Light Nepal

स्वास्थ्य चौकीको भवन निर्माण

बाबियाचौर, म्याग्दी, २९ फागुन । रघुगंगा गाउँपालिका–२ भगवतीस्थित स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ ।शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको रु एक करोड ३८ लाख २० हजार लगानीमा दुईतले १० कोठे भवन निर्माण गरेको हो ।

भवनको भुइँतलामा बिरामीको स्वास्थ्य परीक्षण, औषधि भण्डारण, प्रसूति, बिरामी उपचारस्थल, प्रशासनिकलगायत कक्ष रहेका छन् ।पहिलो तलामा आवास सुविधाको लागि कोठा बनाइएको छ । ठेक्कामार्फत निर्माण सम्पन्न भएको सो भवन सोमबार एक समारोहका बीच स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

नाना÷हरि जेभीले ठेक्का पाएको भवन लक्ष्यभन्दा दुई महिनाअघि निर्माण भएको हो ।निर्माण व्यवसायी कृष्णकुमार शेरचनले डिभिजन प्रमुख प्रकाश अर्यालमार्फत जिल्ला समन्वय समितिका प्रमुखसमेत रहनुभएका भवन निर्माण समितिका अध्यक्ष देवेन्द्रबहादुर केसीलाई भवन हस्तान्तरण गरे ।

जिसस प्रमुख केसीले विकास निर्माणमा ढिलासुस्ती भइरहेको अवस्थामा भगवती स्वास्थ्य चौकी निर्धारित मितिभन्दा अघि नै सम्पन्न भएर सकारात्मक सन्देश दिन सफल भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष भण्डारीले भवनमा फर्निचर र उपकरणको व्यवस्था गरेर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने बताए।

भवन निर्माणका लागि रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र लोकबहादुर भण्डारीले सात वर्षअघि चार रोपनीभन्दा बढी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराएका थिए । भवबहादुरले रु छ लाख ५० हजारमा तीन रोपनी, लोकबहादुरले रु एक लाख ३० हजारमा एक रोपनी र स्वास्थ्य चौकीको रु एक लाख लगानीमा जग्गा खरिद गरेको थियो ।

जीर्ण अवस्थामा रहेको वडा कार्यालयको भवनको दुईवटा कोठाबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीलाई नयाँ भवन स्थानान्तरण गरिने वडाध्यक्ष रिम कटुवालले बताउनुभयो । सो स्वास्थ्य चौकीबाट भगवतीका साथै पिप्ले र बेगका बासिन्दाले सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्