Light Nepal

शंकर पोखरेलको राजनितीक यात्रा, शान्ति पदयात्राको नेतृत्व देखि प्रदेश ५ को मुख्यमन्त्री सम्म

बुटवल, फागुन २ । प्रदेश नं. ५ नेकपा एमाले संसदिय दलका नेता शंकर पोखरेलले पांच नं. प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने ऐतिहासिक अवसर प्रँप्त गरेका छन् । कलिलै उम्मेरमा दाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पोखरेलले प्रादेशिक संरचनाको पहिलो अभ्यासमै प्रदेशको बागडोर सम्हालेका छन् ।

नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नाम हो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई पार्टिभित्र र बाहिर समेत उदाहरणीय मानिन्छ । विक्रम सम्वत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मिएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटि सदस्य र स्कुलविभाग उपप्रमुख रहेका छन् । २०३६ सालको विद्यार्थी आन्दोलन होस् वा २०४५÷४६ को पञ्चायत बिरुद्धको आन्दोलन तथा २०६२÷६३ को जनआन्दोलनमा पनि पोखरेलले विभिन्न मोर्चाबाट आन्दोलनको नेतृत्व गरेका थिए ।

माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्तीअञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए ।

माओवादीलाई शान्ति प्रकृयामा ल्याउनको लागि गरिएका विभिन्न प्रकारका छलफलका साक्षी पोखरेल माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव थिए । अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको संस्थापक अध्यक्षको जिम्मेवारी बहन गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

जनकपुरमा भएको एमालेको सातौ महाधिवेशनमा पोखरेलले अब संविधानसभा बाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव अघि सारेका थिए । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्वन्धमा उनले प्रस्तुत गरेको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्विकार गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीएतहको अध्ययन पुरा गरेका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये पर्दछन् । आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचहरुलाई पार्टिको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्र्यिदशाको रुपमा आत्मसात गरेको छ ।

राज्यको पुनर्संरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव रहेर राज्य पुनर्संरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेलेका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरु मध्ये एक हुन् । पोखरेलले विगतमा पार्टी सचिव तथा एमाले नेता माधव कुमार नेपालको प्रधानमन्त्रीकालमा सूचना तथा संचार मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

पटकपटक जेल र दर्जनौ पटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गरेका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सिमित नेताहरु मध्ये पर्दछन् ।

पार्टि भित्र अध्यक्ष केपी शर्मा ओली निकट मानिने पोखरेल जनताको बहुदलीय जनवादका व्याख्याता र कुशल वक्ताको रुपमा चिनिन्छन् । प्रतिनिधिसभाको उम्मेदवार बन्ने योजनामा रहेका पाखरेल वाम गठबन्धनमा कृष्णबहादुर महराले दाङ २ को टिकट लिएपछि प्रदेशमा झरेका हुन् । पार्टिभित्र र गठबन्धनभित्र उनलाई त्यसैबेला मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।

पोखरेलका कैयौ राजनीतिक र साहित्यिक पुस्तक, लेख रचनाहरु प्रकाशित छन् । राजनीतिक परिवर्तनका आन्दोलनमा सक्रिय रहंदा पटकपटक जेलमा परेका पोखरेललाई संघीय सरकार संचालन र पांच नम्वर प्रदेशलाइ सम्वृद्ध बनाउने जिम्मेवारी प्राप्त भएको छ । बामगठबन्धनको स्पष्ट दुईतिहाई बहुमतका साथ मुख्यमन्त्री बनेका पोखरेलले अन्य राजनीतिक दलहरुसंगको सहकार्य र विकासमा आफ्नो भूमिकालाई प्रदेश संरचनामा कसरी अघि बढाउंछन् त्यो भने हेर्न बांकी छ ।

प्रतिक्रिया दिनुहोस्