Light Nepal

कपिलवस्तुमा मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल ! नेपालकै दोस्रो धनी जिल्ला रुपन्देहीमा ९९ पुरातात्विकस्थल !

कृष्णराज गौतम,कपिलवस्तु, ११ फागुन – पुरातत्व विभागको पछिल्लो उत्खननले मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल कपिलवस्तुमा रहेको देखाएको छ ।

पुरातात्विक हिसाबले मुलुकमा भएका जिल्लामध्ये सो जिल्लामा सबैभन्दा बढी पुरातात्विकस्थल यहाँ पाइएपछि यो स्थान सांस्कृतिक हिसाबले धनी मानिएको छ ।

मुलुकको नयाँ संरचनाअनुसार प्रदेश नं ५ मा पर्ने यस क्षेत्रका विभिन्न भागमा अहिलेसम्म गरिएका उत्खननका क्रममा यति धेरै स्थल पहिलोपटक भेटिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो धनी जिल्ला रुपन्देहीमा ९९ पुरातात्विकस्थल छन् । नवलपरासीमा करिब ४० पुरातात्विकस्थल रहेको जनाइएको छ ।

स्थानीय तिलौराकोट, अरौँराकोट, कुदान, निगलिहवा, सगरहवा, गोटिहवा, दोहनी, प्राचीन स्तुप, सिसहनियालगायत स्थल यहाँका ऐतिहासिक महत्वका पुरातात्विकस्थलको रुपमा लिइएको छ ।

प्राचीन नगरी तिलौराकोटमा तत्कालीन राजा शुद्धोदनको राजाप्रासाद रहेको स्थानलाई अहिले ३४ बिगाहा जमिनभित्र संरक्षण गरिएको छ । त्यस वरपर क्षेत्रका स्थानीयको जमिन पनि विभागले खरिद गरी थप खोज अनुसन्धान गर्ने योजना छ । सिद्धार्थ गौतमले २९ वर्षसम्म राजकीय जीवन बिताएर ज्ञानको खोजीमा निस्केको स्थल दरबारको भग्नावशेषका रुपमा छ ।

एकसय वर्ष नाघेका स्मारकलाई प्राचीन स्मारक तथा त्यति नै वर्ष नाघेका वस्तुलाई पुरातात्विक वस्तुका रुपमा लिने गरिएको पुरातत्व अधिकृत सुभद्रा भट्टराईले बताउनुभयो ।

विगतमा करिब दुई दशक लामो समयसम्म देशमा जनप्रतिनिधिविहीन अवस्था हुँदा यस क्षेत्रका पुरातात्विक सम्पदा तथा स्थललाई सही तरिकाबाट संरक्षण तथा व्यवस्थापन हुन सकेको थिएन ।

यो क्षेत्रलाई नेपालको ठूलो पर्यटकीयस्थलका रुपमा विकास गरी स्थानीय जनजीवनलाई लाभान्वित गर्न सकिने पुरातत्वविद् कोशप्रसाद आचार्य बताउनुहुन्छ । देशको अर्थतन्त्रमा योगदान पुग्न सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

यहाँ माटोका भाँडाका टुक्रा, मूर्ति, चाँदीका सिक्का, फलामजन्य धातुका पदार्थको परीक्षणपछि ईशापूर्व ८०० मा सभ्य मानव संस्कृतिको बसोबास भएको तथ्य प्रकाशमा ल्याइएको छ भने यहाँ मौर्यकालका सम्पदासमेत पाइएको छ ।

तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसारका विभिन्न प्रमाणको खोजीसमेत भइरहेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले बताउनुभयो ।

विभागसँगको समन्वयमा विभिन्न देशका पुरातत्वविद्बाट तिलौराकोट तथा त्यस वरपर क्षेत्रका स्थलको विभिन्न समयमा सर्भे तथा उत्खनन हुँदै आएको छ ।

जर्मन विद्वान् फुहररले सन् १८९५ मा र कर्णेल वाडेलले सन् १८९८ मा तिलौराकोटको पुरातात्विक सर्भेक्षण पहिलो पटक गरेको इतिहास पाइन्छ । त्यसपछि भारतका पिसी मुखर्जीले दरबार क्षेत्रको धार्मिक स्मारकको नक्सांकन तथा वस्तुकलाको सरसफाइ गरेका थिए ।

यो जिल्लाको क्षेत्रफल ६७१ वर्ग किलोमिटर छ भने राष्ट्रिय जनगणना २०६८ अनुसार दुई लाख ८५ हजार ५९९ पुरुष, दुई लाख ८६ हजार ३३७ महिला गरी कूल पाँच लाख ७१ हजार ९३६ जनसंख्या छ ।

इशापूर्व तेस्रो शताब्दीमा अशोकले उल्लेख गरेका प्रमाण, पाँचाँै शताब्दीमा चिनियाँयात्री फाहियान र सातौँ शताब्दीमा ह्वेनसाङले यस क्षेत्रमा गरेका यात्रा तथा यात्राका आधारमा तयार भएका प्रतिवेदनले पनि त्यहाँको खोज र अनुसन्धानलाई सहज बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्