Light Nepal

त्यो सिरेटोमा उनी बाहीरै बसेर खाना खाएपछि,,,,,,,,,,,,,

ताप्लेजुङ्ग ८ फाल्गुन । ताप्लेजुङ्गको खेबाङ्ग, साथीको बिहे खान म त्यस ठाउँमा गएकी थिएँ । समय रातीको १० पार भई सकेको थियो । महिना माघ, त्यसमाथि पनि रातको समय । चिसो सिरेटोको त कुरै नगरौं । त्यस्तो चिसो बतासमा मेरो भारि बोकेर मलाई ४ घण्टाको उकालोमा सघाएकी एकजना बहीनी घरको पिंढीमा बाहीरै बसिन् ।

बिरानो ठाउँमा म भने चिनजान भए जस्तै गरि सरासर आगो बालि राखिएको भान्सा भित्र पसें । भान्सामा बालि राखिएको आगो ताप्न पनि भ्याँए । तर ती बहीनी भने मेरो लुगाफाटा र केही गिफ्टले भरिएको झोला थचक्कै आफ्नो पिठ्ठयुँबाट झारेर बाहीर नै घरको पिंढीमा बिसाईन् ।

कहिले अघि कहिले पछि गर्दै मसंगै उकालो चढेर घर पुगेकी उनी किन भित्र आईनन् भनेर भान्साबाट बाहीर के हेरेकी थिएँ, उनी त कुकरुक्क परेर खुट्टामा खुट्टा खपाएर दुई हातलाई ज्याकेटको खल्टि भित्र हाली घरको पिंढीमै बाहीरै बसिरहेकी । उनलाई त्यस्तो अवस्थामा देख्दा मलाई माया भन्दा दया बेसी लाग्यो ।

उनी बाहीरै बसेको देखेपछि भित्रै आउन भनेर बोलाएँ, तर उनी आईनन् । अचम्म लाग्यो । अर्काको घर मैले कर पनि गर्न मिलेन त्यसैले गरिन पनि । बारम्बार मैल उनलाई भित्र आउन भनि बोलाउँदा पनि उनी बाहीर बसि रहंदा मैले कुरा बुझिसकेकि थिएँ । त्यो समयमा मैले बुझेर पनि नबुझे झैं गरि उनलाई बोलाउनु नै मेरो बुद्धिमत्ता र मानवता उचित लाग्यो र दुई तीन पटक जति बोलाई नै रहें ।

भित्र आईदेउन भन्ने पटक पटकको मेरो आग्रहलाई अस्विकार गरि उनी बाहिरै बसीन् । म भने भान्सामा बालि राखिएको आगो ताप्न तिर लागें । भान्सामा कोही पनि थिएनन् । म गएको त्यो घरको आँगन तीन वटा घरले घेरेर बनेको थियो । त्यति ठुलो घरमा कोही मान्छे नभए जस्तो गरि भान्सामा अर्कै मान्छे पस्दापनि कसैलाई वास्ता छैन । त्यो कुराले पनि मलाई अचम्ममा पार्‍यो ।

रातीको समय । ४ घण्टाको उकालो बाटो काटेर घर पुग्दा त भोकको कुरै नगरौं । भान्सामा बसेकै केही समय बित्दापनि कोही नआएपछि जन्ति टोलीलाई पकाई राखिएको खाना मैले आफैले झिकेर खान शुरु गरें । मैले ती नानीलाई खाना खान्छौ भनि सोधें । जवाफमा उनले टाउको हाल्लाउँदै खान्छु भन्ने संकेत गरेपछि मैले भित्र आउन त फेरी बोलाउँदा उनले त्यही शब्द दोहोर्‍याईन्,“म यहीं ठीक छु । आउँदिन ।” मलाई भने उनको जवाफले सकस बनाई रह्यो ।

केही गर्दापनि उनी भान्सा भित्र आउँदिनन् भन्ने बुझेपछि मैले उनलाई र मलाई गरि दुईवटा थालमा खाना पस्किएँ । कुनै पनि हालतमा पहिला पेटको पुजा गर्नुपर्छ भन्ने भनाई आत्मासाथ गर्दै मैले त्यो रात घरको मान्छेको अनुपस्थितिमा नै उनको र आफ्नो गरि दुवैकालागि खाना पस्किएँ । उनको खाना उनलाई बाहीरै पर्‍याएपछि मैले पनि आफ्नो भागको खाना खान शुरु गरें ।

भोककोलागि भोजन र जिब्रोकोलागि स्वाद जति हुनु पर्ने थियो खानामा त्यो प्रसस्त मात्रामा थियो । तर मनकोलागि भने न भोजन न भोजनको स्वाद नै । सबै खल्लो । मान्छेले बनाएको यो कस्तो नियम जाहाँ मान्छे नै मान्छेको घर भित्र पस्न हुँदैन ।

मान्छे मान्छेमा सानो र ठुलो जातको भावनाले छुवाछुई हुन्छ भने सानो र ठुलो जातका मानिस हिंड्ने जमिन पनि त्यही आकारमा बन्नु पर्ने हो । सानो र ठुलो जातले खाने खाना र पानीको रङ्गपनि फरक नै हुनु पर्ने हो ।

सबै भन्दा ठुलो कुरा त यदि सानो र ठुलो जातमा साँच्चै जातिगत विभेद गरि रहने हो भने ठुला जाति भनाउँदाहरुसंग सानो जाति बनाईएकाहरुको मानवीय स्वरुप नै फरक हुनु पर्ने हो । ठुला र साना जातिको आकारमा भिन्नता हुनु पर्ने हो ।

