Light Nepal

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रियामा ‘ब्रेक थ्रु’अब एक साताभित्र ओली प्रधानमन्त्री

काठमाडौं, १ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रियामा ‘ब्रेक थ्रु’ भएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठकमा महत्वपूर्ण सहमति भएपछि पार्टी एकतासँगै नयाँ सरकार गठनको समेत मार्ग प्रशस्त भएको छ । एमाले उपाध्यक्ष भीम रावलका भनाइमा अबको एक हप्ताभित्र एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् ।

सोमबारको शीर्ष बैठकले आगामी सरकारको नेतृत्व ओलीले गर्ने र त्यसमा माओवादीका तर्फबाट समर्थन जनाउने सहमति गरेको छ । बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्डले आफ्नो दलका सबै सांसदहरुको हस्ताक्षर संकलनको थालनी गरेका छन् । प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने गरी हस्ताक्षर संकलन गर्न थालिएको एमाले स्रोतले जनाएको छ । दृस्टी न्युजमा खबर छ ।

यसअघि एमाले र माओवादीबीच पार्टी एकता र सत्ता सहकार्यका विषयमा अनेकन टीकाटिप्पणी र आशंकाहरु गरिँदै आएको थियो । माओवादी अध्यक्ष प्रचण्डलाई नेपाली कांग्रेस, राजपालगायतका दल र स्वदेशी—विदेशी शक्तिकेन्द्रहरुले ५ वर्ष ढुक्कले प्रधानमन्त्री बन्न प्रलोभनसमेत दिएका थिए ।

 

यहीबीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा सुष्मा स्वराजको नेपाल भ्रमण र गोप्य राजनीतिक मन्त्रणाहरुले झनै आशंका बढाएको थियो । सोमबार सम्पन्न दुई शीर्ष नेताको बैठकले यी सबै आशंकालाई समाप्त पारेको छ ।

नेपालको संविधानअनुसार अब निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम मत परिणाम औपचारिक रुपमा राष्ट्रपतिलाई बुझाउनेबित्तिकै राष्ट्रपतिले बुहमतप्राप्त नेताका रुपमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नेछन् । यसैगरी दुई दलबीचको एकता प्रक्रियामा पनि टुंगो लागेको छ । मंगलबार नै यसबारे औपचारिक घोषणा गरिनेछ । शीर्ष तहमा भएको सैद्धान्तिक सहमतिलाई औपचारिक रुप दिन एकता संयोजन समितिको बैठक सोमबार अबेरसम्म जारी थियो । उक्त बैठकले वैचारिक, सैद्धान्तिक, सांगठनिक पक्षहरु केकसरी मिलाउने भन्नेबारे विस्तृत प्रक्रियाको टुंगो लगाउने कार्यभार प्राप्त गरेको छ ।

साथै, शक्ति साझेदारीको विषयमा पनि मोटामोटी सहमति भएको र त्यसले मूर्त रुप दिन संयोजन समितिको बैठकबाट टुंगो लगाइने बुझिएको छ । सरकार सञ्चालन गर्न पार्टीभित्रै सानो टिम बनाउने र सम्भावित समस्याहरुको समाधान पनि त्यही टिमले गर्ने सहमति भएको स्रोतले जनाएको छ । दुई दलबीच आलोपालो रुपमा सरकार र पार्टी चलाउने मोडालिटीले छलफलमा प्रवेश पाएको छ । एकतापछि दुवै पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति पनि बनेको छ ।

दुई शीर्ष नेताबीचको यो सहमतिले आगामी पाँच वर्ष बाम सरकार रहने निश्चित भएको छ । निर्वाचनताका सार्वजनिक साझा घोषणापत्रको कार्यान्वयन हुने आधार तय भएको छ । स्थिर सरकार र आर्थिक समृद्धिको नारा दिएको बाम गठबन्धनले चुनावमा विजय हासिल गरेपछि प्रदेश तहमा पनि ६ वटा बाम गठबन्धनका सरकार बनेका छन् । ती सबै प्रदेशमा सहजैसँग गठबन्धनले सरकार निर्माण गरेका छन् र शक्तिको बाँडफाँट सम्पन्न भएको छ । विभिन्न प्रदेशमा मन्त्रिपरिषद गठन हुने क्रम जारी छ । धेरैजसोमा सम्पन्न भइसकेका छन् ।

संघीय र प्रदेश दुवै तहमा बाम गठबन्धनका सरकार भएपछि घोषणापत्र कार्यान्वयनमा सहजता आउने विश्वास गरिएको छ । तर, सुशासनको एजेन्डामा दुवै दल कति प्रतिबद्ध हुन्छन् भन्ने कुराचाहिँ परीक्षाकै विषय छ । दुवै दल र नेतृत्वको वरिपरि जम्मा भएको स्वार्थ समूहको प्रभाव सरकारका नीति तथा कार्यक्रममा भएमा सुशासनको एजेन्डा पूरा हुन पाउने छैन ।
गत मंसिरमा सम्पन्न निर्वाचनको मतपरिणाम ढिलो सार्वजनिक हुँदा र निर्वाचन आयोगले नियतवश ढिलाइ गर्दा आमनागरिकमा आक्रोश र निराशा पैदा भएको थियो । जे होस्, बाम सरकार र पार्टी एकताले मूर्त रुप पाउने अवस्था बनेपछि गएको निर्वाचनमा व्यक्त मत परिणामको सम्मान गरेको ठहरिनेछ ।

प्रतिक्रिया दिनुहोस्