प्रहरी निरीक्षक(इन्सपेक्टर)को नतिजामा गोलमाल, न्याय माग्दै प्रतिस्पर्धीहरु पुगे सर्बोच्चमा

लाइट नेपाल

काठमाडौं, २६ माघ । प्रहरी प्रधान कार्यालयले २२ माघमा सार्वजनिक गरेको प्रहरी निरीक्षक पदको नतिजामा चलखेल भएको भन्दै सर्बोच्च अदालतमा रिट दायर भएको छ । गत कात्तिकमा सम्पन्न प्रहरी निरिक्षकको नतिजा प्रकाशनमा ऐन नियम कानूनकै बर्खिलाप हुने गरि प्रधान कार्यालयले नतिजा प्रकाशन गरेको भन्दै प्रहरी प्रधान कार्यालय, लोकसेवा आयोग, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग, भर्ना तथा छनौट शाखा नक्साललाई विपषी बनाउँदै शुक्रबार सर्बोच्चमा रिट दायर भएको हो । दायर रिटमा नेपालको संविधान धारा ४६, १३३ (२) (३) बमोजिम उत्प्रेषणयुक्त परमादेश लगायत उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरिपाउँ उल्लेख छ । यससँगै प्रहरी प्रधान कार्यालयले २२ माघमा सार्वजनिक गरेको प्रहरी निरीक्षक पदको नतिजा अब के हुने हो भन्ने प्रश्न पनि उठेको छ । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले भने सर्वोच्चमा रिट दायर भएकाबारे अहिलेसम्म आफुलाई जानकारी नआएको बताए । ‘नतिजा प्रकाशन लोकसेवा अयोगले गर्ने हो र यसमा हामीलाई कुनै जानकारी छैन’ नेउपानले भने ।

के हो विवाद ?
प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको नतिजाको शैलीले नै यसपटक नेपाल प्रहरीलाई विवादमा तानेको हो । विभिन्न विषयमा विवादमा परिरहने प्रहरी यसपटक भने हाँस्यास्पद ढंगले नतिजा सार्वजनिक गरेर आफैं हाँसोको पात्र बनेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको नतिजामा शारीरिक तन्दूरुस्ती र लिखित परीक्षाको नतिजा एकैपटक सार्वजनिक गरिएको विषयलाई लिएर असन्तुष्टहरुले आन्दोलन गरिरहेको बेलामा प्रहरी प्रधान कार्यालयद्वारा सार्वजनिक गरिएको सूचनामा नै त्रुटी देखिएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको नतिजामा एउटा छाप बाहेक आधिकारिकता दिने कुनैपनि आधार देखिएको छैन ।

यसअघि लोकसेवा आयोगको लेटरहेड सहित आधिकारिक ३ जना व्यक्तिहरुको हस्ताक्षर सहितको नतिजा निकाल्ने प्रधान कार्यालयले यस पटक किन यो सबै प्रक्रिया पूरा गर्न सकेन ? लोकसेवा आयोगबाट आएको २ सय ३५ जनाको नाम पनि अल्फाबेटको आधारमा पठाईएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । सो नामावलीलाई मेरिटको आधारमा क्रमानुगत रुपमा राखी अन्तर्वार्ताको क्रममा मात्रै शारीरिक तन्दूरुस्तीको नम्बरलाई जोडिने गरेको भएपनि यस पटक भने लिखित परीक्षामा नै यस्तो नम्बर जोडिएको छ । यसले पनि प्रहरीको यो नतिजाको निष्पक्षतामाथि प्रश्न उठाईदिएको छ ।

तर, अहिले प्रहरीले सार्वजनिक गरेको नामावलीमा लोकसेवा आयोगले पठाएको नामावली विपरित आफ्नै सूचनामा १ सय २ जनाको नाम लेखेर सूचना प्रकाशित गरिएको छ । यसमा कुनै आधिकारिक व्यक्तिहरुको हस्ताक्षर पनि छैन । यसले पनि यसमा प्रधान कार्यालयको चलखेल रहेको देखिन्छ । यसबाहेक शारीरिक तन्दूरुस्तीको अंकसमेत जोडेर लिखित परीक्षाको नतिजा निकाल्नु, प्रहरी नियमावली विपरित हुनेगरि कार्यविधिमा टेकेर नतिजा प्रकाशन गर्नुजस्ता विषयले पनि यसमा प्रहरी प्रधानकार्यालयको कमजोरी झल्किएको छ ।

