Light Nepal

मध्यरातमा भयो एमाले र माओबादीको पार्टी एकात ! बालुवाटारमा भयो सातबुँदे सहमति (सहमति पत्र सहित)

काठमाडौँ – नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् । । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलको एकता संयोजक समितिको बैठकले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र माक्र्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ । सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित संयोजन समितिका सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

बैठकबाट बाहिरिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले दुईजना अध्यक्ष रहने गरी एकताको सहमति भएको बताए । ‘नयाँ पार्टीमा दुईजना अध्यक्ष रहने गरी हामीले सहमति जुटाएका छौँ’, उले बैठकपछि पत्रकारहरुसँग भने,’बैठककको अध्यक्षता पनि ओलीजी र मैले पालै पालो गर्नेछौँ ।’ दल दर्ताका लागि भोलि नै निर्वाचन आयोगमा जाने नेताहरुले बताएका छन् ।

ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु

१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।

२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।

३) ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।

४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।

६. महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने छ । र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ ।

७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।

प्रतिक्रिया दिनुहोस्