Light Nepal

भ्यालेन्टाइन कथा : ‘उफ !प्रेम’

त्यसदिन अध्याँरो भइनसकेको भए तिमिले मसँग लिफ्ट शायदै माग्थ्यौ होला । शायद सन् २००९ को फ्रेवुवरी ९ को कुरा हुनुपर्छ, रातको आठ बजेर १५ मिनेटको समयमा तिमिले सडकको लगभग बीचमै उभिएर अनुनयको भावमा हात ठड्याइएकी थियौं । एउटा सुन्दर युवतीले गरेको अनुनयलाई कुल्चने दुष्प्रयास नगरिकनै मैले तिम्रो अगाडि मेरो मोटरबाइक रोकेको थिए । एकदमै आत्तिएको भावमा तिमिले सोधेकी थियौं ‘ तपाई कहाँसम्म पुग्ने हो ?’, मैले म किर्तिपुरसम्म भन्ने जवाफ दिए । त्यसक्षण तिम्रो अनुहारको बादल हटेर क्षणभरमै चन्द्रमा उदाएको थियो । किनकी तिम्रो गन्तब्यसम्मकै यात्रामा थिए म । ‘ मलाई किर्तिपुरसम्म लिफ्ट दिन सक्नुहुन्छ, हेर्नुस न १ घण्टा भन्दा अघिदेखि बस कुरिरहेको बस नै आएन । रातको ८ः३० पनि हुन लाग्यो । अब त बस पनि आउँदैन होला’ तिमिले औपचारिकता निभायौं, मैले कुरा नबुझेको होइन । किनकी मैले अघि नै तिम्रो अगाडि मोटरसाइकल रोकेर तिमीलाई लिफ्ट दिइसकेको थिए । तर, अहिले पनि दाबाका साथ के भन्न सक्छु भने मैले एउटी युवतीको लागि मात्र किमार्थ मोटरसाइकल रोकेको थिइन । तर, तिमिले त्यसक्षण के सोच्यौं, जसलाई मैले कहिल्यै जान्न चाहिन ।

फेब्रुवरी १०, २००९ बिहानको ६ः१५ मेरो कानैनेरको मोबाइलमा म्यासेज टोन आयो । मन नलागे पनि जर्बजस्ती आँखा खोलेर म्यासेज पढे । रोमनमा लेखिएको सन्देशमा ‘तपाई निकै सहयोगी र सरल हुनुहुन्छ । तपाईलाई धन्यबाद’ लेखिएको सन्देश थियो । एउटा अपरिचित नम्बरबाट आएको म्यासेजले धेरैबेर मेरो मन खलबलाइरहयो । सधैं ९ बजेसम्म सुत्ने म त्यसदिन भने ७ बजेसम्म पनि निदाउन सकिन । जसको कारण त्यो म्यासेज थियो वा अरु केही, मैले अहिलेसम्म पनि पत्ता लगाउन सकेको छैन । किनकी म त्यो सन्देशप्रति त्यति उत्साहित थिइन, एउटा अपरिचित नम्बरबाट आएको एउटा म्यासेज प्रति त्यति धेरै उत्साहित हुनुपर्ने कुनै कारणपनि त थिएन । तर, मैले औपचारिकताका लागि भएपनि धन्यबाद लेखरे म्यासेज रिप्लाइ गरे ।

आज फेब्रुवरी १४, म धेरैबेर ओछ्यानमै पल्टिरहे । हरेक बिहानहरु म सुतेरै बिताउँछु । मेरो यो नियम प्रकृतिका बिरुद्धमै होस, मलाई बिहानी निद्रा नशाजस्तै भइसकेको छ । मेरा परिवार, आफन्त र साथीभाई मेरो यो बानीलाई मेरो प्रगतिको बाधक ठान्छन र गाली गरिरहन्छन र पनि म सुत्नकै मजा लिइरहन्छु । पाएसम्म ओछयानमै ढल्केर पत्रिका वा पुस्तक पढने पनि बानी नै भइसक्यो अहिले त । बिहानको ९ बजिसकेछ, मैले घडी हेरे । नजिकैको कोठामा पुगेर दैनिक पत्रिका लिएर आए । ओहो आज त भ्यालेन्टाइन डे (प्रेम दिवस) पो रहेछ । हुन त हिजोको पत्रिकाका सबै पृष्ठहरु भ्यालेन्टाइन पार्टीका बिज्ञापन र सामग्रीले भरिएका थिए । तर, आजसम्म मलाई त्यसको कुनै याद नै रहेन । मलाई भ्यालेन्टाइनको याद हुनुपर्ने कारण पनि थिएन, म भ्यालेन्टाइनका लागि उपयुक्त पात्र पनि होइन । न म कसैसँग प्रेम गर्छु , न मसँग कोही । हुन त हिजोआज भ्यालेन्टाइनमा परिवार र साथीहरुलाई पनि शुभकामना आदान—प्रदानको चलन बढेको छ । तर, म त्यहाँसम्म अलि पुगेको छैन ।

