Light Nepal

डा. केसीको स्पष्टिकरण, ‘त्रिविका भ्रष्ट कर्मचारीसंग मिलेर प्रधानन्यायधीसले म विरुद्ध षडयन्त्र गरे’ (भिडियो सहित)

काठमाडौं, ९ फागुन । प्रधान न्यायधीस गोपालप्रसाद पराजुलीको नागरीकताका विषयमा प्रश्न चिन्ह उठाउंदै आएका डा गोबिन्द केसीकै नागरिकताको विषयमा प्रश्न उठेपछि उनले स्पष्टिकरण दिएका छन् ।

बुधवार डा केसीको फरक फरक जन्ममिति भएको तीन गरी कागजात सामाजिक संजालमा पोष्ट गर्दै टिकाटिप्पणी भएपछि गोविन्द केसीले पत्रकार सम्मेलन गरी स्पष्टिकरण दिएका छन् । केही संचार माध्यममा समेत सो सम्बन्धि समाचार आएपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै डा केसीले त्यसको कारण खुलाएका छन् ।

उनले पत्रकार सम्मेलनमा आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेका छन् । जसमा एसएलसीको चारित्रिक प्रमाणपत्रमा फरक जन्ममिति उल्लेख छ भने अन्य प्रमाणपत्रहरुमा फरक जन्ममिति उल्लेख भएको उनले बताए । अन्य सबै शैक्षिक प्रमाणपत्रहरुमा २०१३ साल असोज २७ गते उल्लेख छ भने चारित्रिक प्रमाणपत्रमा २०१३ माघ २४ गते उल्लेख छ ।

उनले सो त्रुटिलाई मानविय भनेका छन् । उनले अब त्यस्तो त्रुटि सच्चयाउने बताएका छन् । उनले आफुलाई परिक्षाको फाराम भर्ने क्रममा नागरिकताको प्रमाणपत्र नबुझाएको र सिटरोल नभरेको भन्दै लगाएको आरोप निराधार भएको बताएका छन् । ‘बरु ति कागजात त्रिविका भ्रष्ट पदाधिकारीहरुले गायब गरिदिएर अनावश्यक विवाद सिर्जना गर्न खोजेको देखिन्छ, उनले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस वक्तब्यमा भनेका छन्, यस विषयमा थप स्पष्ट पार्न आवश्यक भए छानविन स्वीकार गर्दै त्यसका लागि सहयोग गर्न तयार छु ।’

उनले आफुले प्रधानन्यायधीशका विषयमा उठाएका विषयहरुको ध्यान मोड्न आफु माथि षडयन्त्र भएको बताएका छन् । उनले त्रिविमा आफुले बुझाएका कागजपत्र प्रधानन्यायधीश पराजुलीकै मिलेमतोमा गायब पारीएको आरोप लगाएका छन् ।

‘प्रधानन्यायधीश गोपाल पराजुलीको मिलेमतोमा त्रिविमा बुझाएका कागजपत्र नै गायब गरेर नबुझाएको भनेर अफवाह फैलाउने काम भएको हाम्रो ठम्याई छ, विज्ञप्तीमा उल्लेख छ, त्यसो गरेर त्रिविका पदाधिकारीहरुको बर्खास्ती र प्रधानन्यायधीश पराजुलीको राजीनामा वा पहाभियोगका लागि सशक्त रुपमा उठेका मागहरुबाट ध्यान मोड्ने प्रयास स्वरुप यो विवाद सिर्जना गरिएको प्रष्टै छ ।’ उनले हाफुले गरे जस्तै प्रधानन्यायधीशलाई पनि आफ्ना प्रमाणपत्र सार्वजनिक गर्न चुनौती दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्