Light Nepal

ममता चौधरी माथिको आक्रमण रहस्यमय बन्दै, विप्लव भन्छ ‘हामीले होइन’

धनगढी, २९ फागुन । घोडाघोडी नगरपाललिकाका मेयर ममताप्रसाद चौधरी माथि भएको आक्रमणको घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले विप्लव समुहको नेकपाले आक्रमण गरेको आशंकामा तीन जना कार्यकर्ता पक्राउ गरेको छ । टाउकोमा धारीलो हतियार र कम्मर तल गोलीको छर्रा लागेर घाइते भएका ममताको अवस्था गम्भिर छ । उनको काठमाडौं स्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी माथि सोमवार राति आफ्नै निवासमा बसीरहेको बेलामा चार जनाको समुहले खुकुरी र गोली प्रहार गरेको हो । चौधरीमाथी गरिएको आक्रमण आफ्नो पार्टीले नगरेको बिप्लब माओवादीले जनाएको छ ।

नेकपा माओवादी विप्लवका जिल्ला सचिवालय सदस्य विनोद विष्टले मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै मेयर चौधरी माथीको आक्रमणमा आफ्नो पार्टी संलग्न नभएको स्पष्ट पारेका छन् ।

जिल्ला सचिवालय सदस्य बिनोद बिष्ट द्वारा हस्ताक्षरित बिज्ञप्तीमा ‘चौधरीमाथि भएको गोली एवं खुकुरी प्रहार घटना सुनियोजित हो’ भने, ‘हाम्रो पार्टी अहिले हतियार उठाएर जनकारवाही गर्ने पक्षमा छैन् ।’ भनिएको छ ।

पार्टीले नगर प्रमुख चौधरीमाथि कारवाही गर्ने भनेर विज्ञप्ति जारी गरेको भएपनि पार्टीको जनकारवाहीमा हतियारले आक्रमण गर्ने कारवाही पनि नरहेको उनको भनाई छ ।

राति घरमै सुतिरहेको अवस्थामा राष्ट्रिय युवा जनस्वयसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), नगर सेक्रेटरी भरत शाह र टीकापुर नगर सेक्रेटरी हृदय बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बेलुकी ८ बजेर १० मिनेटको समयमा घरमै बसिरहेका बेला दुई मोटरसाइकलमा आएका ४ जनाले चौधरीमाथि गोली प्रहार र धारिलो हतियारले आक्रमण गरेका थिए । चौधरीमाथि आक्रमण गरेपछि २ जना मोटरसाईकलमा र अन्य मोटरसाइकल छोडेर नगर प्रमुखको घरबाट पश्चिमतर्फ रहेको जंगलतिर भागेका थिए । से २ प ३६७१ नम्बरको मोटरसाइकल प्रहरीले नगर प्रमुखको घरबाट बरामद गरेको छ ।

यसैबीच कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी माथि साघातिक आक्रमणको बिरोधमा मंगलबार बिहानै देखी घोडाघोडी नगरपालिकाको मुख्य बजार सुखड युवा संघले बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्