हैन भने प्रकृतिले बनाएको नियममा सबै मानिसको स्वरुप एउटै, खानापानीको रङ्ग एउटै, रतगको रङ्ग रातै भईरहंदा मानिसहरुले नै अलग गराउँदछन् भने अलग गराउनेहरुप्रतिको जवाफदेहिता हुने भन्ने कुरा यो लोकतन्त्रमा निकै नै सोचनिय विषय वस्तुको रुपमा मान्नु पर्छ ।

मेरो धेरै प्रयासपछि र अनुरोधपछि पनि उनी भित्र नआई बाहिरै बसेर खाना खाएपछि भने मलाई साह«ै नै सकस महसुस भयो । अन्ततः जस्को बिहेमा म गएकी थिएँ उनै दुलहीलाई तपाँई जत्तिको पढेलेखेकि र सबै बुझेकी मान्छेले पनि आफ्नो घरको पिंढीमा आफ्नै काम गरिदिएकालाई खान दिने ? यो त भएन नी भनेकी मात्र के थिएँ, उनले जवाफ फर्काई हालीन्,“हैन आमा, बुवा र घरका अन्य सदस्य कोही नहुँदा त मैले भित्र नै पसालेकी हुन्छ । तर सबै भएको बेला चाही मलाई नै अप्ठ्यारो हुन्छ ।”

ती दुलहीले दिएको जवाफमा उनलाई कति अप्ठ्यारो भयो त्यो म जान्दिन तर मलाई भने उनको जवाफ सुनेपछि सहजताको महसुस भने हुन सकेन । जन्ति टोलीले बोकेको सामान बोकेर त्यो ४ घण्टाको उकालोमा सघाउन केवल ती नानी मात्र गएकी थिईनन् । छिमेकी र सहयोगी भावनाको नाताले अन्य दलित युवाहरु पनि गएका थिए ।

सबै जन्ति र जन्तिको भारि बोकेर सघाउन गएका गाउँका युवाहरु घरको आँगनमा आई पुगेपछि कोही पल्लो घरमा सामान राख्न गए भने कोही भान्सामा खाना खान सरासर भित्र पसे । तर म भने बाहीर कोको उभिन्छन् भन्ने तिरै हेरिरहें । उकालोको केही बिसौनीहरुमा परिचय गर्दै आएका केही दलित युवाहरु ती उभिए जस्तै बाहीरै उभिएको देखें मैले ।

मनमा साह्रै नै मज्जाको अनुभुति भयो । त्यो बाहेक अरु केही हुन सक्ने अवस्था थिएन मबाट । किनकी म आफैं नै पाहुना थिएँ त्यो घरमा । जस्तो घरको शासन त्यसैलाई पालना गर्नु पर्ने बाध्यता थियो मेरोलागि । म त एकदिनको पाहुना थिएँ र मान्नै पर्ने बाध्यता थियो । तर खेबाङ्गका दलितहरुकालागि त्यो बाध्यता थिएन । सामाजिक नियमले बनाएको संस्कारलाई पालना गर्नै पर्ने रित थियो ।

जे भएनी खाना त दिनै पर्ने थियो । घरकी भाउजुले बाहीर बसेकालाई एउटै थालमा दाल भात र मासुको तरकारी राखेर लगिदिनु भयो । भान्साको ढोकाबाट बाहीर जानुकी आउनु गरेर उनले बाहीर त कोही पनि छैनन् त । घर गएछन् कि क्या हो भन्दै तुरुन्तै फर्किन् । मलाई लाग्यो सायद आफुहरुलाई अछुत बनाएको अनुभुति उनीहरुले मज्जैले गरेका रहेछन् ।

भोलि पल्ट यसो गाउँ घुम्ने मौका पाएँ । सोही क्रममा हिजो राति सघाई लाग्न गएकाहरु दलित युवाहरुको घर कता भन्दै मैले सोधेपछि रातिसंगै गएका एकजना लिम्बु दाईले बाटो देखाई दिए । उनले देखाएको बाटोतिर सरासर गएर मैले ती मध्यका एकजना भाईसंग कुरा गर्दा मेरो आशंका सही नै रहेछ ।

शुरुमा त मसंग कुरा गर्न अलि अप्ठ्यारो माने ती युवकले । तर कुरा गर्दै जाँदा भने विस्तारै उनले आफुहरुलाई गाउँमा ठुला जातिले दलितको नाममा गर्ने सबैखाले विभेदले निकै नै खल्लो बनाउने कुरा साह्रै नमिठो पारामा सुनाए । उनी ४ वर्ष विदेश बसेर भर्खरै गाउँ फर्किएका दलित युवा हुन् ।

उनी जस्तै त्यस गाउँमा धेरै दलित युवाहरु छन् जो देश विदेशको भम्रण गरिसकेका छन् । साथै शिक्षामा पनि उत्तिकै पहँुच भएका छन् त्याहाँ दलित जातिहरु । पढेलेखेका, सभ्य घर घरानाका र संसार बुझेका त्यस गाउँका दलितहरु जातिय विभेदको शिकार भने भई रहेको देख्दा यो पंतिकारको मन चिथोरियो ।

पढाईमा पि.एज.डी नै गरेपनि वा भनौं जस्तो सुकै विषयमा अब्बल दिमागको भएपनि शरबाट गाउँ जानेहरु र गाउँकै दलितहरु पनि ठुला जातिको पिंढीमा बाहीरै बस्नु पर्ने त्यस गाउँको नियमले मेरो मनलाई साँच्चि नै दुखायो । विकसीत पुर्वको मानसकिता बोकेर घुम्न गएकी म मानसिकतामा भने निकै नै धेरै पछाडी परेको पाएँ पुर्वलाई र पुर्वेलीलाई ।

प्रतिक्रिया दिनुहोस्