Light Nepal

पत्याउनुहुन्छ ? उम्मेदवारको खर्च दुई सय रुपैया मात्र

नेपालगञ्ज, २९ माघ । बाँकेमा प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका मध्ये केही उम्मेदवारले अत्याधिक न्यून रकम खर्च गरेको विवरण बुझाएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीका अनुसार प्रदेशसभाका उम्मेदवारको सम्पूर्ण खर्च दुईसय रुपिया मात्रै छ ।

नेपाल मजदुर किसान पार्टीका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा २ बाट प्रदेशसभाका उम्मेदवार समिरकुमार गुरुङले निर्वाचन अवधीभर दुईसय रुपिया खर्च भएको भन्दै क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च बिवरण प्रस्तुत गरेका छन् ।

कानुन अनुसार प्रदेशसभाका उम्मेदवारले १५ लाख रुपिया खर्च गर्न पाउने ब्यवस्था भएपनि गुरुङले भने भाडाबापत दुईसय रुपिया मात्रै खर्च भएको बिवरण क्षेत्रीय निर्वाचन कार्यालयमा बुझाएका छन् । गुरुङले रिक्सा भाडा बापत निर्वाचन अवधीभर दुईसय रुपिया खर्च भएको बताए । नेमकिपाका उम्मेदवारको धरौटी रकम र प्रचार सामाग्री समेत केन्द्रबाट प्राप्त भएको थियो ।

निर्वाचनमा अत्याधिक खर्च भएको गुनासो भएपनि साना पार्टीका उम्मेदवारको खर्च भने अत्याधिक न्यून देखिएको छ । देशभक्त गणतान्त्रिक मोर्चाका तर्फ प्रदेशसभा २९२०का उम्मेदवार दिनेश श्रीवास्तवले निर्वाचनमा दुई हजार रुपिया खर्च भएको बिवरण क्षेत्रीय निर्वाचन कार्यालयमा बुझाएका छन् ।

प्रचार अभियानमा समेत ननिस्केका श्रीवास्तवले भने,–पैशा खर्च गरेर चुनाव जित्ने भन्ने होइन, हामीले उपस्थितीका लागि उम्मेदवारी दिएका
हौं । यसैगरी नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रदेशसभा ३९१० का उम्मेदवार भक्तबहादुर बुढाको निर्वाचन खर्च दुईहजार २२७ रुपिया रहेको छ । यसैगरी राजपाका उम्मेदवार सोनु गुरुङको निर्वाचन खर्च तीन हजार रुपिया रहेको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार प्रमुख राजनीतिक दलका उम्मेदवारहरुको खर्च भने अत्याधिक छ । बाँके क्षेत्र नम्बर ३ बाट विजयी नेकपा एमालेका उम्मेदवार नन्दलाल रोकायको निर्वाचन खर्च २२ लाख ७५ हजार ४०५ रुपिया खर्च भएको बिवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।। यसैगरी नेपाली काङ्ग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्रीको खर्च विवरण २२ लाख ५१ हजार ४५० रुपिया रहेको छ । कानुन अनुसार प्रतिनिधीसभा उम्मेदवारले २५ लाख रुपियासम्म खर्च गर्न पाउने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्