लोकसेवा नियमावली र प्रहरी नियमावलीकै उल्लंघन
यो नतिजामा उल्लेखित व्यहोरा लोकसेवा नियमावली र प्रहरी नियमावली २०७१को व्यवस्थासँग समेत बाझिएको छ । लोकसेवा आयोगले लिने परीक्षामा नियमावली अनुसार लिखित परीक्षाको नतिजा प्रकाशित भएपछि सो नतिजामा उत्तीर्ण भएकाहरुले मात्रै प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउने भएपनि प्रहरीले जारी गरेको सूचनामा शारीरिक तन्दुरुस्ती र लिखित परीक्षा दुबैलाई आधार मानेर नतिजा प्रकाशित गरिएको उल्लेख गरिएको छ । लोकसेवा नियमावलीको परिच्छेद ७ ले अन्तर्वार्ता सम्बन्धी व्यवस्था शीर्षकमा यो व्यवस्थालाई उल्लेख गरेको हो । जसअन्तर्गत् नियमावलीको दफा २६ को उपदफा २ ले ‘लिखित परीक्षा र प्रयोगात्मक परीक्षा समेत हुने पदमा लिखित परीक्षाबाट छनौट हुने उम्मेदवारलाई मात्र प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामा समावेश गराईने छ’, भन्ने व्यवस्था गरेको छ

चलखेल माथिसम्मै
प्रहरी निरिक्षकको नतिजामा चलखेल माथिल्लो स्तरबाटै भएको जानकारहरु बताउउँछन् । प्रधानमन्त्रीले नै सम्हालेको गृह मन्त्रालयले यसमा मुख्य भूमिका खेलेको मानिए पनि अहिले अख्तियार र पूर्वआइजीपहिरुसमेतको नाम यसमा जोडिएको चर्चा चलेको छ । अख्तियारले नै आफैले डामेका पूर्व आइजीपीसँग साँठगाँठ गरेको कुरा भने नयाँ स्वरुपमा देखापरेको छ । प्रहरी हेडक्वार्टरबाटै, अख्तियार प्रमुख एवं प्रमुख आयुक्त दीप बस्न्यातले आफ्ना १६ जना मान्छेलाई घुसाएबापत पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालको मुद्दा तामेलीमा राखेको चर्चा बजारमा व्याप्त भएको छ ।
स्रोतका अनुसार अर्यालको मुद्दा चलिरहेको र कानुनी कारबाही अथवा जेल हुने अवस्था आएपछि सेटिङ भएको हो । प्रहरी भर्नाका क्रममा १६ जना व्यक्ति अख्तियार प्रमुख दीप बस्न्यातका घुसाएवापत उनको मुद्दा तामेलीमा राखिएको स्रोतको दाबी छ ।
‘लोकसेवा आयेगबाट रिजल्ट आउट हुनुपर्ने थियो । तर, लोक सेवाका कर्मचारी प्रहरी हेडक्वार्टरमै छाप बोकेर आए । लोक सेवाले लिखितमा २ सय ३५ जना नाम लिस्ट पठाएको थियो । एक सय २ जना निकालियो । लिखितमा पास भएका २ सय ३५ जना मध्ये केहीलाई निकालेर आफ्ना व्यक्ति हालियो ।’ स्रोतले दावीका साथ भन्यो प्रमाण नै छ ।
अनियमितता गरेको भन्ने आधार के भन्ने प्रश्नमा स्रोतले भन्यो ‘प्रहरीले वेबसाइटमा पनि राखेको थियो । शारीरिक तन्दुरुस्तीको अंक थपिएको भन्ने व्यहोरा दिइयो । तर, त्यो लिखितमा आएर थप्न पाइँदैन । आचारसंहिता विपरीत हुन्छ,’ स्रोतले उदाहरण दिँदै भन्यो, ‘मैले ८० नम्बर ल्याए । तर, म फिजिकलमा फेल भए भने फेल हुन्छु ।’ तर, यहाँ पास भएका व्यक्तिहरु फालिएका छन् । यो कुराको प्रहरी हेडक्वार्टरमा भएका सिभिलियनहरुले पनि विरोध गरेका छन् । स्रोतले थप भन्यो, ‘उनीहरुले पनि लोकसेवाको गल्ती भनेका छन् । लोकसेवाले पनि आफ्नो गल्ती भएको स्वीकारेको सुन्नमा आएको छ ।’

अब के हुन्छ ?
नतिजामा चलखेल भएको भन्दै प्रतिस्पर्धीहरु नै सर्बोच्चमा पुगेको अवस्थामा अब नतिजा नै रद्ध हुने खतरा बढेको छ । सर्बोच्चले सबै प्रक्रिया रोक्न आदेश दिएको अवस्थामा अब परीक्षामा उत्तीर्ण भएका भनिएकाहरुको स्वास्थ्य परीक्षण तथा अन्तवार्ताका कार्यक्रमहरु रोकिन पनि सक्नेछन । यस्तै समग्र परिक्षा नै रद्ध गरि नयाँ परीक्ष पनि हुन सक्ने अवस्था आउन सक्ने जानकारहरु बताउँछन् । यो मुद्दाले प्रहरी प्रधान कार्यालय, लोकसेवा आयोग र गृह मन्त्रालयसमेत तानिने खतरा पनि बढेको छ ।

यस्तो छ रिट

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com