किन–किन हिजोआज मलाई आफु निकै नै प्रौढ हुँ कि जस्तो लाग्छ । हुन पनि हो उमेरले ३ दशक काटिसकेपछि कहाँ तन्नेरी जोश उस्तै रहन्छ र । भित्तेघडीले ९ बजेको संकेत गर्न लाग्दै गर्दा म जर्बजस्ती बेडबाट उठे, अझ भनौ उठाइए । जीवनको गति कायम राख्न हातमुख जोडनु छ र हातमुख जोडनका लागि जागिर गर्नुछ । त्यसैले होला मेरा धेरै दैनिकीहरु जागिरले नै निर्धारण गर्छ । यतिबेला उठ, यतिबेला सुत, यतिबेला खाना, यतिबेला खाजा, यतिबेला घर, यतिबेला यसो यतिबेला उसो । म कहाँ जागिर सँग चल्न सक्छु र जगिर मलाई चलाइरहन्छ । आज पनि जागिरकै लागि उठे, जागिरकै लागि तयार भए र जागिरकै लागि घरबाट निस्किए ।

शहर भ्यालेन्टाइनको मुडमा छ आज, छिमेकिकी छोरी आमासँग ‘मामु आज मलाई ३ हजार त जसरी पनि दिनुपर्छ है, उहाँ साथीहरु भ्यालेन्टाइन पार्टीमा जाने भनिरहेका छन’ भन्दै आमाको अघिपछि गरिरहेकी छ । घरबाट निस्किदा सुने मैले । बाटोमा मोटरसाइकलमा सर्प बेरिएझै युवतीहरु युवकको जीउमा टासिएर भ्यालेन्टाइन सेलिब्रेसनमा छन । घर नजिकैको कस्मेटिक सपमा भ्यालेन्टाइन गिफ्ट र कार्ड किन्नेहरु पनि बाक्लै छन । तर, मलाई भने समयमै कार्यालय पुग्नु छ । सकेसम्म धेरै काम लगाएर थोरै तलब दिन खोज्ने हाकिमसँग मिटिङ गर्नुछ । उ सँग भ्यालेन्टाइन डे को के कुरा गर्नु ।

किर्तिपुर बसपार्कको अगाडि आइपुग्दा मेरो मोटरसाइकल एक्कासि रोकियो । उही केटी जसले मलाई ५ दिनअघि लिफ्ट मागेर हात ठड्याएकी थिइ । अहिले म उसका लागि आफैंले मोटरसाइकल रोकेरे लिफ्ट दिएको थिए । केही असमञ्जस्यका साथ उ मेरो बाइकको पछाडि बसी । म आफ्नै गतिमा मोटरसाइकल चलाइरहे । उ आफ्नै लयमा काठमाडौको दृश्यपान गरिरहि । मैले उसलाई चाहेर पनि सोधिन ‘तपाई कहाँ जाने हो ?,’ उसले भने मलाई चाहेर सोधिन वा नचाहेर सोधिन, मैले जान्न चाहेर पनि उ सँग सोध्न सकिन । किर्तिपुरबाट कुलेश्वरसम्म निशब्द उ कुलेश्वरबाट बोल्न थाली, टेकु आउँदा खुल्न थाली र त्रिपुरेश्वर आउँदा घुल्न थाली । अचम्मको हुन्छ केटीको जात पनि एकैछिनमा पुरै ब्रम्हाण्डै आफ्नो बनाउँछन र एकैछिनमा पुरै ब्रम्हाण्डै अर्काको बनाइदिन्छन ।

