Light Nepal

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ : केन्यामाथि नेपालको रोमाञ्चक जित, सन्दिपसँगै रोहित र आरिफ चम्किए

काठमाडौँ – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तरगतको सोमबारको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी केन्यालाई पराजित गरेको छ ।

१७८ रनको चुनौती पछ्याएको नेपालले ४९.५ ओभरमा ७ विकेट गुमाउँदै केन्याले दिएको लक्ष्य भेटाएको हो । नेपाललाई जिताउने क्रममा सोमपाल कामीले अन्तिम बलमा रन बटुले ।

१७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गर्दै धमाधम आफ्ना महत्वपूर्ण विकेट गुमाएको थियो। तर अन्तिममा विस्तारै रन लिएका नेपाली खेलाडीहरूले रोमाञ्चक जित दर्ता गर्दा गराएरै छोडे। यो सँगै नेपाल विश्वकप छनोट खेल्न लगभग छनोट भएको छ। अब अन्तिम खेलमा क्यानडालाई जितेमा नेपालले समूह विजेता हुँदै विश्वकप छनोट खेल्न पाउनेछ।

नेपालका लागि सरद भेषवाकर पनि १९ रनको व्यक्तिगत स्कोरमा आउट भए। ५७ बल खेलेका उनले १ चौका प्रहार गरे। यसअघि कप्तान पारस खड्काले नेपालका लागि केही आशा गर्ने ठाउँ बनाएका थिए। तर १८औं ओभरको पहिलो बलमा खड्का आउट भएका हुन्।

४४ बल खेले खड्काले ४२ रन मात्र बनाउन सके। २ छक्का र ३ चौका प्रहार गरेका उनी ५० रन पुरा गर्न ८ रनले चुकेका थिए।

राष्ट्रिय टिममा डेब्यु गरेका अनिल शाह खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले ८ रनमा पहिलो विकेट गुमाएको थियो।

त्यसपछि १४ रन बनाउँदा नेपालले थप दुई विकेट खेर फाल्यो। ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा दिपेन्द्रसिंह ऐरी एक रनमा पेभेलियन फर्किएका थिए।
नेपालका १७ वर्षीय स्पिनर सन्दीपले पाँच विकेट लिने क्रममा उत्कृष्ट ब्याटिङ गरिरहेका ओबान्डालाई १६.६ ओभरमा पहिलो विकेटका रुपमा पेभेलियनको बाटो देखाए । ४६ बलमा ४१ रन बनाएको अवस्थामा सन्दीपले ओबान्डालाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

त्यसैगरी सन्दीपले खेल १८.४ ओभरमा पुगेको अवस्थामा डिएम गोन्डारियालाई पनि पेभेलियनको बाटो देखाए । उनले ५ बलमा ४ रन बनाएको अवस्थामा गोन्डारियालाई आउट गर्न सफल भए ।

सन्दीपले ३३.१ र २ ओभरमा केन्याका लगातार दुई विकेट झार्न सफल भएका छन् । उनले ३३ ओभरमा पहिलो बलिङ गर्दै पाँचौ क्रममा आएका केन्याका कप्तान आरआर पटेललाई कप्तान पारस खड्कामार्फत क्याच आउट गराउन सफल भए ।

त्यसैगरी दोस्रो बलमा पनि उनले छैटौँ क्रममा क्रिजमा आएका आरएन पटेललाई एलबीडब्लु धरापमा पार्दै शून्य रनमा पेभेलियन फर्काइदिए ।

केन्याले पुरै ५ ओभर खेलेको अवस्थामा नेपालका लागि अन्तिम अर्थात् आठौँ विकेटका रुपमा सन्दीपले नै एनएन ओढियाम्बोलाई पेभेलियनको बाटो देखाइदिए । नेपालका लागि अन्य एक-एक विकेट वसन्त रेग्मी, शरद भेशवाकर र सोमपाल कामीको नाममा रह्यो ।

प्रतिक्रिया दिनुहोस्