतीय नागरीकले नेपाली व्यवसायीमाथि गोली गरेपछि विरोधमा भैरहवा बन्द

भैरहवा, २९ फागुन । भैरहवाका व्यवसायीमाथि लक्षित गरी गए राती गोली प्रहार गरेको र प्रहरीले उल्टो पीडितलाई केरकार पारेको भन्दै विरोधमा भैरहवा बजार बन्द गरिएको छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका सदस्य हरिष सेठियामाथि भएको गोली प्रहार र प्रहरीले पीडितलाई थप दुःख दिएको तथा चोरी डकैती बढेको भन्दै संघले मंगलबार भैरहवा बजार बन्द आह्वान गरेको छ । बजार बन्द गरिए पनि शैक्षिक संस्था, अस्पताल र यातायात भने खुल्ला छन् । गएराति आफ्नो व्यवसायिक प्रतिष्ठानबाट घरतर्फ जाँदै गर्दा संघका सदस्य तथा भैरहवा बैंक रोडका मोबाइल व्यवसायी सेठयामाथि गोली प्रहार भएको थियोे ।

भारतीत नम्बर प्लेटको मोटरसाइकलमा आएका दुईजनाको समूहले सेठियालाई गोली प्रहार गरेका थिए । तत्काल स्थानीय र प्रहरीको प्रयासमा अगाडिको भागमा ७८६ र पछाडिको भागमा यूपि ५६ इ ४१४९ नम्बर प्लेट भएको मोटरसाइकल, एउटा घरेलु कटुवा पस्तोल, फायर भएको खोका, १ थान गोली, सामसुङ मोबाइल डायरी सहित भारत महाराजगंज थाना कोतवाली मोनजोत ग्राम पञ्चायत बस्ने ४६ वर्षका रामजान मुसलमानलाई प्रहरीले पक्राउ गरिएको थियो । अर्का एक जना भने फरार छन् ।

तर व्यवसायीले भने घटनाका दोषीलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्नुको साटो प्रहरीले उल्टो पीडितलाई अन्याए हुने काम गरेको आरोप लगाउँदै बजार बन्द गरेका छन् । ‘पीडितलाई न्याए दिनुको साटो उल्टो अनुसन्धानको निहुँमा दुःख दिने काम भयो । रातीसम्म कठघरमा राखेर दुःख दिइयो’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले भने ।

संघका सचिव नेत्रप्रसाद आचार्यले प्रहरीले अनावश्याक व्यवसायीलाई दुःख दिएको आरोप लगाए । पीडित सेठियाले आफूलाई गोली प्रहार गर्ने व्यक्ति को थिए भने जानकारी नभएको र चिनजान पनि नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्