उ कमलादीको कुनै बिकास बैङ्ककी क्यासियर हो । घर पोखराको कुनै गाउँ, बिबिए अन्तिम सेमेष्टरको परीक्षा सकेर पूmर्सदमा छे बिहान आजकल । किर्तिपुर बस्छे गाउँकै एकजना दिदिसँग । उसले मलाई यति परिचय गराई, मैले उसलाई मेरो परिचय गराए । त्रिपुरेश्वरसम्म आइपुग्दा उ मेरो झन नजिक भई, परिचयले मात्र हैन शरीरले पनि । अहिले उ मेरो ढाडमै टाँसिएकी छे , शायद डरले होला, शायद रहरले होला या शायद प्रेमले होला । म कसरी सोधूँ उसलाई । उ कमलादी जाने, म थापाथली । किन किन मैले उसलाई थापाथलीमै झर भन्न सकिन । उ त हजुर यताबाटै जानुस म टेम्पोमा जान्छु भन्दै थिइ । तर, मैले बाइक सुन्धारातर्फ मोडे । जमल हुँदै कमलादीमा उसलाई छाडेर म थापाथली कार्यालयतर्फ मोडिए । उसले मेरो फोन नम्बर मागी, मैले मेरो भिजिटिङ कार्ड उसको हातमा थमाए । उसले न नम्बर दिइ न कार्ड । ‘म हजुरलाई पछि कल गर्छु नि, ओके’, उसले यति भनि ।

सधै भन्दा केही ढिलो कार्यालय पुगे । हाकिमले अलिकति अध्याँरो अनुहार लगाए । तर, म भने कुन्नि किन हो आज अर्कै भएको थिए । कताकता मनका अन्तर—कुन्तरमा खुशीका किरणहरु सञ्चार भएजस्तो । मन निकै तन्नेरी भएको थिए । बेकारमा अफिस आएजस्तो महसुस भएको थियो । एउटी सुन्दर युवती, भ्यालेन्टाइन डे को दिन, सँगैको मोटरसाइकल यात्रा । त्यो सब छाडेर म किन कार्यालय आए । कुनै एउटा रोमान्टिक गित गाउँदै नगरकोट तिर हानिन पाएको भए पनि कम गजब हुँदैन्थ्यो । तर, मैले उसलाई त्यो अचानकको दोश्रो भेटमा दुबैजना आज अफिस बंक गरौं भन्न सकिन । दिनको २ बजे उसले मलाई म्यासेज गरी ‘म तपाईलाई बस स्टयाण्डमा साँझ ६ बजे भेटछु, मलाई लिफट दिनुहोला’ । नम्बर भने उही फ्रेवुवरी १० को म्यासेज आएकै नम्बर थियो । मैले बुझे उसले मेरो नम्बर त मैले पहिलो दिन लिफ्ट दिएको साँझ नै लिइसकेकी रहिछ । म साँझ ६ बजे नै बस स्टयाण्डमा थिए । उ ६ः२० मा आई, मेरो बाइकको पछाडि बिनाअनुमति नै बसी र म बिनाअनुमति नै बाइक हुँक्याएर गन्तब्यतर्फ लागे । बाटोमा उसले मलाई धेरै कुरा सोधी र मैले उत्तर दिइरहे, र्यापिड फायर झै गरी । बाइकमै उसले मलाई आई लभ यू भनि र मसँग टाँसिइ । म भने निशब्द बने । शायद यही स्वीकारोक्ति थियो मेरो । मैले कहिल्यै नस्वीकारेको पर्व भ्यालेन्टाइन डे, यही दिन आज म कसैको प्रेममा परे । हामी प्रेममा पर्यौ, एक—अर्काको ।

आखिर यो प्रेम झाँगिदै गयो, हाँगा लहराहरु फैलिदैं गए । काठमाडौका अनेकोै स्टेशनहरु, नगरकोट, धुलिखेल, पोखरा, ककनीका रिसोर्टहरुमा हामीले यो प्रेमलाई मलजल गर्यौं, गोडमेल गर्यौं । आज हाम्रो प्रेमको अर्धवार्षिकी , कति घुम्नु, कति लुटनु जिन्दगीको मजा, कति हराउनु एक अर्कामा, कति सधै बाइकको अघिल्लो सिटमा उसको ड्राइभर भइरहनु मैले । मैले उसलाई भेटेर बिहेको प्रस्ताव गरे । उसले मलाई सोचेर एक हप्ता पछि जवाफ फर्काइ । एउटा निकै छोटो इमेलमा , ‘ बिहे त म डाक्टर वा इन्जियरसँग पो गर्छु , कहाँ पत्रकारसँग बिहे गर्नु, सरी’ । मैले उसको इमेल कहिल्यै रिप्लाइ गरिन । मेरो साथी सोधिरहन्छ ‘उसको नाम त भन के हो ?’ मेरो उत्तर सधैं एउटै हुन्छ ‘ त्यसको नाम नसोध यार मलाई ।’

प्रतिक्रिया दिनुहोस्