Light Nepal

कोरियाले माग्यो ७ हजार कामदार

काठमाडौं, २३ फागुन । दक्षिण कोरियाले अबको केही महिनामा पुनः सात हजार कामदार लैजाने भएको छ । तर, कोरियाले तोकेको उक्त कोटाको संख्या देखेर चाहिँ हर्षित भने नहुनोेस् है ।

किनकि कोरियाले कोटा तोक्दैमा र भाषा परीक्षा उत्तीर्ण गर्दैमा रोजगारीका लागि कोरिया जान पाइँदैन । रोजगारीका लागि कोरिया जाने हो भने तपाईले गर्ने काम चुस्त र प्रतिस्पर्धी हुनुपर्छ । र, त्यस्ता प्रतिस्पर्धीलाई कोरियन रोजगारदाताले पत्याउनु पर्नेछ । नत्र भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरिया जान पाइने छैन ।

कोरियन रोजगार अनुमति प्रणाली (इपिएस) सुरु भएयता ६२ हजार चार सय ७३ ले भाषा परीक्षा पास गरे पनि हालसम्म ५० हजार चार सय ५४ जना मात्र रोजगारीका लागि कोेरिया जान सकेका छन् । ‘त्यसैले हामीले परीक्षाको सूचना प्रकाशित गर्ने बेला नै भाषा परीक्षा पास गर्नु भनेको कोरिया जाने ग्यारेन्टी होइन भन्ने गरेका छौं,’ इपिएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भने । उनले भने, ‘भाषा परीक्षा उत्तीर्ण गर्नु भनेको कोरिया जानका लागि एउटा खुडकिलो मात्र पार गर्नु हो ।’

पछिल्लो समयमा कोरिया जाने युवायुवतीको चाहना बढेपछि राजधानीमा बग्रेल्ती खुलेका भाषा सेन्टरहरूले कोरिया जानका लागि भाषा परीक्षा नै सबथोक हो जस्तो व्यवहार गर्दा कैयौं युवायुवती झुक्किने गरेको इपिएस शाखाका कर्मचारी बताउँछन् । गाउँगाउँबाट आएका युवायुवतीलाई कोरिया जाने हो भने भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने र त्यसको जिम्मा आफ्नो इन्स्च्यिुटले लिने भन्दै झुक्याउने धन्दा निकै बढेको छ ।

एक पटक भाषा परीक्षामा सफल भएको व्यक्ति दुई वर्षसम्म कोरिया पुगिसक्नु पर्छ । कुनै कारणवशः कोरिया जान नपाए त्यस्ता युवायुवतीले दुई वर्षपछि पुनः भाषा परीक्षामा प्रतिस्पर्धा गर्नुपर्छ ।
सन् २०१८ मा कोरियाको कृषि क्षेत्रमा काम गर्न दुई हजार र कृषि क्षेत्रका लागि पाँच हजार कोटा तोकेको इपिएस शाखाले जनाएको छ ।

कोरिया छनोटको प्रक्रिया

कोरिया छनोटको पहिला आधार भाषा परीक्षा उत्तीर्ण गर्नु हो । उक्त भाषा परीक्षामा जसले सबभन्दा बढी अंक ल्याउँछन् । ती युवायुवतीको नामावली रोस्टर सूचिमा राखेपछि कोरियाका रोजगारदाताले कामदार छनोट गर्छन् । भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरियामा रोजगारीको ग्यारेन्टी हुँदैन ।

भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए त्यस्ता युवायुवती कोरिया जान पाउँदैनन् । दुई वर्षको अवधिमा रोजगारदाताले नबोलाए कोरियन भाषा उत्तीर्ण गरेका युवायुवतीको नाम रोस्टर सूचिबाट हट्छ । र, त्यस्ता युवायुवती कोरिया जान अयोग्य हुन्छन् । सन् २००८ यता नेपालबाट ५० हजार चार सय २४ युवा कोरिया गइसकेका छन् । भाषा परीक्षा भने ६२ हजार चार सय ७३ ले उत्तीर्ण गरेका छन् ।
भण्डारीले फागुन चौथो साता सूचना प्रकाशित गरेर चैत तेस्रो सातादेखि नयाँ दरखास्त संकलन गरिने बताए ।

 


यसपटक पनि दरखास्त अनलाइनमार्फत संकलन गरिने व्यवस्था मिलाइएको उनले जानकारी दिनए । दरखास्त संकलन पछि जेठ अन्तिम साता शाखाले भाषा परीक्षा सञ्चालन गर्नेछन् । सन् २०१८ मा १० हजार एक सय कोटा तोकेको कोरियाले सन् २०१७ का लागि तीन हजार एक सय कोटा निर्धारण गरेको थियो ।
सन् २०१८ को लागि १० हजार १ सय कामदारको सिलिङ दिएको कोरियाले १२ हजार १ सय ८ जना परीक्षार्थीलाई भाषा परीक्षामा पास गराएको थियो । यो वर्ष पनि कोटाभन्दा बढी परीक्षा पास हुने अनुमान गरिएको छ ।नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । भाषा परीक्षामा सहभागी हुनेको उमेर १८–३९ हुनेपर्ने शाखाले जनाएको छ ।

पाँच वर्ष बढी कोरिया बसेका भाषा परीक्षामा सहभागी हुन नपाउने

कोरियाले मानव संशाधन विभागले कोरियामा ५ वर्ष भन्दा बढी बसेकाले यसपटक भाषा परीक्षामा सामेल नहुने व्यवस्था मिलाएको छ । भण्डारीले यस्तो व्यवस्था पहिलो पटक गरिएको बताए । ‘कोरियाले जस्तो कामदार चाहन्छ, हामीले त्यस्तै व्यवस्था गर्ने हो,’ उनले भने, ‘पाँच वर्ष भन्दा बढी कोरिया बसेकालाई किन दरखास्त नदिने व्यवस्था मिलाइएको भन्नेबारे केही खुलाइएको छैन ।’

प्रतिक्रिया दिनुहोस्